Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसगरमाथा क्षेत्रको सवारी आवगमनमा सिस्नेरी पहिरो बाधक

सगरमाथा क्षेत्रको सवारी आवगमनमा सिस्नेरी पहिरो बाधक


सोलुखुम्बु । स्थलमार्गबाट पर्यटकीय जिल्ला सोलुखुम्बु भित्रिने तथा बाहिरिने एक मात्र नाका साल्मेस्थित सिस्नेरी पहिरोका कारण बारम्बर अवरुद्ध हुने गरेको छ । लगातारको वर्षासँगै ओखलढुङ्गा–सल्लेरी सडकअन्तर्गत सिस्नेरीमा निरन्तर गइरहने पहिरोले सवारी दैनिकजसो नै फस्ने गरेका छन्् ।

लगातारको वर्षाले निरन्तर पहिरो खस्न थालेपछि यातायातका साधन अवरुद्ध हुने गरेको स्थानीयको भनाइ छ । त्यस्तै, खुलेको समयमा पनि माथिबाट खस्ने पहिरोको जोखिम रहेको चालकहरूले बताएका छन् । पानी पर्नासाथ माथिबाट झर्ने पहिरोको कारण घण्टौँ सडक अवरुद्ध हुने गरेकोे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सो क्षेत्रको सडक यस वर्ष मात्रै दर्जनभन्दा बढी पटक अवरुद्ध भइसकेको प्रहरीको भनाइ छ । पानी पर्नासाथ सडक मार्ग बन्द भएपछि जिल्ला सदरमुकाम भित्रिने तथा बाहिरिने सवारीहरू अलपत्र पर्ने गरेका छन् ।

जिल्लाबाट काठमाडौं, विराटनगर तथा छिमेकी जिल्लाका लागि छुटेका र सदरमुकाम आउँदै गरेका मालबाहक तथा यात्रुबाहक सवारीहरू दैनिक घण्टौँ रोकिने गरेको सवारी चालक लक्ष्मण घतानीले बताए । जिल्ला आउने एक मात्र सडकमार्ग भएकाले यहाँ स्वदेशी नागरिकका साथै सगरमाथा क्षेत्र आउने विदेशी पर्यटकले समेत यही सडक हुँदै यात्रा गर्ने गर्दछन् । लगातारको पहिरोले सडकको मर्मत सम्भार तथा स्तरोन्ति गर्ने जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय हर्कपुर समेत यो कार्यबाट दिक्क भएको एक कर्मचारीले बताएका छन् ।

सडक खुलाउन जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन कार्यालय हर्कपुर र हाइड्रोपारसँग समन्वय गरेर स्काभेटर तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए । सडक बारम्बर अवरुद्ध भइरहने भएकाले खुलान तथा समन्वयका लागि सो क्षेत्रमा प्रहरी समेत तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया