अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत मुद्रास्फीतिको दबाब कायमै
अर्थतन्त्रको बाह्य स्थिति बलियो बन्दै जाँदा मुद्रास्फीतिमा देखिएको दबाब भने कायमै छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको विवरणअनुसार बाह्य क्षेत्र बलियो देखिए पनि आन्तरिक सूचकहरु अझै कमजोर देखिएका छन् । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी विनिमय सञ्चितिमा पनि सुधार देखिएको छ । शोधनान्तर स्थिति र चालू खाता पनि बचतमा छन् । जसले अर्थतन्त्रको बाह्य पाटो मजबुत देखाउँछ । तर, उपभोक्ता मुद्रास्फीति अझै उच्च रहेकाले आन्तरिक अर्थतन्त्रमाथिको दबाब कायमै रहेको देखिन्छ । कोभिड–१९ र रुस–युक्रेन युद्धले विश्वव्यापीरुपमा देखिएको आर्थिक अनिश्चितताका बीच पनि बाह्य क्षेत्र मजबुत देखिएको हो ।
सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएपछि राष्ट्र बैंकले मूल्यवृद्धि साढे छ प्रतिशतभित्र सीमित राख्ने गरी मौद्रिक नीति तर्जुमा गरेको थियो । तर, आर्थिक वर्षको पहिलो महिनादेखि नै मुद्रास्फीतिमा दबाब देखिएको छ । राष्ट्र बैंकका अनुसार साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ । यद्यपि यो मुद्रास्फीति दर गत आर्थिक वर्षको साउन महिनाको तुलनामा कम हो । गत आर्थिक वर्षको साउनमा मुद्रास्फीति आठ दशमलव २६ प्रतिशत थियो । यस वर्ष साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति आठ दशमलव ९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति छ दशमलव ४२ प्रतिशत छ ।
काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति आठ दशमलव ५० प्रतिशत, तराईको छ दशमलव ७० प्रतिशत, पहाडको सात दशमलव ५० प्रतिशत र हिमालको ११ दशमलव ४६ प्रतिशत रहेको छ ।व्यापारघाटा र रेमिट्यान्स आप्रवाह झण्डै बराबर साउन महिनामा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स र वैदेशिक व्यापारमा व्यहोर्दै आएको व्यापारघाटा लगभग बराबर देखिएको छ । भन्सार विभागका अनुसार साउनमा नेपालको व्यापारघाटा एक खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ छ । मुलुकले व्यहोरेको व्यापारघाटाभन्दा बढी रेमिट्यान्स आप्रवाह छ ।
साउनमा रेमिट्यान्स आप्रवाह २५ दशमलव आठ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब दुई करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१ दशमलव पाँच प्रतिशतले बढेर ८७ करोड ९८ लाख पुगेको छ । कोभिड–१९ महामारीपछि वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेपछि रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको देखिन्छ । तर, साउनमा भने वैदेशिक रोजगारीमा जानेहरुको संख्या घटेको छ । साउनमा वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १२ दशमलव एक प्रतिशतले घटेर ३९ हजार एक सय ५२ कायम भएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १९ दशमलव पाँच प्रतिशतले घटेर १६ हजार चार सय २३ कायम भएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५ दशमलव चार प्रतिशतले बढेको थियो ।
चालू खाता र शोधनान्तर स्थिति
मुलुकको चालू खाता बचतमा देखिएको छ । साउनमा चालू खाता १२ अर्ब ९९ करोडले बचतमा देखिएको छ । गत आर्थिक वर्षको साउनमा चालू खाता १५ अर्ब १३ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ८८ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा नौ करोड ८५ लाखले बचतमा छ ।
साउनमा पुँजीगत ट्रान्सफर ६५ दशमलव नौ प्रतिशतले घटेर २७ करोड २६ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले धनात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८० करोड तीन लाख कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ४० करोड ऋणात्मक थियो ।
साउनमा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ५२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २४ करोड ९५ लाखले बचतमा छ ।
विदेशी विनिमय सञ्चिति
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुई दशमलव दुई प्रतिशतले वृद्धि भई साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा साउन मसान्तमा एक दशमलव दुई प्रतिशतले बढेर ११ अर्ब ८५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव नौ प्रतिशत छ ।
सञ्चित विदेशी विनिमयले १२ महिना १५ दिनको वस्तु आयात १० महिना नौ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९ दशमलव दुई प्रतिशत, ८५ दशमलव सात प्रतिशत र २६ दशमलव तीन प्रतिशत रहेका छन् ।
सेवा आय घाटामा
साउनमा खुद सेवा आय ११ अर्ब २७ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १० अर्ब ७१ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ६२ दशमलव छ प्रतिशतले वृद्धि भई चार अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय दुई अर्ब ७० करोड रुपैयाँ थियो । सेवा खाताअन्तर्गत भ्रमण व्यय ५४ प्रतिशतले बढेर १७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यसमध्ये वैदेशिक शिक्षाका लागि १० अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ । गतवर्ष साउनमा भ्रमण व्यय शीर्षकमा ११ अर्ब २१ करोड बाहिरिएको थियो भने वैदेशिक शिक्षाका लागि सात अर्ब १३ करोेड रुपैयाँ बाहिरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया