Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको संविधान विश्वकै उत्कृष्ट : राजदूत खत्री

नेपालको संविधान विश्वकै उत्कृष्ट : राजदूत खत्री


वाशिङ्टन डिसी (अमेरिका) । नेपालको संविधान विश्वकै उत्कृष्ट भएको अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले बताएका छन् । संविधानले नागरिकको न्यूनतम अधिकार सुरक्षित गर्दै प्रजातन्त्र, आवधिक निर्वाचन, समावेशी समानुपातिक सहभागितालाई आत्मसात गरेको भन्दै संविधान निकै राम्रो बनेको बताए ।

नेपालको राष्ट्रिय दिवसका अवसरमा बिहीबार वाशिङ्टन डिसीमा आयोजित समारोहमा राजदूत खत्रीले प्रजातान्त्रिक अभ्यासअनुरुप सङ्घीय, प्रादेशिक र स्थानीय तहको दुईपटक आवधिक निर्वाचन सम्पन्न गरिसकेको उल्लेख गरे । संविधानले पूर्णरूपमा प्रेस स्वतन्त्रता, नागरिक समाजको सहभागितालगायतका विषयमा अधिकार सुनिश्चित गरेको उनको भनाइ थियो ।

उनले राजनीतिमा महिलाको सहभागितालाई संविधानले सुनिश्चित गरेको बताए । प्रदेश र सङ्घीय संसद्मा महिलाको ३३ प्रतिशत संवैधानिकरूपमा सुनिश्चित गरिएको भन्दै उनले विश्वका निकै कम देशमा मात्रै यस्तो व्यवस्था भएको दाबी गरे ।

अमेरिकासँग पारस्परिकरूपमा मित्रवत् सम्बन्ध रहेको उल्लेख गर्दै उनले यस सहकार्यले नेपालको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

अमेरिकी सरकारले प्रदान गरेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन कार्यान्वयनको चरणमा प्रवेश गरेको भन्दै राजदूत खत्रीले अमेरिकी सहयोग नियोगलाई सहयोगका लागि धन्यवाद दिए ।

नेपालको संविधान दिवसका अवसरमा गत सातामात्रै अमेरिकी सरकारको तर्फबाट विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले विज्ञप्ति जारी गरेका थिए । विदेशस्थित नियोगहरूले मनाउँदै आएको नेपाल दिवस अमेरिकामा यसपटक असोज ११ गते बिहीबार मनाइएको हो । नेपालमा संविधान जारी भएको दिन असोज ३ मा संविधान दिवस मनाउने गरिएको छ ।

कार्यक्रममा अमेरिकाका सरकारी अधिकारीहरू, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, अमेरिकामा रहेका नेपाली, नेपालीमूलका अमेरिकाका डेलिगेट हयारी भण्डारी, नेपालका लागि पूर्वअमेरिकी राजदूत पिटर बोडे, भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय, विभिन्न देशका राजदूत, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया