Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतातोपानी नाका एकपक्षीय सञ्चालन

तातोपानी नाका एकपक्षीय सञ्चालन


काठमाडौं ।
लामो समयदेखि बन्द रहेको तातोपानी नाका एकपक्षीय रुपमा सञ्चालनमा आएको छ । चीनमा अड्किएका नेपाली व्यवसायीका सामान आइतबारदेखि नेपाल आउन थालेका छन् । चीनका सामान नेपाल प्रवेश पाउने भए पनि नेपाली सामान भने तत्काल चीन पठाउन पाइनेछैन । कोरोना संक्रमणमा कमी नआएसम्म नेपालबाट सामान लैजान चीनले मानेको छैन ।

आइतबार चीनबाट ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ । नेपालको दशैं, तिहारलगायतका चाडलक्षित सामानहरु नेपाली व्यवसायीले चीनमा खरिद गरे पनि नाका बन्द भएको कारण चीनका विभिन्न भागमा अलपत्र अवस्थामा छन् ।

नेपालको वर्तमान सरकार र चीनको सरकारबीच राम्रो सम्बन्ध भएको बताइए पनि चीनले नाका सञ्चालनमा पटक–पटक आनाकानी गरिरहेको छ । खासगरी पछिल्लो समयमा चीनले कोरोनाको कारण नाका खोल्न मानिरहेको थिएन । तर, नेपालको पटक–पटकको अनुरोधले चीनले एकपक्षीय रुपमा नाका खोलेको हो ।

कोरोनाको कारण चीनले नेपाल–चीनको मितेरी पुलमा सामान ल्याएर खसालिदिने र ती सामानहरु नेपालका गाडीमा लोड गरेर ल्याउनुपर्नेछ । पुलबाट सुख्खा बन्दरगाहमा ल्याएको सामान भन्सार जाँचपासबाट मात्र नेपाली व्यवसायीले ल्याउन पाउनेछन् । चीनको अनुरोधमा नेपालले २९ जनाको दुई टोलीलाई सामान लोड र अनलोड गर्नका लागि तयारी अवस्थामा राखेको छ । वर्षात्को कारण क्षति पुगेको अरनिको राजमार्गलाई सामान्य मर्मत गरेर सञ्चालन हुनयोग्य बनाइएको छ । सामान आउन थालेपछि दशैंमा सामान्य व्यापार हुने नेपाली व्यवसायीले अनुमान गरेका छन् ।

२०७२ सालको विनाशकारी भूकम्पको कारण नेपाल–चीनको नाका अधिकांश समय बन्द हुँदै आएको छ । नाका सञ्चालन हुने बेलामा कोरोनाको महामारी सुरु भएको कारण रसुवागढी नाका पनि गत माघबाट बन्द भएको थियो । चीनले नेपाललाई समुद्री मार्ग प्रयोग गर्न दिने विषयमा सहमति गरे पनि नेपालसँगकै नाका पटक–पटक बन्द गर्ने गरेको कारण प्रयोग गर्न दिने भनिएका समुद्री मार्गमा पनि अवरोध आउने देखिन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया