Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधितोमा रहेको सिभिल सेभिङको सम्पत्ति लिलाम गर्दै सञ्चय कोष

धितोमा रहेको सिभिल सेभिङको सम्पत्ति लिलाम गर्दै सञ्चय कोष


काठमाडौँ । कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङको नाउँमा ३५ दिने सूचना जारी गरेको छ । सिभिल सेभिङ एण्ड क्रेडिटमा बचतकर्ताहरुको निक्षेप रकम घोटालाको अभियोगमा असोज १८ गते केन्द्रीय अनुसन्धान ब्युरोद्वारा पक्राउ गरिएका तामाङविरुद्ध मंसिर ६ गते सोमबार कोषले कर्जा चुक्ता गर्न आउनको लागि ३५ दिने सूचना जारी गरेको हो ।

कोषका ऋणी सिभिल इस्टेट्स प्रालिले लिएको ऋण चुक्ता गर्न आउनको लागि कोषले उक्त कम्पनीका सञ्चालक समेत रहेका तामाङको नाउँमा ३५ दिने सूचना जारी गरेको हो । कोषले जारी गरेको सूचनामा भनिएको छ, ‘तपाईं ऋणीले आफ्नो कारोबार सञ्चालनार्थ कोषबाट लिनुभएको ऋण रकमको भाखा नाघेको ऋणको सावाँ ब्याज रकम नतिर्नु, नबुुझाउनुभएकोमा कोषले पटक–पटक तरताकेता गरी भुक्तानीको लागि म्याद दिँदा समेत भुक्तानी गर्न नआएकोमा यो सूचना प्रकाशित गरिएको हो ।

‘यो सूचना प्रकाशित मितिले ३५ दिनभित्र कोषमा सम्पर्क गरी तिर्नुु–बुझाउनुपर्ने सम्पूर्ण रकम, सोमा लाग्ने ब्याज, हर्जना तथा अन्य रकम समेत बुझाउन यो सूचना जारी गरिएको हो’, कोषले भनेको छ ।

कोषका अनुसार सिभिल इस्टेट्स कम्पनीका सञ्चालकहरुमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया रहेका छन् । उक्त ऋण जमानी दिने व्यक्तिहरुमा भने इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ, प्रविण मुखिया, लालकाजी गुुरुङ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, प्रविण प्रसाद प्रधान र सुमन नन्दन वैद्य रहेका छन् । ऋणको धितोको रुपमा भने काठमाडौंको महानगरपालिका सुन्धारास्थित छ रोपनी जग्गा र सो निर्माण भएको ८२ हजार ९५ वर्गफिटको पसल कबोलहरु राखिएका छन् ।

सीआईबीले सिभिल सेभिङ एण्ड क्रेडिटमा बचतकर्ताहरुको निक्षेप रकम घोटाला गरेको प्रकरणमा असोज १८ गते तामाङसहित अन्य १२ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तामाङसहित १२ जनाको हकमा अहिले मुुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान भइरहेको छ । पक्राउ परेका तामाङसहित १२ जना व्यक्तिमाथि पछिल्लोपटक संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान चौथो पटक १० दिनको लागि म्याद थप भएको छ ।

सुरुमा उक्त सिभिल सेभिङमा बचत रकम जम्मा गर्ने एक सय ३७ जना पीडित बचतकर्ताहरुको ७० करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको भन्दै परेको उजुरीका आधारमा पूर्वसांसद समेत रहेका तामाङसहित १२ जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेहरुमा इच्छाराज तामाङ (सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष, पूर्वसभासद एवं सिभिल बैंकको अध्यक्ष), केशवलाल श्रेष्ठ (सञ्चालक समितिको अध्यक्ष), भगवान बहादुर सिंह (सहजकर्ता प्रबन्धक), मायोनानी महर्जन (जुनियर असिसटेन्ट मेनेजर), एलिना तुलाधर (जुनियर असिस्टेन्ट मेनेजर), शंकर प्रसाद पाठक (जुनियर अधिकृत), संगीत श्रेष्ठ (असिस्टेन्ट), राकेश महर्जन (लेखा अधिकृत), बुद्धराज तामाङ (जुनियर सहायक प्रबन्धक), कौस्तुभ केतन ढुंगाना (जुनियर सहायक प्रबन्धक), विजय विक्रम शाह (सिभिल होम्सका वरिष्ठ प्रबन्धक) र हरिहर लामिछाने (पूर्वलेखा समिति सदस्य) रहेका थिए । अनुुसन्धानका क्रममा उक्त सहकारीमा कुुल दुई हजार ५६ जना बचतकर्ताहरुको सात अर्ब ३६ करोड ३८ लाख ११ हजार रुपैयाँबराबरको बचत रहेको देखिएको छ । हालसम्म तामाङमाथि १४ सय ५० भन्दा बढी जाहेरी दर्ता भएको छ भने पाँच अर्ब ५३ करोड रुपैयाँभन्दा बढी दाबी परेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया