Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतीय ट्रकलाई ७२ घण्टासम्म नेपालमा बस्न पाउने व्यवस्था हटाउन माग

भारतीय ट्रकलाई ७२ घण्टासम्म नेपालमा बस्न पाउने व्यवस्था हटाउन माग


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भारतीय मालवाहक ट्रकलाई ७२ घण्टासम्म नेपालभित्र निर्बाधरूपमा बस्न दिने व्यवस्थामा परिवर्तन गर्न माग गरेको छ । भारतबाट सामान लिएर नेपाल प्रवेश गर्ने भारतीय ट्रकहरू काठमाडौं, पोखरालगायत अन्य सहरहरूमा सिधै जानेगरेका छन् ।

भातरीय ट्रकहरू सामान बोकेर सिधै प्रवेश गरेर ७२ घण्टासम्म नेपालमै बस्ने व्यवस्थाले गर्दा चीनको सीमा क्षेत्रसम्म पनि भारतीय ट्रकले नै सामान लैजाने गरेको छ । त्यसरी भारतबाट सिधै काठमाडौं, पोखरालगायतका मुख्य सहरसम्म ट्रक जाँदा नेपाली ट्रकले सामान बोक्न पाउँदैनन् । त्यही भएर व्यवसायीहरूले भारतीय मालवाहक ट्रकलाई नेपाल–भारत सीमा क्षेत्रसम्म मात्र आउन दिनुपर्ने माग विगतदेखि नै राख्दै आएका छन् । चिनियाँ मालवाहक ट्रक भने नेपाल–चीन सीमासम्म मात्रै आउन पाउने व्यवस्था छ । चिनियाँ ट्रकलाई नेपाल प्रवेशमा रोक लगाइएजस्तै भारतीय ट्रकलाई पनि रोक लगाउन व्यवसायीले माग गरेका हुन् ।

‘भारतीय गाडी ७२ घण्टासम्म नेपालमा बस्दा त्यसले नेपालका मालवाहक ट्रकधनीको व्यवसायमा नकारात्मक असर परेको छ’, एक व्यवसायीले भने, ‘यो कुरा हामीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि अवगत गराएका छौँ । नेपाली ट्रकहरू भारत जान नपाउने तर भारतीय ट्रकहरू ७२ घण्टासम्म नेपालका सहरमा प्रवेश गरेर बस्न पाउने व्यवस्थाले नेपाली ट्रक व्यवसायी धरासायी बनेका छन्, यसमा संशोधन हुनैपर्छ ।’

साथै नाडाले अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई घटाउन समते प्रधानमन्त्रीसँग माग गरेको छ । नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटी अटोमोबाइल व्यवसायका समस्या राख्दै समाधान गर्न आग्रह गरेका हुन् । ‘अटो लोन÷हायर पर्चेज कर्जामा जोखिमभार घटाउन माग पनि गरेका छौँ’ अर्का गाडी व्यवसायीले भने ।

नाडाका अध्यक्ष चौधरीले अटो कर्जामा जोखिमभारलाई एक सय २५ प्रतिशतबाट घटाएर एक सय प्रतिशत कायम गर्नुपर्ने बताएका हुन् । यस्तै बैंकहरूबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको सीमालाई समेत वृद्धि गर्नुपर्ने माग छ । हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरेर ७५ प्रतिशत गर्नेमा नाडाको माग छ । चालू पुँजी कर्जासम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाहरूलाई समेत तत्कालै संशोधन गर्न व्यवसायीहरूले माग गरेका हुन् ।

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोबाइल उद्योग समस्या र समाधानहरूका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । सो भेटमा प्रधानमन्त्री दाहालले विद्युतीय सवारीसाधन, चार्जिङ स्टेसन र नेपालमा अटोमोबाइलसम्बन्धी उद्योगहरूको सम्भावनाहरूका सम्बन्धमा विशेष चासो राखेको नाडाका महासचिव उप्रेतीले जानकारी दिएका छन् । साथै प्रधानमन्त्रीले नाडाका माग सम्बोधन गर्न आवश्यक पहल गर्ने आश्वासन समेत दिएको उनले बताए । उक्त छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानलागायतको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया