Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवाग्मती किनारमा झडप

वाग्मती किनारमा झडप


काठमाडौं । काठमाडौंको थापाथलीस्थित वाग्मती नदीको किनार अतिक्रमण गरेर बसेका सुकुम्बासीलाई हटाउने क्रममा सोमबार झडप भएको छ । झडपमा ठूलो संख्यामा काठमाडौं महानगरपालिकाका सुरक्षाकर्मी घाइते भएका छन् ।

महानगरले यसअघि नै सूचना जारी गरेर उक्त क्षेत्र खाली गर्न भनेको थियो । मंसिर ४ गतेभित्र खाली गर्न भने पनि नमानेपछि सोमबार महानगरको सुरक्षाकर्मी डोजर लिएर पुगेका थिए । बस्ती खाली गर्न डोजर आउने भएपछि केहीले सामान अन्यत्र सारे पनि केहीले आक्रमण सुरु गरेपछि सबै सुकुम्बासी संगठित भएर आक्रमण गरेका थिए ।

सुकुम्बासीहरुले कानुनले वर्जित खुकुरीलगायत घरेलु हतियार लिएर महानगरका सुरक्षाकर्मीमाथि आक्रमण गर्दा ३४ जना घाइते भएका छन् । आक्रमणकारीविरुद्ध महानगरले सोमबार नै प्रहरीमा किटानी उजुरी दिएको छ । यद्यपि प्रहरीले हतियार लिएर आक्रमण गर्ने कसैलाई पनि पक्राउ गरेको छैन । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आक्रमणकारीहरुको अनुहार र उनीहरुले बोकेका हतियार प्रस्ट नै देखिन्छ ।

उक्त सुकुम्बासी बस्ती हटाउन पटक–पटक प्रयास भए पनि राजनीतिक संरक्षणका कारण अहिलेसम्म कसैले पनि हटाउनसकेको छैन । सुकुम्बासीलाई अर्को विकल्प बनाएर मात्र हटाउनुपर्ने र काठमाडौंबाहिरबाट आएपछि घर नहुनेहरु सबै सुकुम्बासी हुन् भन्दै कि सबैलाई टहर हाल्न दिनुपर्छ या त्यहाँ टहरा हालेर बसेकाहरुलाई सो ठाउँबाट उठाउनुपर्छ भन्ने पक्षमा र विपक्षमा जनमत बाँडिएको छ ।

घाइते सुरक्षाकर्मी लगायत अन्यको थापाथलीकै नर्भिक अस्पतालमा उपचार भइरहेको छ । सोमबार साँझ महानगरका ममेयर बालेन शाह र उपमेयर सुनिता डंगोल नर्भिक अस्पतालमा पुगेर घाइतेहरुको उपचारबारे जानकारी लिँदै उपचारमा कुनै कमी नगर्न भनेका छन् ।

साँझ करिब ७ः४० बजेतिर पुगेका बालेन्द्र शाहले त्यहाँ उपचाररत घाइतेहरुको अवस्थाको विषयमा चिकित्सकसँग ब्रिफिङ लिएका थिए । सो क्रममा नर्भिक अस्पतालका इमरजेन्सी इञ्चार्ज तथा डेपुटी मेडिकल डाइरेक्टर डा. ओमर प्रधानले घाइतेमध्ये तीन जनाको टाउकोमा गहिरो चोट रहेका कारण अब्जर्भेसनमा राखिएको बताएका थिए ।

मेयर शाहले नर्भिकमा गम्भीर चोट लागेर उपचार गराइरहेका आफ्ना तीन नगरप्रहरी र उनका परिवारजनसँग पनि स्वास्थ्य अवस्थाको विषयमा कुराकानी गरेका थिए । करिब ३ मिनेट जति अस्पताल बसेर मेयर शाह फर्किएका थिए ।

उनी फर्किएको केहीबेरमै उपमेयर सुनिता डंगोल पनि अस्पताल पुगेकी थिइन् । उनले पनि नगर प्रहरीको स्वास्थ्य अवस्थाको विषयमा बुझेको नर्भिकले सोमबार साँझ जारी विज्ञप्तिमा जनाइएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया