Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसवारी चोरी गर्ने ३६ जना कारबाहीमा

सवारी चोरी गर्ने ३६ जना कारबाहीमा


काठमाडौं । ट्राफिक प्रहरीले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न क्षेत्रबाट चोरिएको पाँच सय सवारी फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ । सवारी चोरीमा संलग्न रहेको ३६ जनालाई कारबाही गरेको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार मात्रै २१ वटा दुईपाङ्ग्रे सवारी खोजी गरी धनीलाई हस्तान्तरण गरेको छ । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले विभिन्न क्षेत्रबाट २१ वटा दुईपाङ्ग्रे सवारी खोजी गरी धनीलाई हस्तान्तरण गरिएको जानकारी दिए । उनका अनुसार १२ वटा मोटरसाइकल र नौवटा स्कुटर धनीलाई हस्तान्तरण गरिएको हो । यस्तै, अवैधरूपमा नेपाल भित्रिएका ९५ वटा सवारी भन्सार कार्यालयमा बुझाइएको र एउटा मोटरसाइकललाई थप अनुसन्धानका लागि यातायात व्यवस्था कार्यालय पठाइएको भट्टले बताए । चालू आवमै चोरीका दुई पाङ्ग्रे ३२ सवारीसहित चोरीमा संलग्न ३६ व्यक्तिलाई कारबाही लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

हराएका सवारी खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए पनि स्वयं सवारी धनी पनि विशेष चनाखो हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बन्नुपर्नेमा प्रहरीले जोड दिएको छ । प्रहरीले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न पनि अनुरोध गरेको छ । आफ्नो सवारीको ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरी सवारी चोरी तथा हराउनबाट रोक्न विभिन्न उपाय अवलम्बन गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

यस्तै, प्रहरीले मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न पनि अनुरोध गरेको छ । सवारी हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया