Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालट्राफिक महाशाखाको चाडपर्वलक्षित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

ट्राफिक महाशाखाको चाडपर्वलक्षित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक


काठमाडौं । नजिकिँदै गरेको बडादशैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना सोमबारदेखि लागू गरेको जनाएको छ ।

चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्नसक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरेको महाशाखाले जनाएको छ । योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, चेकजाँचमा कडाइ र नागरिक सहायता कक्षा स्थापना गरी सेवा प्रवाह गर्ने योजना रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए । उनले बसपार्क, टिकट काउन्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको चेकजाँच एव अनुगमन गर्ने, पूर्ण पालना गर्न लगाउने र सचेतना समेत जगाउने बताए ।

योजनासहितको विशेष चेकिङ : दैनिक रूपमा ४३ ट्राफिक प्रहरी कार्यालयले दिनमा चार पटकसम्म तालिकाबमोजिमको चेकिङ गर्दै आएको छ भने नाकाहरूमा २४सै घण्टा चेकजाँच हुनेगरेको छ । चाडपर्वको समयमा हुने सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि चेकजाँचलाई समेत कडाइ पार्ने योजनामा उल्लेख छ ।

चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुनसक्ने कुरालाई मध्यनजर गर्दै रात्रिकालीन मात्र नभई दिनको समयमा समेत व्यापक रूपमा मापसे चेकजाँच गरी कडाइ गरिने एसएसपी भट्टराईले बताए । साथै तीव्र गति नियन्त्रणका लागि नाइट भिजन लेजर स्पिड गन समेत प्रयोग गरिने उनले बताए । थानकोट, नागढुंगा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखालगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारीसाधनहरूलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना रहेको छ ।

मुख्यतय लामो दूरीका सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राखे नराखेको, बढी भाडा लिए नलिएको, चालकले मापसे गरे नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको चेकजाँच गर्ने महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामोदूरीका सवारीसाधनमा २ जना चालक अनिवार्य रूपमा भए/नभएको ट्राफिक प्रहरीको एप्सबाट समेत चेकजाँच गर्ने उल्लेख छ ।

बढी भीडभाड हुने एरियामा थप ट्राफिक प्रहरी परिचालन
चाडपर्वको बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने एरियामा थप जनशक्ति परिचालन गर्ने महाशाखाको योजना रहेको छ । विशेषगरी बसपार्क एरिया, उपत्यका प्रवेश गर्ने नाकाहरू, सपिङ कम्प्लेक्स तथा व्यापारिक केन्द्रहरूमा किनमेलका लागि आउने मानिस तथा सवारीसाधनको बढी भीडभाड हुनेगर्छ, त्यस्ता स्थानहरूमा अतिरिक्त ट्राफिक प्रहरी जनशक्ति परिचालन गरी सहज आवागमनको व्यवस्था मिलाइने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले बताए ।

न्यूरोड एरिया, ठमेल, कालीमाटी, कलंकी, बल्खु, कोटेश्वर, गौशाला, चाबहिल, बौद्ध, बालाजु, बसपार्कलगायतका एरियामा बढी भीडभाड हुने कारण हुने विगतको अनुभवलाई मनन गर्दै त्यस्ता क्षेत्रमा थप जनशक्ति परिचालन गरी ट्राफिक व्यवस्थापन एव पार्किङ व्यवस्थापन मिलाइने र आवश्यक परेको खण्डमा न्यूरोड, खिच्चापोखरी, इन्द्रचोकलगायतका भित्री इलाकामा सवारीसाधन डाइभर्सन समेत गरिने प्रवक्ता दासले जानकारी दिए ।

१४ स्थानमा यात्रु सहायता कक्ष : उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरू सञ्चालन हुनेभएको छ । नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् । आम सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिविधि र सुरक्षासम्बन्धी सुसूचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगीलगायतका यात्रुहरूको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था समेत यात्रु सहायता कक्षले गर्ने महाशाखाले जनाएको छ । यात्रुले स्पष्ट देखिने गरी टिकट काउन्टरमा अनिवार्य भाडा दररेट टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्तिहरू तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरूको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय सहकार्य गरिने माहशाखाले उल्लेख गरेको छ ।

सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन : नियमित ट्राफिक व्यवस्थापनमा मात्र नभई चाडपर्वको समयमा हुनसक्ने सवारी चाप, यात्रुसँग बढी भाडा लिई हुने ठगी, यात्रुसँग हुने अमर्यादित व्यवहार, गन्तव्य नपुगी गाडीबाट ओरालदिने, स्वास्थ्य मापदण्ड पालना नगर्नेजस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी सजक र सक्रिय रहने एसएपी भट्टराईले बताए ।

अन्य समयको तुलनामा चाडपर्वको समयमा विशेषगरी गंगबु नयाँ बसपार्क क्षेत्र, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर, पुरानो बसपार्क, गौशाला, जडीबुटीलगायतका भीडभाड हुने स्थान र टिकट काउन्टरहरूमा हुनसक्ने भाडा ठगी नियन्त्रण गर्न, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी गर्न, त्यस्तै टिकट मूल्यअनुसार लिएको छ/छैन चेकजाँच गर्न र पकेटमार तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचालन गर्ने महाशाखाले जनाएको छ । तोकिएको भन्दा बढी भाडा असुली गर्ने, लामोदूरीका सवारीमा दुई जना चालक नराख्ने तथा मापसे गरेर सवारी चलाएको शंका लागे तत्काल नजिकैको प्रहरी वा १०३ नम्बरमा जानकारी गराउन महाशाखाले सर्वसाधारणसँग अनुरोध गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया