Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराज्यमन्त्री दुगडद्वारा अनुमतिविना नुन उत्पादन र बिक्री

राज्यमन्त्री दुगडद्वारा अनुमतिविना नुन उत्पादन र बिक्री


काठमाडौं ।
मोरङ्गमा रहेको दुगड स्पाइस एण्ड फुड प्रोडक्टस प्रालिले अनुमतिविना गैरकानुनी रुपमा नुन उत्पादन गरी बिक्री वितरण गरेको फेला परेको छ । उक्त दुगड स्पाइस उद्योग राज्यमन्त्री मोतिलाल दुगडको हो । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले गैरकानुनी तरिकाले दुगड स्पाइसले गरेको काम रोकी कानुनी कारबाही चलाउन शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निवेदन दिएका छन् ।

मञ्चका अनुसार दुगडले विभिन्न किसिमका गरम मसलाहरुलगायत खाद्य पदार्थहरु उत्पादन गर्दै बजारीकरण गर्दै आएकोमा केही समय अगाडिबाट सो कम्पनीले सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नुनको प्याकेजिङ गरी प्रतिसय ग्रामको बिल बीजक मूल्य रुपैयाँ ३२ (प्याकेटमा अंकित मूल्य रुपैया ३५) मा बिक्रीवितरण गरिरहेको छ । दुगड स्पाइसेजले प्याकेजिङ गरेको सेन्चुरी ब्राण्डको स्प्रिंकलर्स टेवल साल्ट (नुन)को बिक्रीवितरणमा रोक लगाउन माग गरिएको छ । मञ्चमा उजुरी आएपछि प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गरिएको हो ।

मञ्चले गरेको अनुगमन, अध्ययन तथा तथ्यगत सूचनाको आधारमा खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागमा मिति गत भदौ १२ गते उजुरी निवेदन दिने काम भएको र सो निवेदनउपर विभागले गरेको छानबिनको क्रममा उक्त नुन उत्पादनको लागि अनिवार्य रुपमा विभागको अनुज्ञा–पत्र लिइनुपर्ने र विभागको स्वीकृति लिनुपर्नेमा नलिएको/नदेखिएको भनी खाद्य गुणस्तर कार्यालयको भदौ १७ गते जानकारी दिएको भन्दै मञ्चले कारबाही गर्न प्रधानमन्त्री कार्यालयमार्फत अनुरोध गरेको हो ।

नुनको उपयोग, प्रयोग, गुणस्तर तथा मूल्य आदिका सम्बन्धमा नेपाल सरकारले तोकेको मापदण्डमा रही उत्पादन, सञ्चय, बिक्रीवितरण गर्ने काम नेपाल सरकारले २०२० सालदेखि नै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत गर्दै आएको छ । सरकारी अनुमतिविना अनधिकृत रुपमा नुनको प्याकेजिङ, सञ्चय तथा बिक्रीवितरण गर्नु प्रचलित कानुनविपरीतको कार्य भएको मञ्चले दाबी गरेको छ ।

नेपालमा विगत पाँच दशकभन्दा बढी अवधिदेखि नेपाली जनतालाई राज्यको तर्फबाट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहज, सुलभ र स्वस्थ वस्तुको रुपमा नुनको आपूर्ति गर्दै आएको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार पनि ९० प्रतिशत घर परिवारमा स्वस्थकर आयोडिनयुक्त नुन प्रयोग गर्ने देशको रुपमा नेपालले परिचय कमाएको छ । आयोडिनयुक्त नुन साल्ट ट्रेडिङले वितरण गरेपछि गलगाँडको समस्या निर्मूल भइसकेको छ भने प्रत्येक एक लाखमा चार जनामा मात्र कण्ठरोग बाँकी रहेको सरकारी दाबी छ ।

नेपाल सरकारले २०७३ चैत २१ गते प्रकाशित नेपाल राजपत्रको खण्ड ६६ (संख्या ६६) प्रकाशित सूचनाअनुसार नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) र प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ को दफा ३० ले दिएको अधिकार प्रयोग गरी सम्वत् २०७४ साल साउन १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट नेपालभर आयोडिनयुक्त नुनको आयात, भण्डारण तथा बिक्रीवितरण गराउने व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ ।

यसरी नेपाल राज्यभर साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मात्र आयोडिनयुक्त नुनको आयात, आपूर्ति, सञ्चय तथा बिक्रीवितरण गर्ने एकल अधिकार दिएकोमा उक्त कम्पनीले सरकारको निर्णय र नियम कानुन उल्लंघन गरी सर्वसाधारण उपभोक्ताको जिउ ज्यानमाथि खेलबाड गर्ने काम गरेको छ ।

सरकारको कण्ठरोग नियन्त्रण समितिको नीति तथा निर्देशनमा मात्र आयोडिनयुक्त नुन बिक्रीवितरण गर्न पाउने व्यवस्था गरेको छ । तर उक्त कम्पनीले स्प्रिंकल टेवल साल्ट (नुन)को उत्पादन तथा बिक्रीवितरण गर्ने काम गरी भ्रमात्मक प्रचार गरी उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएका व्यवस्थाहरुको उल्लंघन गर्ने काम गरेको मञ्चको दाबी छ ।

खाद्य ऐन, २०२३ को दफा ४(ख) मा तोकिएको खाद्य पदार्थको उत्पादन, बिक्रीवितरण, सञ्चय, वा प्रशोधन गर्न चाहने व्यक्तिले तोकिएबमोजिम अनुज्ञा–पत्र लिनुपर्ने व्यवस्था गरिएकोमा दुगडले अनुज्ञा–पत्र वा इजाजत पत्र लिएका छैनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया