Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसवारी दुर्घटनाले निम्त्याएको अवस्थाको अन्त्य गर्न सबैको भूमिका महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

सवारी दुर्घटनाले निम्त्याएको अवस्थाको अन्त्य गर्न सबैको भूमिका महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौँ । सवारी दुर्घटनाले निम्त्याएको कहालीलाग्दो अवस्थाको अन्त्य गर्न सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’को उद्घाटन गर्दै उनले सडक सुरक्षा ट्राफिक प्रहरीको मात्रै नभएर चालक र अन्य सबैको उत्तिकै जिम्मेवारीको पक्ष भएको बताए ।

दुर्घटनाबाट धेरै क्षति हुने भएकाले सडक गुणस्तरको समस्यालाई सबै मिली समाधान गर्नुपर्ने बताउँदै उनले सडक ट्राफिक लाइटको वैज्ञानिक प्रयोग गर्ने र ट्राफिक प्रहरीलाई थप ‘इन्सेन्टिभ’ दिनेबारे पनि छलफल चलिरहेको बताए । सडक दुर्घटनाबाट ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको उल्लेख गरे ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको मात्र नभएको जनाउँदै गृहमन्त्री श्रेष्ठले सडकको गुणस्तर, क्षमता, सवारी साधनको गुणस्तरीयता, सवारी चालक र आमनागरिकको चेतना तथा आचरण दुर्घटनाका कारण बन्दै आएको बताए । मन्त्री श्रेष्ठले पछिल्लो १० वर्षमा सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या भयावह देखिएको बताए ।

उपत्यकाको ट्राफिक व्यवस्थापनका सम्बन्धमा नेपाल प्रहरी र सरोकारवाला पक्षबीच सहकार्य अभिवृद्धि गरी आमनागरिकमा प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने प्रहरी महानिरीक्षक वसन्त कुँवरले बताए । बढ्दो सरहरीकण, जनघनत्वका आधारमा सवारी पूर्वाधारको अभाव, सवारी साधनको तीव्र वृद्धि, मानवीय, वातावरणीय र यान्त्रिकलगायत कारणले सडक दुर्घटना बढेको उहाँको भनाइ थियो ।

काठमाडौँमा सार्वजनिक यातायातको विकासबिना जनताले सुख नपाउने उल्लेख गर्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले सार्वजनिक यातायातमा सरकारले लगानी गर्नुपर्ने बताए । उनले काठमाडौं उपत्यकाको साँघुरा सडक, अव्यवस्थित पार्किङ, सवारीसाधनको अत्यधिक चापका बाबजुद पनि ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गरिरहेको बताए ।

राजधानीमा सुरक्षितरुपमा विरोध प्रदर्शन गर्ने स्थान नतोकिँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए । उनले दुर्घटना न्यूनीकरण तथा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए । अन्तर्राष्ट्रियस्तरका सडक पूर्वाधार निर्माणमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिँए ।

यातायात क्षेत्र सुधारका लागि काठमाडौँ महानगरपालिकाले रू ३४ करोड विनियोजन गरेको काठमाडौँ महानगरपालिकका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए । उनले सडक सुरक्षालाई प्रभावकारी बनाउन तथा दुर्घटना न्यूनीकरणका लागि प्रत्येक व्यक्तिले प्रण गर्नुपर्नेमा जोड दिए ।

सवारी दुर्घटना न्यूनीकरण गर्न चालक, प्रयोगकर्तालगायतमा सचेतनाको खाँचो रहेको यातायात व्यवस्थापन विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । सवारी व्यवस्थापन गर्न प्रदेश सरकार, स्थानीय तहसँग समन्वय गरेर विभागले काम गरिरहेको उनको भनाइ थियो ।

सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीको महत्वपूर्ण भूमिका रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । दुर्घटना कम गराउन सवारी चालक तथा मजदुरलाई ट्राफिक सचेतना र तालिमको व्यवस्था गर्नुपर्ने भन्दै सडक पूर्वाधार सुधारमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र ट्राफिक व्यवस्थापन कार्य सम्भव नहुने हुँदा सम्पूर्ण सरोकारवाला निकायको सहकार्य एवं जिम्मेवारीपूर्ण भूमिका निर्वाहले मात्रै सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्भव हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया