Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभारतले गहुँ, चिनीलगायत वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने

भारतले गहुँ, चिनीलगायत वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने


काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले गहुँ, चिनीलगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने स्पष्ट पारेका छन् । नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघद्वारा बुधबार उनको सम्मानमा आयोजना गरिएको कार्यक्रममा उनले प्रतिबन्ध नेपालको लागि नभएको बताए ।

यस्तै उनले भारत सरकार, भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गरे । नेपालको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार रहेको र भारतले दुवैै देशले ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहेको बताए । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुुहरूको निर्यातमा प्रतिवन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुनथालेको बताएका थिए । यस्तै गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्याबहरूको विस्तार, गैरभन्सार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उठाएका थिए ।

अध्यक्ष गोल्छाले नेपालको भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापारघाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको पनि बताए । त्यसका लागि नेपालमा भारतीय संयुक्त लगानी विस्तार, मुख्य नाकासम्म रेलमार्गको विस्तार, प्रयोगशालाको अभावमा कृषिजन्य उत्पादनहरूको निर्यातमा हुने गरेको ढिलाइलाई भारत सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाई थियो । गैरभन्सार अवरोधका कारण मुख्यतया कृषिजन्य उत्पादन र जडीबुटी निर्यातमा समस्या देखिएको उनले बताए ।

यस्तै लामो समयदेखि मीरगन्ज पुल बन्न नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष गोल्छाले निर्माणका लागि आग्रह समेत गरे । यसैगरी तेस्रो मुलुकसँगको व्यापारका लागि थप दुई बन्दरगाहको प्रयोग गर्ने सुविधाका लागि पनि पहल गर्न आग्रह गरे ।

कार्यक्रममा राजदूत श्रीवास्तवले सडक, रेल, हवाइ र साथै डिजिटल कनेक्टिभिटीमा देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन भारत सरकार तयार रहेको बताए । ल्याबटेष्टका सम्बन्धमा भारत सरकारले रक्सौलमा अन्तर्राष्ट्रियस्तको ल्याब स्थापना भएको र काठमाडौंमा रहेको ल्याबलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरी काम भइरहेको श्रीवास्तवले जानकारी दिए । अर्को ल्याबउपयुक्त स्थानमा बनाउन आफूले नेपालका वाणिज्य मन्त्रीसमक्ष अनुरोध गरेको पनि उनले जानकारी दिए । यसमा महासंघकातर्फबाट पनि नेपाल सरकारमा प्रयास हुनुपर्ने उनको सुझाव थियो ।

गैरभन्सार अवरोधका सम्बन्धमा महासंघले राखेका गुुनासाहरूतर्फ आफ्नो ध्यानाकर्षण भएको र त्यस प्रकारको अवरोध भएको आफूलाई थाहा नभएकाले त्यस्ता समस्या छन् भने आफूले समाधान गर्ने राजदूत श्रीवास्तवले प्रतिबद्धता समेत जनाएका थिए । यस्तै महासंघका अध्यक्ष गोल्छाले महासंघले नेपाल सरकार, भारत सरकार, लगानी बोर्ड नेपाल, भारतीय उद्योग परिसंघको सहकार्यमा काठमाडौंमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने कार्यलाई अगाडि बढाएकाले सहयोग गर्न अनुरोध गरेपश्चात् राजदूतले यस कार्यमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका थिए । महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघई, कार्यकारिणी समितिका सदस्यहरू, विभिन्न संघका अध्यक्षहरू, महासंघका महानिर्देशक समेतको उपस्थिति रहेको उक्त भेटवार्तामा उपाध्यक्ष दिनेश श्रेष्ठले आ–आफ्नो धारणा राखेका थिए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया