Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलुम्बिनीका विहार तथा गुम्बामा व्यावसायिकरूपमा पर्यटक राख्ने गरेको गुनासो

लुम्बिनीका विहार तथा गुम्बामा व्यावसायिकरूपमा पर्यटक राख्ने गरेको गुनासो


काठमाडौं । लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था रोक्न लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले माग गरेका छन् ।

विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्ने कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धराशायी बन्दै गएको र यसले पर्यटन व्यवसाय प्रभावित बनेको भन्दै व्यावसायिक रूपमा पर्यटक राख्ने व्यवस्था स्थायीरूपमा रोक लगाउन व्यवसायीले माग गरेका छन् ।

लुम्बिनी होटल सङ्घ, नेपालले आज लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र स्थायीरूपमा समाधान गर्न ठोस कार्य अगाडि बढाउन आग्रह गरेको छ । सङ्घका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले विहार तथा गुम्बा गुरुयोजना क्षेत्रबाहिर रहेका होटलसँग व्यावसायिक प्रतिस्पर्धा गर्दै पर्यटक राख्ने ठाउँमा फेरिएको बताए ।

‘विहार र गुम्बा भनिने ठाउँ बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमुना होइन, व्यापारको थलो बनेका छन्’, उनले भने, ‘यस खालको अनियमितता र गुरुयोजनाको मर्मविपरीतको कार्य नरोकिँदा निजी क्षेत्रको लगानी र व्यवसायलाई सङ्कटमा पुर्याएको छ ।’

अध्यक्ष ज्ञवालीले विगतमा राम्रो व्यवसाय सञ्चालनमा रहेका लुम्बिनी क्षेत्रका होटलमध्ये गत वर्ष खोलिएका १० भन्दा बढी स्थायीरूपमा बन्द भएको र यस वर्ष थप होटल बन्द हुने अवस्थामा पुगेका बताए । सङ्घका महासचिव पुरुषोत्तम अर्यालले विहार तथा गुम्बालाई होटलको रूपमा सञ्चालन गरेर होटल व्यवसायलाई धराशायी बनाइएको बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईमार्फत सङ्घले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् कोषका अध्यक्ष हितमान तामाङलाई बोधार्थ पठाइएको महासचिव अर्यालले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै कोषाध्यक्ष भट्टराईले व्यवसायीको माग जायज भएको र कुनै न कुनैरूपमा सम्बोधन गर्नुपर्ने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया