Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसुनचाँदी धितोमा आधा खर्ब ऋण प्रवाह

सुनचाँदी धितोमा आधा खर्ब ऋण प्रवाह


काठमाडौं । विश्वबजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको अवस्थामा नेपाली बैंकहरुले भने सुनचाँदी धितो लिएर आधा खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । सामान्य अवस्थामा अमेरिकी डलर र सुनको मूल्यबीच नकारात्मक सम्बन्ध रहेको हुन्छ । डलरको मूल्य बढ्दा सुनको मूल्य घट्छ भने डलरको मूल्य घट्दा सुनको मूल्य बढ्छ । पछिल्लो समय रुस–युक्रेनबीच लामो समयदेखि चलिरहेको युद्ध, मध्यपूर्वमा इजरायल र हमासबीचको युद्ध र चिनियाँ केन्द्रीय बैंकले केही महिनाअघि एकै पटक १७ दशमलव छ टन सुन खरिद गरेर आफ्नो भण्डारण बलियो बनाएपछि बजारमा माग बढ्न गई मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले वैशाख दुई गते आइतबारको लागि प्रतितोला छापावाल सुनको मूल्य एक लाख ३६ हजार आठ सय रुपैयाँ र प्रतितोला तेजाबी सुनको मूल्य एक लाख ३६ हजार एक सय ५० रुपैयाँ तोेकेको छ । यसदिन प्रतितोला चाँदीको मूल्य एक हजार सात सय रुपैयाँ तोकेको छ । प्रतितोला सुनमा व्यवसायीहरुले गहना बनाउँदा केही प्रतिशत ज्याला र जर्ती कटाउने हुँदा अहिले बजारमा एक तोला सुन किनेर गहना बनाउँदा एक लाख ४० हजार रुपैयाँदेखि एक लाख ४५ हजार रुपैयाँसम्म पर्छ ।

सुन महँगीको भए पनि बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदीलाई कर्जा प्रवाहका लागि सबैभन्दा विश्वासिलो धितोमध्येको प्रमुख मान्दछन् । यही कारण अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितो लिएर ५३ अर्ब ५७ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् । यस अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ६१ खर्ब ८७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ र कुल कर्जा ५० खर्ब ८४ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ छ ।

वाणिज्य बैंकहरुले मात्र गत फागुन मसान्तसम्म सुनचाँदी धितो लिएर ४८ अर्ब ७८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ७१ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ र कर्जा ४४ खर्ब ९२ अर्ब ८४ करोड ५० लाख रुपैयाँ छ । विकास बैंकहरुले भने सुनचाँदी धितो शीर्षकमा कुल तीन अर्ब ७५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंकहरुको कुल निक्षेप रकम पाँच खर्ब ९३ अर्ब ५८ करोड १० लाख एवं कुल कर्जा रकम चार खर्ब ९६ अर्ब पाँच करोड ६० लाख रुपैयाँ थियो ।

फाइनान्स कम्पनीहरुले फागुन मसान्तसम्म सुनचाँदी धितो लिएर कुल एक अर्ब चार करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम एक खर्ब २२ अर्ब २१ करोड ९० लाख रुपैयाँ र कुल कर्जा ९६ अर्ब तीन करोड १० लाख रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया