Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअफगानिस्तानमा विनाशकारी भूकम्प जाँदा सयौँको मृत्यु, त्यहाँ किन गइरहन्छ भुँइचालो?

अफगानिस्तानमा विनाशकारी भूकम्प जाँदा सयौँको मृत्यु, त्यहाँ किन गइरहन्छ भुँइचालो?


काठमाडौं,इरानको सीमानजिकै रहेको पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परेर सयौँ मानिसहरूको ज्यान गएको र व्यापक मात्रामा मानिसहरू घाइते भएको ठानिएको छ।

त्यहाँ शनिवार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो। भूकम्पले हेरात सहरबाट ४० किलोमिटर परका कैयौँ गाउँहरू ध्वस्त पारेको छ।

त्यो क्षेत्रमा धेरै भवनहरू क्षतिग्रस्त भएका छन् भने कैयौँ मानिसहरू भग्नावशेषमा फसेका छन्। त्यहाँ पहिलो भूकम्पपछि कम्तीमा तीन वटा शक्तिशाली परकम्पहरू पनि गएका थिए।

भूकम्पबाट बच्न सफल भएकाहरूले कार्यालय भवनहरू पहिले हल्लिएका र त्यसपछि ढलेका दृश्यहरूको वर्णन गरेका छन्।
शनिवार स्थानीय समय अनुसार करिब ११:३० बजे उक्त भूकम्प गएको थियो।

हेरातका बासिन्दा बशीर अहमदले एएफपी समाचार संस्थालाई भनेका छन्, “हामी आफ्नो कार्यालयमा थियौँ। एकाएक भवन हल्लिन थाल्यो। भित्ताको प्लास्टर खस्न थाल्यो र भवनको गाह्रो चर्कियो अनि पर्खाल र भवनको केही भाग भत्कियो।”

“मैले मेरो परिवारसँग सम्पर्क गर्न सकेको छैन … म धेरै चिन्तित छु। डराएको छु। त्यो कहालीलाग्दो थियो,” उनले भने।
मृतकबारे फरक विवरण
भूकम्पबाट मारिएकाहरूको सङ्ख्याबारे विवादास्पद विवरणहरू आएका छन्।

हेरात प्रान्तीय अस्पतालका निर्देशकले बीबीसीलाई कम्तीमा २५५ जनाको ज्यान गएको र करिब ५०० जना घाइते भएको बताएका छन्। अन्य विवरणहरूमा पीडितको सङ्ख्या अझै धेरै भएको देखाइएको छ।

शनिवार उक्त प्रान्तका प्रकोप व्यवस्थापन प्रमुख मोसा अशारीले पत्रकारहरूलाई भनेका थिए, “अहिलेसम्म १,००० भन्दा बढी घाइते भएका महिला, बालबालिका र वृद्ध नागरिकहरू रहेको हाम्रो विवरणमामा समावेश छ भने करिब १२० जनाको ज्यान गएको छ।”

हेरात सेन्ट्रल अस्पतालको एउटा भिडिओ फुटेज हेर्दा त्यसको मुख्य भवनबाहिरको दृश्यले त्यहाँ आपत्कालीन उपचारको अत्यधिक माग रहेको जस्तो देखिन्छ।

उद्धारमा बाधा
हेरातको इन्जिल जिल्लामा भएको विनाशका दृश्यहरू देखाउने खालका तस्बिरहरू पनि सार्वजनिक भएका छन्। त्यहाँ भग्नावशेषले सडक अवरुद्ध पारेको छ उद्धार कार्यमा बाधा पुगेको छ।

“परिस्थिति धेरै डरलाग्दो थियो। मैले यस्तो अनुभव कहिल्यै गरेको थिएन,” एक जना विद्यार्थी इद्रीस अर्सालाले एएफपीलाई भने।

भूकम्प सुरु भएपछि आफ्नो कक्षाकोठालाई सुरक्षित रूपमा खाली गर्ने उनी अन्तिम व्यक्ति थिए।

हेरात इरानी सीमाबाट १२० किलोमिटर पूर्वमा अवस्थित छ र यसलाई अफगानिस्तानको सांस्कृतिक राजधानी मानिन्छ। उक्त प्रान्तमा करिब १९ लाख मानिस बसोबास गर्ने अनुमान गरिएको छ।

गत वर्षको जुनमा पक्तिका प्रान्तमा ५.९म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसमा परेर एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने हजारौँ घरबारविहीन भएका थिए।

अफगानिस्तानमा किन गइरहन्छ भूकम्प?
भूमिमुनि पृथ्वीभित्र रहेका टेक्टोनिक प्लेटमा अकस्मात् हलचल हुँदा भूकम्प जान्छ। प्लेटहरू ठोक्किएपछि बनेका दरारलाई फल्टलाइन भनिन्छ।

अफगानिस्तान भूकम्पको एकदमै उच्च जोखिममा छ किनभने यो भारतीय र युरेशियाली प्लेटहरू भेट हुने कैयौँ दरारमाथि अवस्थित छ।

संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला संयोजन निकायका अनुसार विगत एक दशकमा अफगानिस्तानमा भूकम्पका कारण ७,००० जनाभन्दा बढीले ज्यान गुमाएका छन्।

औसतमा प्रत्येक वर्ष ५६० जनाको मृत्यु भएको छ।
जापान र दक्षिण अमेरिकाका अरू देशहरूमा अफगानिस्तानमा भन्दा बढी भूकम्पहरू जाने गर्छ।तर अफगानिस्तान विशेष रूपमा उच्च जोखिममा छ किनभने त्यहाँ घरहरू भूकम्पप्रतिरोधी छैनन्।

त्यहाँ काठ र माटोको इँटले वा कमजोर कङ्क्रिटले घर बनाइन्छ।

भूकम्पका कारण पहाडहरूमा जाने पहिरोले पनि ठूलो क्षतिहरू गराउँछ।

त्यसले पहाडमा अवस्थित गाउँहरूमा रहेका घरहरू बगाउनुका साथै नदीहरू अवरुद्ध पारेर भीषण बाढी पनि आउन सक्छ।कतिपय अवस्थामा भूकम्प गएको खबर अधिकारीहरूसमक्ष पुग्न कैयौँ दिन पनि लाग्न सक्छ।

पहिरोले सडक बन्द गराउन पनि सक्छ जसले उद्धारकर्ता र उद्धार सामग्री दुर्गम पहाडी भेगसम्म पुर्‍याउन समय लाग्छ।

वर्षा वा हिउँ, तुवाँलो र एकदमै चिसोजस्ता चरम मौसमी अवस्थाले उद्धारका प्रयासलाई बारम्बार प्रभावित तुल्याइरहन्छ।
(बीबीसी)


क्याटेगोरी : बिबिध, समाचार

तपाईको प्रतिक्रिया