Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभोट माग्न किसानका खेतबारीमा उम्मेदवार

भोट माग्न किसानका खेतबारीमा उम्मेदवार


दोलखा। निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरूले आ–आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन् । निर्वाचन आयोगले दलहरूलाई मंसिर १ गतेसम्म मात्रै प्रसारप्रसार गर्ने समय दिएको छ ।

प्रचारप्रसारको लागि केही दिन मात्रै बाँकी रहेकाले पनि उम्मेदवारहरू मत माग्नको लागि मतदाताको घर तथा खेतबारीमा नै पुग्ने गरेका छन् । एकमात्र प्रतिनिधिसभा क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको दोलखामा संघ तथा प्रदेश गरी ५२ जना उम्मेदवार छन् । उनीहरू सबै यतिबेला चुनावकेन्द्रित कार्यक्रम तथा भेटघाटमा व्यस्त छन् । नेतालाई चुनावको हतारो चलिरहेको बेलामा किसानलाई पनि बाली थन्काउने चटारो छ । गाउँ–घरमा मतदाता भेट्न नसकेपछि उम्मेदवारहरू मत माग्न मतदाताका खेतबारीमै धाउन थालेका छन् ।

किसानहरू यतिबेला खेतमा पाकेको धान काट्न र कुट्न व्यस्त छन् भने उम्मेद्वार खेतबारीमै मत माग्न पुग्छन् । मतदाता किसान अन्न भित्र्याउन, उम्मेदवारहरू आमसभा, घरदैलो अभियान गर्न व्यस्त भएजस्तै निर्वाचन आयोग पनि मतदातालाई मतदानसम्बन्धी शिक्षा दिन व्यस्त छ । जिल्ला निर्वाचन कार्यालय दोलखा शतप्रतिशत सदर मत झार्नको लागी पालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गरिरहेको छ । कतिपय पालिकामा भने गाउँमै पुगेर मतदातालाई शिक्षा दिइरहेको छ । यस्तै निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालयले दोलखामा एक हजार पाँच सय ६६ जना कर्मचारी समेत खटाइसकेको छ ।

दोलखामा सत्तारूढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की र नेकपा एमालेका बालकृष्ण शिवाकोटीले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका छन् । यसैगरी प्रदेशसभातर्फ प्रदेशसभा ‘क’मा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र नेकपा एमालेका नरबहादुर श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । यस्तै प्रदेशसभा ‘ख’मा पनि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बर्मा लामा र नेकपा एमालेका भरतबहादुर केसीबीच मुख्य प्रतिस्पर्धा हुँदै छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया