Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.२ प्रतिशत

पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.२ प्रतिशत


काठमाडौं । राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर तीन दशमलव दुई प्रतिशत कायम भएको बताएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससँग तुलना गर्दै मुलुकको आर्थिक वृद्धिदर तीन दशमलव दुई प्रतिशत पुगेको बताएको हो ।

त्रैमासिक राष्ट्रिय लेखका अनुमानहरू हरेक त्रैमासिकको अवधि समाप्त भएको ९० दिनभित्र सार्वजनिक गर्ने अभ्यासअनुसार विभागले शुक्रबार तथ्यांक सार्वजनिक गरेको हो । निजी क्षेत्रले मुलुकमा आर्थिक मन्दी अझै कायम रहेको बताउँदै आएको अवस्थामा र लगानीयोग्य रकम राष्ट्र बैंकमा थुप्रिएको अवस्थामा पनि विभागले सो दरको आर्थिक वृद्धिदर हासिल गरेको उल्लेख गरेको छ । समीक्षा अवधिमा खानी ताथ उत्खनन औद्योगिक क्षेत्रको आर्थिक वृद्धिदर उच्च रहेको बताउँदै अर्थतन्त्रका सूचकहरू सार्वजनिक गरेको हो । विभागले गत आर्थिक वर्षको पहिलो त्रैमासमा पनि देशको आर्थिक वृद्धिदर तीन दशमलव दुई प्रतिशत थियो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक र अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकबीच क्षेत्रगत तुलना गर्दा सबैभन्दा बढी १५ दशमलव आठ प्रतिशतले खानी तथा उत्खननको कुल मूल्य अभिवृद्धिमा वृद्धि हुने अनुमान गरिएको छ । निर्माण क्षेत्रसँग प्रत्यक्ष आधारित हुने बालुवा, गिटी तथा ढुंगाको उत्खननको कुल मूल्य अभिवृद्धि तुलनात्मकरूपमा थोरै भएकोले निर्माण क्षेत्रको ११ दशमलव चार प्रतिशतको वृद्धिले यस क्षेत्रको उत्पादनामा बढी प्रभाव पारेको देखिन्छ । दोस्रोमा वित्तीय तथा बीमा क्षेत्रको कुल मूल्य अभिवृद्धिमा १३ दशमलव दुई प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पर्यटनको आगमनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा सकारात्मक असर परेको छ । त्यसैगरी यस अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी योगदान रहेको कृषि वन तथा मत्स्य क्षेत्रको वृद्धिदर एक दशमलव चार प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

धानको उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको छ । अर्कोतर्फ थोक तथा खुद्रा व्यापार क्षेत्रको कुल मूल्य अभिवृद्धिमा मात्र अघिल्लो वर्षको पहिलो त्रैमासिक अवधिको भन्दा चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक दशमलव दुई प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान छ । समग्र आयातमा सामान्य वृद्धि भए पनि व्यापारजन्य वस्तुहरूमा आएको कमीको कारणले यस क्षेत्रको वृद्धिदरमा कमी आएको देखिन्छ ।

मौसमी प्रभाव समायोजित त्रैमासिक कुल मूल्य अभिवृद्धिलाई हेर्दा गत आर्थिक वर्षको चौथो त्रैमासिकको अवधिभन्दा चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको अवधिमा कुल १८ वटा आर्थिक क्रियाकलपाहरूमध्ये १२ वटा क्षेत्रको कुल मूल्य अभिवृद्धिमा वृद्धि र छवटा क्षेत्रका उत्पादनमा कमी रहने प्रारम्भिक अनुमान छ । यस अवधिमा पानी आपूर्ति क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सबैभन्दा धेरै सात दशमलव तीन प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यसैगरी सोही अवधिमा वित्तीय तथा बीमा क्षेत्र, सार्वजनिक प्रशासन तथा रक्षा, सूचना तथा सञ्चार क्षेत्रमा सुधार आएर क्रमशः छ दशमलव सात प्रतिशत, पाँच दशमलव पाँच प्रतिशत र तीन दशमलव आठ प्रतिशतले बढोत्तरी हुने अनुमान छ । अर्कोतर्फ सोही अवधिमा विद्युत्को उत्पादनमा कमी भएकोले विद्युत् तथा ग्यासको क्षेत्रको कुल मूल्यवृद्धिमा सबैभन्दा २१ दशमलव नौ प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यसपछि यसै अवधिमा थोक तथा खुद्रा व्यापार, निर्माण, खानी तथा उत्खनन र उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धिमा क्रमशः आठ प्रतिशत, सात दशमलव आठ प्रतिशत, पाँच प्रतिशत र तीन दशमलव आठ प्रतिशतले अघिल्लो त्रैमासिकको तुलनामा कमी हुने अनुमान छ ।

मौसमी आधारमा मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक दशमलव चार प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान गरिएको छ । चलायमान अर्थतन्त्रको विविध पक्षहरूसँग सम्बन्धित समष्टिगत आर्थिक परिसूचकहरू जस्तैः उत्पादन लगानी, उपभोग बचत आदि आवधिकरूपमा परिवर्तन भइरहन्छन् । यसरी अर्थतन्त्रको विभिन्न आर्थिक क्रियाकलापहरूमा भएको परिवर्तनलाई समावेश गरी अन्तर्राष्ट्रिय मापदण्ड तथा सिद्धान्तबमोजिम विभागले राष्ट्रिय तथ्यांकका अनुमानहरू त्रैमासिकरूपमा सार्वजनिक गर्ने गर्दछ । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधार भएको तथ्यांक सार्वजनिक गरेको समयमा अर्थात् एउटै सातामा विभागले पनि अर्थतन्त्रका सूचक तथा आर्थिक वृद्धिदर सकारात्मक रहेको सार्वजनिक गरेको हो ।

विश्व बैंकले विश्व अर्थतन्त्रबारे जारी गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार चालू आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि तीन दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरेको हो । यस्तै आगामी आर्थिक वर्ष पाँच प्रतिशत आर्थिक वृद्धि हुने उल्लेख गरेको छ ।

गतवर्ष आयातमा गरेको प्रतिबन्ध र मौद्रिक नीतिमा गरिएको कडाइका कारण आर्थिक वृद्धिदरमा असर परेको विश्व बैंकले उल्लेख गरेको छ । तर, अहिले आयात सहज रहेको र मौद्रिक नीतिमा लिइएको खुकुलो नीतिका कारण अर्थतन्त्रले गति लिने अनुमान गरेको हो । यस्तै औद्योगिक र सेवा क्षेत्रमा सुधार हुँदै गएकोले पनि आगामी वर्ष आर्थिक वृद्धिदर अहिलेको भन्दा उच्च रहने प्रक्षेपण गरेको विश्व बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९/८०मा नेपालको आर्थिक वृद्धि एक दशमलव नौ प्रतिशत थियो । जब कि आर्थिक वर्ष २०७८/७९मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव छ प्रतिशत थियो ।

प्रतिवेदनअनुसार नेपालको अर्थतन्त्रको विस्तार विश्व अर्थतन्त्रको वृद्धिको तुलनामा राम्रो छ । विश्व बैंकले सन् २०२४मा विश्वको औसत आर्थिक वृद्धिदर दुई दशमलव चार प्रतिशत रहने प्रक्षेपण गरेको छ । सन् २०२५मा पनि विश्व अर्थतन्त्र सुस्त रहने अनुमान विश्व बैंकको छ । साथै विश्व बैंकले आगामी वर्ष विश्व अर्थतन्त्र दुई दशमलव सात प्रतिशतले बढ्ने प्रक्षेपण आकलन गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया