Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वदेशमा रोजगारीको चरम अभाव

स्वदेशमा रोजगारीको चरम अभाव


काठमाडौँ । हरेक वर्ष नेपाली श्रम बजारमा पाँच लाख जना युवाहरु आउने गरेका छन् । त्यसको एक चौथाइ मात्रै स्वदेशमा रोजगारी पाइरहेका छन् । जसले गर्दा नेपाली श्रम बजार वैदेशिक रोजगारीमा भर पर्नुपरेको छ । वैदेशिक रोजगारी भने जोखिमयुक्त हुनसकेको छैन । वैदेशिक रोजगारीले मृत्युलाई अंगाल्दा यो सुरक्षित बन्नसकेको छैन ।

यस्तै वैदेशिक रोजगारी हिंसा, जोखिम, विभिन्न प्रकारको अभाव लगायतका कारणले गर्दा जोखिमयुक्त बनेको छ । यसलाई सरकारी तथ्यांकले नै प्रमाणित समेत गरेको छ । आर्थिक वर्ष ०७७÷०७८ मा एक हजार दुई सय ४२ जना युवाहरुले वैदेशिक रोजगारीको क्रममा मृत्युलाई अंगाल्न पुगेको सरकारी तथ्यांक छ ।

नेपाली युवाको लागि सदैव मलेसिया र खाडी मुलुकहरु असुरक्षित छन् । सोही मुलुकहरुमा मृत्यु हुने नेपालीको संख्या समेत धेरै हुने गरेको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार आर्थिक वर्ष ०७७÷०७८ मा साउदी अरेबियामा तीन सय ६२ जना (पुरुष ३६० र महिला २) युवाहरुले ज्यान गुमाए । त्यसपछि क्रमशः मलेसियामा दुई सय ८० जना (पुरुष २७९ र १ महिला), कतारमा दुई सय ३९ जना (पुरुष २३७ र २ महिला), संयुक्त अरब इमिरेटस (यूएई) मा दुई सय आठ जना (पुरुष १९६ र महिला १२) कुवेतमा ५५ जना (पुरुष ५२ र महिला ३), बहराइनमा ३१ जना (पुरुष २९ र महिला २) युवाले ज्यान गुमाए ।

विकसित भनिएका मुलुक जापान, दक्षिण कोरिया, पोर्चुगललगायतका देशमा समेत नेपाली युवाहरुले ज्यान गुमाएका छन् । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन नसक्दा विदेशी भूमिमा युवाहरुले विकसित तथा विकासोन्मुख मुलुकहरुमा नेपाली युवाले ज्यान गुमाउनुपरेको छ । गत आर्थिक वर्षमा दक्षिण कोरियामा १३ जना (१२ पुरुष र १ महिला), जापानमा नौ जना (सबै पुरुष), जोर्डनमा छ जना (३ पुरुष र ३ महिला), ओमानमा सात जना (सबै पुरुष) युवाले ज्यान गुमाएका छन् ।

सरकारकै कमजोरीको कारणले गर्दा वैदेशिक रोजगारीको क्रममा स्वदेशभित्र समेत पाँच जना (सबै पुरुष) युवाहरुको ज्यान गएको सरकारी तथ्यांक छ । मकाउ (सबै पुरुष), रोमानिया( सबै पुरुष) र टर्की (२ पुरुष र १ महिला) मा पनि क्रमशः तीन÷तीन जना युवाहरुले ज्यान गुमाएका छन् । यस्तै अफगानस्तिान, इजरायल, लेबनान, माल्दिभ्स, सेचेल्स, सिगापुर, युगान्डा, अल्जेरियालगायतका मुलुकमा पनि एक वा दुई जना युवाले ज्यान गुमाएका छन् । सरकारी प्रतिवदेनअनुरुप विदेशमा युवाहरुको मृत्युको कारणको रुपमा भने रोग, हृदयाघात, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, आत्महत्या, हत्या, स्वाभाविक मृत्यु लगायतका कारण रहेको बताएको छ ।

गत आर्थिक वर्षमा रोग, आत्महत्या, स्वाभाविक मृत्युलगायतका कारणले गर्दा करिब पाँच सय जना नेपाली युवाहरुले विदेशमा ज्यान गुमाउनुपरेको छ । सरकारले एक सय १० वटा मुलुकमा संस्थागत र एक सय ७२ वटा मुलुकमा व्यक्तिगत रुपमा जाने वातावरण तयार गरेको छ । तर ती मुलुकहरुमा जाने युवाहरुको जीवनको सुरक्षाको सुनिश्चितता नगर्दा अकालमै युवाहरुले ज्यान गुमाएका छन् ।

श्रम स्वीकृति लिएर सबैभन्दा बढी मलेसिया र खाडी मुलुकहरुमा नेपाली युवाहरु कामका लागि जाने गरेका छन् । तर युवाहरुको जीवनको सुरक्षालाई सरकारले प्राथमिकतामा नराख्दा विदेशमा रहेका नेपालीहरु जोखिममा रहेका छन् । जसले गर्दा सामान्य बिरामी पर्दा समेत उपचारको अभावमा विदेशमा नेपाली युवाले ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । विश्व मञ्चमा मलेसिया, खाडी लगायतका विभिन्न मुलुकहरु नेपाली युवाको लागि सुरक्षित नभएको बताउँदै आए पनि सरकारले त्यसलाई गम्भीर रुपमा नलिँदा समस्या समाधान हुनसकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया