Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगमा बजेटभन्दा २८ प्रतिशत बढी लगानी प्रस्ताव

उद्योगमा बजेटभन्दा २८ प्रतिशत बढी लगानी प्रस्ताव

उद्योग क्षेत्रको लगानी आशलाग्दो मात्रै हो, उत्साहजनक होइन: महानिर्देशक भुसाल


काठमाडौं ।
नेपालको उद्योग क्षेत्रमा मुलुकभित्र र बाहिरबाट हालसम्म झण्डै २३ खर्ब रुपैयाँ लगानीको प्रस्ताव आएको छ । हालसम्म नेपालको उद्योग क्षेत्रमा गरिएको लगानी प्रस्ताव चालू आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजन गरिएको बजेटभन्दा २८ प्रतिशतले बढी हो । सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको थियो ।

यसैबीच स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले नेपालको उद्योग क्षेत्रमा हालसम्म २२ खर्ब ८३ अर्ब २८ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएको उद्योग विभागले जानकारी दिएको छ । नेपालमा पछिल्ला वर्षहरूमा उद्योग लगाउने ट्रेन्ड (चलन)का कारण समग्रमा स्वदेशी तथा विदेशी लगानी आएको देखिएको विभागका महानिर्देशक जीवलाल भुसालले आर्थिक दैनिकलाई जानकारी दिए । तर यो लगानी उत्साहजनक नभएको उनको भनाइ छ । ‘हालसम्म मुलुकको उद्योग क्षेत्रमा आएको लगानी आशलाग्दो हो । उत्साहजनक होइन’, उनले आर्थिक दैनिकसँग भने, ‘दुई अंकको आर्थिक वृद्धिदर राखेको समयमा लगानी बढी आउनुपथ्र्यो । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उद्योग क्षेत्रको योगदान करिब १४ प्रतिशत रहेकोमा हालसम्म आइपुग्दा २० प्रतिशत माथि हुनुपर्थ्यो ।’

हालसम्म ठूला, मझौला र साना गरी कुल आठ हजार चार सय ५३ वटा उद्योग स्थापना गर्ने तथा छ लाख २८ हजार सात सय १२ जनालाई रोजगारीको समेत प्रस्ताव गरिएको छ । यसैबीच, हालसम्म उद्योगका लागि विदेशी लगानी प्रस्ताव भने तीन खर्ब ६४ अर्ब ४६ करोड आएको छ । ५२ हजार ३३ वटा उद्योग र दुई लाख ७४ हजार सात सय ७४ जनालाई रोजगारी दिने दृष्टिकोणबाट सो लगानी प्रस्ताव आएको हो ।

विदेशी लगानीकर्ताहरूले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मार्फत विदेशी लगानी भित्र्याउने गर्छन् । विदेशी लगानी प्रस्तावलाई हेर्दा पनि सन्तोषजनक मान्न नसिकने उनको भनाइ छ । ‘विदेशी लगानीको ट्रेन्ड हेर्दा भारत र चीनबाट लगानी प्र्रस्ताव बढी आएको पाइन्छ । अन्य मुलुकबाट समेत लगानीकर्तालाई आकर्षित गर्नुपर्ने आवश्यकता देखिन्छ’, महानिर्देशक भुसालले भने ।

यस्तै आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा लगानी प्रतिबद्धता चार खर्बले कमी आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा एक खर्ब ५२ अर्ब र आर्थिक वर्ष २०७७/०७८ मा एक खर्ब ५६ अर्ब लगानी प्रतिबद्धता आएको छ । ठूला, मझौला र साना गरी आर्थिक वर्ष २०७६/०७७ मा दुई सय ७७ वटा र आर्थिक वर्ष २०७७/०७८ मा दुई सय तीनवटा उद्योग स्थापना गर्न प्रतिबद्धता जनाएका हुन् ।

त्यस्तै, प्रतिकूल समयमा समेत लगानी आएको कारण लगानी रकम देखिएको उनको भनाइ छ । ‘ऊर्जा, सिमेन्ट तथा प्रतिकूल समयका बाबजुद पनि पर्यटन क्षेत्रमा समेत दुईतर्फी अर्थात् स्वदेशी तथा विदेशी लगानी आएको छ । ठूला परियोजनामा समेत लगानी आएको छ’, उनले भने, ‘विदेशी लगानी पनि आएको पाइन्छ । पाइपलाइनमा भएका आयोजनाहरू समेत आउँदा लगानी देखिएको हो ।’

आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा विदेशी लगानीतर्फ भने पाँच अर्ब ६० करोडले कमी आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ३७ अर्ब ८० करोड र आर्थिक वर्ष २०७७/०७८ मा ३२ अर्ब २० करोड विदेशी लगानी प्रस्ताव आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा दुई सय २३ वटा र आर्थिक वर्ष २०७७/०७८ मा एक सय ८३ वटा उद्योगका लागि सो लगानी प्रस्ताव आएको हो ।

यसैबीच गत आर्थिक वर्ष विदेशी लगानीमा भारतीय र चिनियाँ लगानीकर्ताको लगानी धेरै आएको विभागले जानकारी दिएको छ । कोभिड १९ को कारण अन्तर्राष्ट्रिय उडानहरू चार महिनाको लागि बन्द हुँदा विदेशी लगानीमा त्यति ठूलो असर नपरेको विभागका अधिकारीहरूले बताए ।

भारत र चीनका लगानीकर्ताहरूले उद्योगमा बढी लगानी गर्ने हुँदा उहाँहरूलाई सडकमार्गबाट समेत नेपाल आउन सम्भव थियो’, उनले भने, ‘बन्दका कारण विदेशी लगानीकर्ताहरूलाई असर नपरेकै कारण लगानी आएको हो । नेपालस्थित प्रतिनिधिले समेत लगानी ल्यएको पाइन्छ ।’

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा आर्थिक वर्ष २०७८/०७९ का लागि निर्वतमान अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरेका हुन् । ओली सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x