Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघरजमिन जोगाइदिएर कोरिडोर बनाउन खल्लामछेट्टीका स्थानीयको आग्रह

घरजमिन जोगाइदिएर कोरिडोर बनाउन खल्लामछेट्टीका स्थानीयको आग्रह


कन्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका स्थानीयले महाकाली कोरिडोर ब्रम्हदेव–झुलाघाट–दार्चुला–तिङकर सडक निर्माण गर्दा स्थानीयको जमिन, खेत, घर जोगाई निर्माण गर्न आग्रह गरेका छन् । गाउँबाट सडक निर्माण कार्य राम्रो भए पनि केही नेता, जनप्रतिनिधिहरूले पुर्वाग्राही ढंगबाट आफूहरूको घरखेतबाटै सडक लैजान लागेको उनीहरूको गुनासो छ ।

स्थानीय राजेन्द्र टमाटाले नक्साभन्दा बाहिर सडक ल्याएर आफ्नो घरखेत सडकमा पारिएको बताए । ‘यो सडक पश्चिम भएर जानुपर्ने हो’, उनले भने, ‘बढी पूर्वतिर तानेर मेरो घरखेत नै नासिदियो ।’ उनले घर, जमिनको क्षतिपूर्ति समेत दिनुपर्ने माग गरेका छन् । अर्का स्थानीय धनगिरी चुनाराले सडक गएको घरखेत, जमिनवालालाई सरकारले क्षतिपूर्ति दिनुपर्ने बताए । गाउँ स्थानीय अगुवा भैरव बोहराले कम क्षति हुनेगरी सिधै सडक निर्माणमा जोड दिए । महाकाली कोरिडोर ब्रम्हदेव–झुलाघाट–दार्चुला–तिङकर सडकखण्डका सव इन्जिनियर दौलतसिह धामीले नक्साअनुरुप सडक विस्तार भइरहेको बताए । ‘हामीले कसैको घरखेत नास्ने तरिकाले सडक निर्माण गर्न खोजेका छैनौँ’, उनले भने, ‘नक्साअनुरुप सडक निर्माण भइरहेको छ, जनता खुसी छन् ।’

भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथले ऐलानी जमिन भएकाले मुआब्जा दिन नसकिने बताउँदै कुनै स्थानीयको ठूलै क्षति हुने देखिए केही मिलाउन सकिने बताए । उनले दार्चुलादेखि कञ्चनपुरसम्म सडक निर्माणकार्य ऐतिहासिक भएकाले सबैको सहयोग अपरिहार्य रहेको बताए । ‘त्यहाँ ०६५ सालमै सडक निर्माणका लागि नक्सा बनेको हो’, उनले भने, ‘नक्साअनुरुप सडक अघि बढेको छ, गाउँमा सडक पुग्दा खुसी हुनुपर्नेमा विरोध गर्नुको कुनै तुक छैन ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया