Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारललिता निवास प्रकरणका ती बिचौलिया को हुन् ?

ललिता निवास प्रकरणका ती बिचौलिया को हुन् ?


काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा घोटालामा वकिलले किर्ते कागज बनाएका थिए र अहिले त्यही किर्तेमा मीनबहादुर गुरुङदेखि सञ्चारसचिव कृष्णबहादुर राउतसम्म पक्राउ परेका छन् ।पाँच जना पूर्वसचिवसहित ४० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ती नक्कली कागजपत्र बनाउने वकिल कुमार रेग्मी अहिले सर्वोच्च अदालतका न्यायाधीश छन् । मीनबहादुर गुरुङका फाइदाका लागि बनाइएका ती किर्ते कागजलाई सक्कली बनाएर मालपोत कार्यालय डिल्लीबजारबाट काम गराउनुपर्ने थियो । तिनै कागजलाई सक्कल मानेर काम गर्ने मालपोत कार्यालय डिल्लीबजारका हुपेन्द्रमणि केसीलगायतका कर्मचारी पनि पक्राउ परिसकेका छन् ।

वकिल रेग्मीले तयार पारेको नक्कली कागजात मीनबहादुर आफैँले बोकेर मालपोत कार्यालय पु¥याएका थिएनन् । मालपोत कार्यालय जानुअघि मालपोत कार्यालय डिल्लीबजारका तीन जना कर्मचारीलाई एक जना बिचौलियाले कार्यालयबाहिर नै चिनजान गराएका थिए र एक–आपसमा सहयोग गर्ने सहमति गराएका थिए । त्यसपछि मिनबहादुरको काम मालपोत कार्यालय डिल्लीबजारबाट फटाफट भएका थिए । अर्बौँ रुपैयाँ मूल्य पर्ने ललिता निवासको एक सय ४३ रोपनी जग्गा आफ्नो नाममा आउने भएपछि मिनबहादुर गुरुङले ती बिचौलियालाई बालुवाटारकै आसपासमा एक रोपनी जमिन किनेर बक्सिस दिएका थिए ।

२०७२ साल वैशाख १० गतेको अंकमा आर्थिक दैनिकले समरजंग कम्पनीको जमीन बेपत्ता भएको सप्रमाण समाचार छापेपछि अहिले यो प्रकरण पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईको पक्राउको समयको प्रतीक्षाको घडीमा आइपुगेको छ । तर, यो प्रकरणको किर्ते कागजातलाई सक्कली बनाउन मालपोतका कर्मचारीसँग मीनबहादुरको सम्बन्ध गराउने बिचौलियाचाहिँ अहिलेसम्म चर्चाको घेराबाट बाहिरै छन् । यो घटनाको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि अहिलेसम्म यो पाटोमा रहस्यमय रूपमा आँखा चिम्लिँदै आएको छ । प्रश्न अनुत्तरित रहँदै आएको छ, ती बिचौलिया को हुन् ?


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया