Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपशुपति क्षेत्र विकास कोषमा पुनको नियुक्ति विवादित

पशुपति क्षेत्र विकास कोषमा पुनको नियुक्ति विवादित


काठमाडौं । पशुपतिको क्षेत्र विकास कोषमा नियुक्त भएकी लक्ष्मी पुनको कार्यकारी निर्देशक हुनको लागि पेस गरेको कागजातमा कैफियत देखिएसँगै विवादित भएको छ ।

पुनले कोषमा कार्यकारी निर्देशक हुन बुझाएको योग्यता तथा अनुभवसम्बन्धी कागजातमा आफूले आफैँलाई प्रमाणित गर्नुको साथै कतिपयमा संस्थाको दर्ता मितिभन्दा अगावै काम गरेको भनेर अनुभव पत्र बुझाएसँगै विवादित भएको हो ।

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक हुनको लागि स्नातक तह अध्ययन पूरा गरेर २० वर्षको अनुभव वा स्नातकोत्तर सकेर १५ वर्षको अधिकृत तहको अनुभव हुनुपर्ने व्यवस्था छ ।

तर, हालै संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री सुदन किराँतीले नियुक्त गरेर पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक भएकी पुनले भारतको गोवा युनिभर्सिटीबाट सन् २००२ सालमा स्नातक तह र सन् २०१८ मा मदन भण्डारी मेमोरियल कलेजबाट स्नातकोत्तर गरेको देखिन्छ ।

कार्यकारी निर्देशक हुन स्नातकोत्तर गरेर १५ वर्षको अनुभव हुनुपर्नेमा पुनको शैक्षिक योग्यतामा उल्लेख भएअनुसार स्नातकोत्तर गरेको छ वर्ष मात्र भएको देखिन्छ । तर, स्नातक गरेको २२ वर्ष भएको र त्यसैको आधारमा नियुक्ति गरेको मान्दा पनि अधिकृतस्तरको कार्य भेटिँदैन । उनले बुझाएको अनुभवमा डिस्कभरी न्युज नेटवर्क प्रालि स्थायी लेखा नंं ६०१६२०९२८ मा २०५७ चैत्र १९ देखि २०६० चैत्र २५ सम्म सहसम्पादक भएर कार्य गरेको भनिए पनि यस कम्पनी आन्तरिक राजस्व कार्यालयमा २०७० पुस २९ गते मात्र दर्ता भएको देखिन्छ ।

त्यस्तै शान्ति परिवर्तन सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो गणतन्त्र राप्ती एफएम ९५.१ मेगाहर्ज दर्ता नं. २१६/२०६३/०६४/रेडियो दर्ता नं.२७६/२०६३/०६४ मा २०६१ वैशाखदेखि २०६५ मंसिरसम्म सहसम्पादकको रुपमा काम गरेको भनिएकोमा रेडियो दर्ता हुनु दुई वर्षअघिदेखि कसरी काम गरिन् भनेर विवादित भएको छ । उनले बुझाएको सो अनुभवपत्रमा लक्ष्मी पुन ओली भन्ने नाम रहेकोले दुवै एकै हुन् वा फरक–फरक पात्र हुन् अर्को प्रश्न उठेको छ ।

त्यस्तै समाचार सम्पादकसरह ज्यालादारीमा नेपाल टेलिभिजनमा २०६६ भाद्र ११ देखि २०७० असोज १६ गतेसम्म ६ तहमा रहेर काम गरेको भनेर अर्को अनुभव पत्र बुझाएको छिन् ।

उनले आफूले आफूलाई आफ्नै संस्थामा २०७० पुस ११ गतेदेखि २०७५ असारसम्म द वाकर म्याग्जिनमा सम्पादक र २०७८ साउन १० देखि २०८० मंसिर २८ गते नियुक्तिको अघिल्लो दिनसम्म काम गरेको भनेर आफैँ सञ्चालक रहेको पम्पी मल्टिमिडिया प्रालिद्वारा सञ्चालित द वाकर अनलाइन डटकममा सम्पादकको रूपमा काम गरेको भनेर व्यवस्थापक तिलेन्दर दमान सिंह पुनको हस्ताक्षर रहेको कार्यानुभव पेस गरेकी थिएन् ।

आफ्नो संस्थामा सम्पादकको काम गर्दा गर्दै बीचमा छोडेर २०७५ साउनदेखि २०७८ साउनसम्म आहा सञ्चार राष्ट्रिय साप्ताहिकमा सल्लाहकार सम्पादकको काम गरेको भनेर अनुभव बनाएर पूर आफ्नै संस्थामा सम्पादकको काम गर्न थालेको भनेर घुमाइफिराइ योग्यता देखाउन खोजिएको छ ।

भारतको गोवामा जन्मेकी पुन नेपालको सानीभेरि गाउँपालिका वडा नं. ३ पश्चिम रुकुमकी स्थायी बासिन्दा हुन् । उनी माओवादी निकट प्रेस सेन्टर नेपालको उपाध्यक्ष हुन् । यसअघि उनी नेपाल पत्रकार महासंघको सचिव तथा पूर्वगृहमन्त्री जनार्दन शर्माको प्रेस सल्लाहकार भएर समेत काम गरेकी थिइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया