Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली इँटाको भित्ताबाट सक्कली पानी झारेर नक्कली निर्देशन

नक्कली इँटाको भित्ताबाट सक्कली पानी झारेर नक्कली निर्देशन


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सिंहदरबारमा नक्कली इँटाको भित्ताको धाराबाट मेलम्चीको सक्कली पानी आएको धारा खोलेर पुनः वितरणको शुभारम्भ गरे । इँटाको बुट्टा प्रिन्ट गरिएको फ्लेक्सलाई भित्तामा टाँसेर इँटाजस्तो देखिने (नक्कली भित्ता) बनाइएको थियो ।

पानी पुनः वितरण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अर्को नक्कली निर्देशन दिएका छन्, ‘बाह्रै महिना पानी वितरणको व्यवस्था मिलाउनू ।’ तर, तत्काल बाह्रै महिना पानी ल्याउन सकिने अवस्था छैन । किनकि मेलम्ची खानेपानीको मुहानमा बाढीले गरेको क्षतिलाई पुनः निर्माणको कार्य नै सुरु गरिएको छैन । सो ठाउँको मुहान अन्यन्त्र सार्ने वा त्यही ठाउँमा कसरी मुहान बनाउने भन्ने कुनै टुंगो लागेको छैन ।

गतवर्षको जस्तै यो वर्ष पनि मेलम्चीको पानी प्रशोधन नगरी सिधै मेलम्ची खोलाबाट काठमाडौं ल्याउने सुरुङमा हालिएको छ । उक्त पानी सुन्दरीजलमा ल्याएर मात्र प्रशोधन गरेर वितरण गरिएको छ । सरकारी योजना भने मुहानमा पनि पानी प्रशोधन गर्ने र सुन्दरीजलमा पनि प्रशोधन गरेर मात्र वितरण गर्ने छ ।

बाढीले बाँधमा गरेको क्षतिको पुनः निर्माण नगरिएको कारण बर्खायाम लागेपछि पानी बन्द गर्ने र हिउँद लागेपछि मुहानमा थुप्रिएको गेग्रान पन्छाएर पानी हाल्ने गरिएको छ । यसवर्ष बर्खा सकिएको लामो समयपछि मात्र माघ १ गते सोमबारदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको हो । पटक–पटक मेलम्चीको पानी वितरणको शुभारम्भ हुन थालेपछि त्यसको सार्वजनिकरूपमा आलोचना हुन थालेको छ । पानीचाहिँ वर्षको केही महिना मात्र आउने तर पानी वितरणको शुभारम्भ भने पटक–पटक हुन थालेपछि सरकारको आलोचना हुन थालेको हो ।

चालू आर्थिक वर्षको बजेटमा मेलम्चीको खानेपानीको मुहानलाई स्थायीरूपमा बनाएर बाह्रै महिना पानी ल्याउने प्रबन्ध गरिने दाबी गरिए पनि अहिलेसम्म ठेक्काको प्रक्रिया पनि सुरु भएको छैन । मुहानलाई व्यवस्थित गर्ने काम सुरु नै नभए पनि सोमबारदेखि काठमाडौंका उपभोक्ताले खानेपानी समस्याबाट केही मुक्ति भने पाएका छन् । तर, उक्त मुक्ति कति महिनालाई हो भन्ने एकिन छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया