Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकिसानको खेतसम्मै प्रसारण लाइन विस्तार गर्दै सरकार

किसानको खेतसम्मै प्रसारण लाइन विस्तार गर्दै सरकार


काठमाडौं, सरकारले कृषि उपजको उत्पादनमा अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ थप कृषि मिटर उपलब्ध गराउने विषयमा छलफल सुरु गरेको छ । सिँचाइका लागि कृषि मिटर जरुरी भएको र किसानको मागअनुसार खेतसम्म ग्रीड विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको हो ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आज ऊर्जा मन्त्रालयमा राष्ट्रिय किसान आयोग, नेपाल विद्युत् प्राधिकरणका उच्च नेतृत्वसँग सो विषयमा छलफल गर्नुभयो । छलफलमा सहजरूपमा कृषि मिटर वितरण गर्ने, ग्रीड विस्तारलाई विशेष प्राथमिकतामा राख्ने र सिँचाइको सहज उपलब्धताका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग मिलेर काम गर्ने सहमति भएको छ ।

मन्त्री बस्नेतले कृषि मन्त्रालय र आवश्यक सरोकारवाला निकायसँग छलफलपछि ठोस रूपमा कामको रूपरेखा तयार हुने बताए । कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यका साथ सरकार लागिपरेको, ठूला सिँचाइका आयोजनालाई विशेष प्राथमिकतामा साथ कार्यान्वयनमा लगिएको जानकारी दिँदै मन्त्री बस्नेतले नेपाल विद्युत् प्राधिकरणलाई थप लाइन विस्तारका लागि आवश्यक निर्देशन दिइसकेको उल्लेख गरे ।सरकारको पछिल्लो विवरणअनुसार १५ लाख हेक्टरमा सिँचाइ सुविधा पुगिसकेको छ । सिँचाइ सुविधा पुग्न बाँकी १० लाख हेक्टर पहाडका टार तथा तराईका केही क्षेत्र छन् । त्यसलाई पनि सिँचाइका अनेकन विकल्प तयार भइसकेको छ ।

कुल ३२ लाख १८ हजार कृषियोग्य भूमिमध्ये बाँकी क्षेत्र बाँझो भएकाले ती क्षेत्रमा पनि सिँचाइ सुविधा उपलब्ध गराउने विकल्पबारे सरकारले आवश्यक निर्णय गर्ने तयारी गरेको छ । मन्त्री बस्नेतले कृषि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र राष्ट्रिय किसान आयोगले आवश्यक सहजीकरण गरेर ठोस कार्ययोजना ल्याएको खण्डमा कार्यान्वयनमा लैजान कुनै समस्या नभएको बताए ।
कृषि क्षेत्रलाई आधुनिक र व्यवसायीकरण गर्न सकिए रोजगारीको अभिवृद्धि, खाद्यान्नमा आत्मनिर्भर हुने भएकाले त्यसप्रति सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ । सरकारले तराई मधेसमा एकीकृत सिँचाइका विभिन्न कार्यक्रम अगाडि बढाएको तथा स्यालो ट्युबेल र डिप ट्युबेलमार्फत पनि सुविधा उपलब्ध गराएको बताए । थप व्यवस्थाका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले प्रतियुनिट नौ रुपैयाँ ६० पैसामा खरिद गरेको बिजुली कृषि सिँचाइका लागि दुई रुपैयाँ २५ पैसामा उपलब्ध गराइएको जानकारी दिए । प्राधिकरणले कृषि क्षेत्रका लागि १५ करोड युनिटबराबरको बिजुली उपलब्ध गराएको उनको भनाइ छ । सिँचाइका लागि थप बिजुलीको माग भइ आएको खण्डमा उपलब्ध गराउन प्राधिकरण तयार रहेको उनले बताए ।
व्यक्तिको नाममा रहेको जग्गामा कृषि मिटर उपलब्ध गराउन समस्या नभए पनि ऐलानी वा भाडामा लिएर खेती गर्ने किसानका हकमा केही समस्या रहेको उनको भनाइ छ । राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दङ्गालले कृषि उत्पादन बढाउन र किसानलाई थप व्यावसायिक बनाउनका लागि सहजरूपमा सिँचाइ सुविधा उपलब्ध गराउनुपर्ने बताए । उनले सहजरूपमा कृषि मिटरको प्रबन्ध गर्नुपर्ने र मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताए ।छलफलमा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी, विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलगायतको उपस्थिति थियो । रासस


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया