Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधम्याग्दीमा ६१ प्रतिशत निजी आवास पुनर्निर्माण

म्याग्दीमा ६१ प्रतिशत निजी आवास पुनर्निर्माण


म्याग्दी ।
म्याग्दीमा ६१ प्रतिशत भूकम्पपीडितले निजी आवास पुनर्निर्माण सकेका छन् । वि.सं. २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्ये हालसम्म छ सय दुई जनाले आवास पुनर्निर्माण गरेका हुन् ।

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख नारायण ढकालका अनुसार नौ सय ८१ लाभग्राहीले ५० हजारका दरले पहिलो किस्ता अनुदान लगेका छन् । छ सय ६५ जनाले दोस्रो किस्ता लगेका छन् भने सम्झौता गरेका ८३ जनाले अनुदान लगेका छैनन् । सम्झौता गरेर पहिलो किस्ता अनुदान नलैजाने र पुनर्निर्माण सुरु नगर्नेलाई लाभग्राहीको सूचीबाट हटाउने प्रक्रिया अघि बढाउने तयारीमा रहेको कार्यालय प्रमुख ढकालले बताए । भूकम्पबाट कम प्रभावित जिल्लाको सूचीमा पर्ने म्याग्दीमा २०७३ चैतदेखि सम्झौता र २०७४ मंसिरदेखि पीडितको खातामा अनुदान पठाएर निजी आवास पुनर्निर्माण सुरु गरिएको थियो ।

दोस्रो किस्ताबापत डीपीसी गरेपछि एक लाख ५० हजार र भवन बनाएपछि अन्तिम किस्ताबापत एक लाख अनुदान उपलब्ध गराउने कार्यविधि छ । प्राविधिक आउनुअघि बनेका एक सय ४२ वटा घरका धनीलाई गत वर्ष एकमुष्ट दुई लाख ५० हजारका दरले भुक्तानी गरिएको थियो । उनीहरुले यसअघि ५० हजारका दरले अनुदान लगेका थिए । छुट तथा पुनः सर्वेक्षणबाट थपिएका एक सय ८० जनामध्ये एक सय ४० जनासँग सम्झौता भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ मंसिर मसान्तसम्म सम्झौता र २०७७ पुस १५ गतेभित्र पहिलो किस्ता अनुदान लगिसक्नुपर्ने समयतालिका बनाएको थियो । समयतालिकाअनुसार आवासको डीपीसी (जग बसाल्ने) काम सकेर दोस्रो किस्ताको लागि २०७७ माघ मसान्त र अन्तिम तथा तेस्रो किस्ता भुक्तानीका लागि २०७८ वैशाख मसान्तभित्र स्थानीय तहमा निवेदन पेश गर्नुपर्छ । वि.सं. २०७३ पुसमा इञ्जिनियरहरु परिचालन गरेर एक हजार तीन सय ५० घर सर्वेक्षण गरिएको थियो । सर्वेक्षण गरिएकामध्ये नौ सय ८१ लाभग्राही पहिचान भएका हुन् । पहिलो किस्ता लगेर दोस्रो किस्ता लिन बाँकीको संख्या तीन सय १६ छ ।

चार वर्षअघि अनुदान पाए पनि जग्गा व्यवस्थापनलगायत समस्याले गर्दा बल्ल अहिले घर पुनर्निर्माण सुरु गरेको अन्नपूर्ण गाउँपालिका–२ कटुञ्जेका डिलबहादुर राम्जालीले बताए । राम्जालीको कटुञ्जेस्थित घर भूकम्पले जीर्ण बनाएकाले ठूलोबगरमा जग्गा व्यवस्थापन गरेर नयाँ घर निर्माण सुरु गरेका छन् । पहिलो किस्ता लगेर घर पुनर्निर्माण सुरु गरी दोस्रो किस्ता लिनै नआएका लाभग्राहीका कारण पुनर्निर्माणमा चुनौती देखिएको छ । ‘पुनर्निर्माण सुरु नगरेकालाई अनुदान फिर्ता गर्न स्थानीय तहमार्फत ताकेता गरिएको छ’, कार्यालय प्रमुख ढकालले भने, ‘पहिलो र दोस्रो किस्ताको अनुदान लिनेको अन्तर घट्दै गएकाले आगामी वैशाख महिनाभित्र निजी आवास पुनर्निर्माण सक्ने लक्ष्य पूरा हुने आशामा छौँ ।’

भूकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगङ्गा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरी अन्यत्र जग्गा नभएका तीन घरधूरीलाई जग्गा खरिदका लागि थप दुई लाख उपलब्ध गराइएको छ । प्राधिकरणमार्फत सञ्चालित १८.५४ किलोमिटर दूरीको घारखोला–चित्रे सडक स्तरोन्नति आयोजनाको हालसम्म करिब ५० प्रतिशत भौतिक प्रगति भएको छ । पोखरेबगर–पाउद्वार सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । २५ मिटर लामो पुल निर्माणको काम ठेक्का सम्झौता भएको एक वर्षपछि सुरु भएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया