Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली लाइसेन्स बेच्ने महानिर्देशकहरु को कहाँ छन् ?

नक्कली लाइसेन्स बेच्ने महानिर्देशकहरु को कहाँ छन् ?


नक्कली सवारी लाइसेन्स प्रकरणमाथिको छानबिनमा यातायात व्यवस्था विभागका दश जना पूर्वमहानिर्देशक तानिएका छन् । दश जना पूर्वमहानिर्देशकको पालामा करिब एक लाख नक्कली लाइसेन्स बाँडिएको विषय यातायात व्यवस्था विभागकै आन्तरिक अध्ययनले देखाएपछि यो विषयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको हो ।

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टम प्रणालीमा शंकास्पद रूपमा भण्डारण भएका तथ्यांकहरूको छानविन गर्न गठित समितिले लाइसेन्स जारी गर्ने १० जना पूर्व महानिर्देशकहरूको नामावली प्रतिवेदनमा समेटेको थियो ।

यस्ता लाइसेन्स जारी गर्ने पहिलो महानिर्देशकमा रुपनारायण भट्टराई परेका छन् भने दोस्रो र तेस्रोमा गोगनबहादुर हमाल र नमराज घिमिरे छन् । यी महानिर्देशकको पालामा क्रमशः १० हजार ५ सय ३५ र ८ हजार २ सय लाइसेन्स जारी भएको पाइएको छ ।

विभागको आन्तरिक अध्ययन अनुसार पूर्वमहानिर्देशक गोगनबहादुर हमाल, नमराज घिमिरे, लावन्यकुमार ढकाल र कुमारप्रसाद दाहाल पनि तानिएका छन् । ढकालको कार्यकालमा ७ हजार ३ सय ९४ र कुमारप्रसाद दाहालको पालामा ३ हजार ५ सय ४९ वटा शंकास्पद र नक्कली लाइसेन्स जारी भएको प्रविवेदनमा छ । पूर्वमहानिर्देशकहरु चन्द्रमान श्रेष्ठ, तुलसीनाथ गौतम, टोकराज पाण्डे, नारायणप्रसाद भट्टराई र सुरेश राउतको कार्यकालमा क्रमश १४५९, ११३६, १०८४, ६९७ र ३५० शंकास्पद नक्कली लाइसेन्स जारी भएको आन्तरिक प्रतिवेदनको निष्कर्ष रहेको छ ।

नक्कली लाइसेन्स प्रकरणमा मुछिएका विभागका दश जना पूर्वमहानिर्देशकमध्ये तीन जनाले अवकाश पाइसकेको पाइएको छ । बाँकी सात जना बिभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेका छन्।

दुई जना पूर्वमहानिर्देशक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । विभागका पूर्वमहानिर्देशक गोगनबहादुर हमाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत छन् । लाइसेन्स प्रकरणमा मुछिएका अर्का पूर्वमहानिर्देशक डा। टोकराज पाण्डेय त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख छन् । विभागका अर्का पूर्वमहानिर्देशक नमराज घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहसचिव छन् ।

पूर्वमहानिर्देशक कुमारप्रसाद दाहाल हाल विभाग भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भूमि व्यवस्थापन महाशाखामा सहसचिव छन् । अर्का पूर्वमहानिर्देशक तुलसीनाथ गौतम हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सहसचिव छन् । हाल गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता रहेका नारायणप्रसाद भट्टराई पनि नक्कली लाइसेन्स प्रकरणमा मुछिएका छन् ।

दुई महिना विभागको महानिर्देशक भएका सुरेश राउत पनि यो प्रकरणमा संलग्न रहेको आरोप लागेको छ । हाल उनी भने चीनको चेङ्दुस्थित नेपालको महावाणिज्य दूतावासमा महावाणिज्यदूत रहेका छन्।

तीन जना भने अवकाशमा गइसकेका छन् । अवकाशमा जानेहरुमा रुपनारायण भट्टराई, लावण्यकुमार ढकाल र चन्द्रमान श्रेष्ठ छन् ।

विद्युतीय सवारीचालक अनुमतिपत्र प्रणाली लागु भएको सुरुवाती चरणमा महानिर्देशक भएका चन्द्रमान श्रेष्ठको पालामा एक हजार ४५९ नक्कली लाइसेन्स वितरण भएको अध्धयन प्रतिवेदनमा उल्लेख छ ।

श्रेष्ठ ०७२ को भदौ ७ मा विभागको महानिर्देशक नियुक्त भएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ०७५ सालमा उनीविरुद्ध एक करोड ३४ लाख ५ सय ३६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले २०७७ साउनमा अख्तियारको दाबी पुष्टि हुन नसकेको ठहरसहित सफाइ दिएको थियो ।


क्याटेगोरी : समाचार, सुलसुले


तपाईको प्रतिक्रिया