Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधधमाधम समातिँदै तामाकोसी नदीका बालुवा तस्कर

धमाधम समातिँदै तामाकोसी नदीका बालुवा तस्कर


सुबास बस्नेत
दोलखा, भदौ १७
जिल्लाको तामाकोसी नदी किनारमा अवैधरूपमा बालुवा उत्खनन गरेर बिक्री गर्ने गतिविधि वर्षौंदेखि हुँदै आएको छ । पछिल्लो समय तामाकोसी नदि आसपासको बगर किनारमा बालुवा तस्करी गरेर बिक्री गर्ने व्यक्ति र सवारीसाधन दैनिकजस्तै समातिन थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखा प्रमुख प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार जिल्लाको तामाकोसी नदीबाट अवैध बालुवा उत्खनन गर्ने १४ वटा सवारीलाई नियन्त्रणमा लिएको छ । यसैगरी तामाकोसी नदीको विभिन्न स्थानमा गैरकानुनी रूपमा बालुवा उत्खनन् गर्ने ६ जना व्यक्ति पक्राउ परेका छन् । लकडाउनको समय जिल्लाभर बालुवा उत्खनन् कार्य दिनहुँ हुने गरेकाले नदीआसपासको क्षेत्रमा प्रहरीको निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

निगरानीकै क्रममा सोमबार राति ८ बजेको समयमा जिल्लाको उत्तरी क्षेत्र बिगु गाउँपालिका लादुकको तामाकोसी नदी किनाराबाट गैरकानुनी रूपमा बालुवा उत्खनन् गर्दै गरेका ४ ट्र्याक्टरसहित ४ चालकलाई इलाका प्रहरी कार्यालय सिंगटीले पक्राउ गरेको छ । यसअघि शुक्रबार राति ११ बजे भीमेश्वर नगरपालिका–५, स्थित तामाकोसी नदीमै बालुवा झिक्दै गरेको अवस्थामा एक एस्जाभेटर, दुई टिपर र ३ वटा सवारीसाधनसहित २ जना चालक पक्राउ परेका थिए ।

गौरीशंकर संरक्षण क्षेत्रको क्षेत्राधिकारभित्र पर्ने लादुकको ओलीटारस्थित तामाकोसी नदीबाट लोड गरिएको ट्र्याक्टरसहित पक्राउ पर्नेमा गौरीशंकर गाउँपालिका–८, खारेका २० वर्षीय नविन श्रेष्ठ, विगु गाउँपालिका–४, लादुकका २१ वर्षीय सदिल श्रेष्ठ, गौरीशंकर गाउँपालिका–१, जुँगुका २० वर्षीय छत्रबहादुर जिरेल र गुप्तेश्वर गाउँपालिका–७, रामेछापका २२ वर्षीय जीवन कार्की रहेका छन् ।

चालकसहित प्रहरीले लु ३ त ५१८६, लु ६ त २९५०, लु ३ त ९२६१ र लु ३ त ९७०३ नम्बरको ट्र्याक्टर पक्राउ गरेर गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय सिंगटीलाई बुझाइएको प्रनाउ पोखरेलले बताए । शुक्रबार राती टिपर चालक वैत्यश्वर गाउँपालिका–६, नाम्दुका रामजी घिमिरे र भीमेश्वर नगरपालिका–५ मथानीका मिलन बस्नेत प्रकाउ परेको प्रहरीले जनाएको छ । रातिको समय भएकोले एक्जाभेटर चालक भने फरार रहेको बताइएको छ ।

दुई महिनाको अवधिमा प्रहरीले तामाकोसी नदीको बालुवा उत्खनन गर्ने १४ वटा सवारी पक्राउ गरेको जनाएको छ । यता नदीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिले यसअघि भीमेश्वर नगरपालिका–५ बाट शुक्रबार राति बालुवा झिक्दै गरेको अवस्थामा पक्राउ परेको एक्स्काभेटरलाई तीन लाख र सोही समयमा बरामद भएका दुईवटा टिपरलाई जनही ३० हजारको दरले जरिवाना गरेको छ । गैरकानुनी ढंगले बालुवा उत्खनन गर्दा अहिले तामाकोसी नदीको स्वरूप नै परिवर्तन हुन थालेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x