Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी लगानी प्रतिबद्धता २२ अर्ब

विदेशी लगानी प्रतिबद्धता २२ अर्ब


काठमाडौं,चालू आर्थिक वर्षको छ महिना (साउनदेखि पुस)मा विदेशी लगानी प्रतिबद्धता २२ अर्ब ३३ करोड ६५ लाख रुपैयाँबराबर पुगेको छ । उद्योग विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार दुई सय २६ वटा उद्योगका लागि यो प्रतिबद्धता आएको हो । पुस महिनामा मात्रै २७ उद्योगका लागि एक अर्ब ७२ करोड ५९ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ ।विदेशी लगानीकर्ताले १२ हजार एक सय ६७ व्यक्तिलाई रोजगारी दिने उद्देश्य सहित लगानीको प्रतिबद्धता जनाएको विभागको तथ्यांकमा देखिन्छ । यसमध्ये ३१ वटा प्रविधि हस्तान्तरण सम्झौता (टीटीई) सहित आएकोे छ ।

उद्योग विभागका अनुसार विदेशी लगानी प्रतिबद्धता सबैभन्दा बढी दुई सय ११ वटा साना उद्योगका लागि आएको छ । बाँकीमध्ये १२ वटा मझौला र तीनवटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । क्षेत्रगतरूपमा पर्यटनजन्य उद्योगमा एक सय तीनवटा, सेवाजन्यमा ८३ वटा, उत्पादनजन्यमा २३ वटा, सूचना प्रविधिजन्यमा सात वटा, पूर्वाधारमा चारवटा, कृषिमा चारवटा र मिनरलमा दुईवटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । विदेशी लगानीकर्ताबाट कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक क्षेत्रका उद्योगमा विदेशी लगानी आउने गरेको छ ।

नेपालमा सबैभन्दा बढी भारत, चीन, सेन्ट किट्स एन्ड नेभिज र आयरल्यान्डलगायतका मुलुकबाट लगानी प्रतिबद्धता आउने गरेको छ । यसबाहेक सिंगापुर, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, अमेरिका, बंगलादेशलगायत ५२ वटा मुलुकबाट पनि वैदेशिक लगानी प्रतिबद्धता आउने गरेको छ । समीक्षा अवधिमा भारत, चीनलगायतका मुलुकबाट बढी लगानी प्रतिबद्धता आएको छ ।विभिन्न मुलुकबाट लगानी प्रतिबद्धता आउने तर लगानी रकम कम भित्रिने गरेको छ । यसले गर्दा लगानी प्रतिबद्धतालाई लिएर उत्साहित हुनु नपर्ने विभागका अधिकारीहरू बताउँछन् । विभागले लगानी प्रतिबद्धता जनाउने लगानीकर्तालाई नेपाल आउन बिजनेस भिजा उपलब्ध गराउन सहजीकरण गर्दै आएको छ । यसवर्ष साउनदेखि पुससम्म एक हजार तीन सय ५६ जना लगानीकर्ता, एक सय ६८ जना लगानीकर्ताको प्रतिनिधि र चार सय ८८ जना डिपेन्डेन्टमा नेपाल आउन दिन सिफारिस गरेको विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार विदेशी लगानीकर्ताले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गर्नुपर्छ । पुस मसान्तसम्म २८ वटा उद्योगले चार अर्ब एक करोड तीन लाख रुपैयाँबराबरको सेयर खरिद सम्झौता र साझेदारी सदस्यता सम्झौता गरेका छन् ।विदेशी लगानीकर्ताले उद्योगमा लगानी गरेसँगै लगानी प्रतिफल समेत लैजाने गरेको विभागले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी लगानीबापत एक अर्ब ५३ करोड ६५ लाख ३० हजार रुपैयाँ बाहिरिएको छ । गतवर्ष सोही अवधिमा १० अर्ब ९९ करोड ८९ लाख नौ हजार रुपैयाँ लाभांशबापत बाहिरिएकोे छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया