Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘आयात प्रतिस्थापन नगरेसम्म समाजवादोन्मुख अर्थतन्त्र स्थापित हुन्न’

‘आयात प्रतिस्थापन नगरेसम्म समाजवादोन्मुख अर्थतन्त्र स्थापित हुन्न’


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आयात प्रतिस्थापन गरी स्वावलम्बी अर्थतन्त्रको निर्माण नगरेसम्म नेपालको संविधानले परिलक्षित गरेको समाजवादोन्मुख अर्थतन्त्र स्थापित नहुने बताएकी छिन् । चुलिँदो व्यापारघाटा नियन्त्रण गर्न आयात प्रतिस्थापन जरुरी रहेको उनको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार, २०७७/७८ वितरण कार्यक्रममा उनले आयात प्रतिस्थापनको लागि मुलुकमा उपलब्ध साधन र स्रोतको सदुपयोगद्वारा कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्नु पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिइन् । स्वदेशी कच्चापदार्थमा आधारित उद्योगको विकास गर्दै रोजगारीको सिर्जना तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने उनको भनाइ थियो । स्रोत, साधन र अवसरमा विपन्न वर्ग एवं युवाको पहुँच सुनिश्चित गरी समतामूलक राज्य व्यवस्था निर्माण गरेर मात्र समाजवादको सपना साकार बनाउन सकिने उनले बताइन् ।

‘कुनै पनि मुलुकको राजनीतिक–आर्थिक प्रणाली निश्चित सैद्धान्तिक अवधारणामा आधारित रहेको हुन्छ । नेपालको संविधानले पनि सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामार्फत स्वदेशमा उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा आर्थिक वृद्धि हासिल गर्दै स्वाधीन राष्ट्रिय अर्थतन्त्रसहितको समाजवाद उन्मुख शासन प्रणाली स्थापना गर्ने लक्ष्य लिएको छ’, उनले भनिन् । यस्तै उनले पुष्पलालका योगदानको चर्चा गरिरहँदा सामाजिक न्यायमा आधारित आर्थिक समृद्धितर्फका हाम्रा पाइला समाजवादको सैद्धान्तिक अवधारणासँग संगीत राख्छन् कि राख्दैनन् भनेर समीक्षा गरिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट विभिन्न स्रष्टाहरूलाई सम्मान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ बाट धनेन्द्र बस्नेत, डा. ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई सम्मान गरिन् । सोही अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७७ बाट मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्ण प्रसाद पोखरेल र पवित्र घर्तीलाई सम्मान गरेकी थिइन् । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गर्दै उनको विचारलाई प्रेरणाको रूपमा लिएर देशको समृद्धिका लागि अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल र नेपाली जनताको मुक्तिका लागि पुष्पलाल श्रेष्ठको योगदानको सम्मान गर्दै सरकारले पुष्पलाल राष्ट्रिय पुरस्कार वर्षेनी प्रदान गर्दै आएको बताए । राष्ट्रको विकास र समृद्धिमा महत्वपूर्ण योगदान गरेका राजनीतिक व्यक्तित्वहरूको दूरदर्शी विचार, मार्गनिर्देशन, त्याग र संघर्षलाई सम्मान गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।

मुलुकको प्रगतिशील राजनीतिक परिर्वतन, नेपाली राजनीतिक आन्दोलनको इतिहासको अध्ययन, अनुसन्धान र साहित्य र संस्कृतका क्षेत्रमा पुरस्कृत स्रष्टाहरूले पु-याएको योगदानको पनि उनले प्रशंसा गरे । नेपालको राजनीतिक आन्दोलन तथा खोज अनुसन्धान र लेखनकार्यमा योगदान गरेका व्यक्ति वा संस्था, नेपाली समाजको इतिहास, राजनीतिक आन्दोलनहरूको इतिहास, नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधि क्षेत्रको अनुसन्धान र खोजका तीन विभिन्न विधामा तीनजना व्यक्ति वा संस्थालाई पुष्पलाल राष्ट्रिय पुरस्कारद्वारा सम्मान गर्ने कार्यक्रम आर्थिक वर्ष २०६८/६९ देखि हरेक वर्ष मन्त्रालयले निरन्तर गर्दै आइरहेको छ । पुरस्कारहरूको राशि सम्मानपत्रसहित नगद एक लाख रूपैयाँ रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x