Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभीमदत्तमा पाँच सय जनाले रोजगारी पाउने

भीमदत्तमा पाँच सय जनाले रोजगारी पाउने


कञ्चनपुर ।
भीमदत्त नगरपालिकामा यसवर्ष प्रधानमन्त्री रोजागर कार्यक्रमअन्तर्गत झण्डै पाँच सय जनाले रोजगार पाउने भएका छन् । प्रधानमन्त्री रोजागर कार्यक्रमअन्तर्गत चार सय ७६ जनालाई एक सय दिन रोजगार दिन लागिएको हो । भीमदत्त नगरपालिकामा तीन वर्षदेखि प्रधानमन्त्री रोजागर कार्यक्रम सञ्चालनमा छ । यस वर्ष कार्यक्रमका लागि दुई करोड ४६ लाख बजेट आएको छ । नगरपालिकाले योजना छनैट गरी कार्यान्वयन चरणमा लगेको जनाएको छ । यसवर्षका लागि छनौट गरिएका दुई दर्जनभन्दा बढी योजनामध्ये तीन योजनाको काम अघि बढेको र अन्य योजना सुरु गर्नका लागि प्रक्रिया थालिएको प्रधानमन्त्री रोजागर कार्यक्रमका रोजगार प्रमुख केशव विष्टले बताए ।

रोजगार प्रमुख विष्टले कार्यक्रमअन्तर्गत कार्यक्रममा सहभागी हुने बासिन्दालाई दैनिक पाँच सय १७ रूपैयाँका दरले ज्याला दिइने बताए । सरकारी नियमअनुसार उक्त ज्याला तोकिएको उनको भनाइ छ । भीमदत्त नगरपालिकाका सबै १९ वडामा दुई हजार एक सय २८ जना बेरोजगार सूचीकृत गरिएका थिए । उनीहरूमध्ये यसवर्ष चार सय ७६ जनालाई मात्रै सय दिनको रोजगार दिन लागिएको हो ।

उक्त कार्यक्रमअन्तर्गत भीमदत्त नगरपालिका १ मा मणिदीप धाममा पदमार्ग निर्माण सुरु गरिएको छ । केही दिनअघि भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले पदमार्ग निर्माण शिलान्यास गरेका थिए । एक सय मिटर लम्बाइको पदमार्ग निर्माणका लागि २२ लाख ५८ हजार बजेट छुट्याइएको छ । बाराकुण्डाको श्रीकृष्ण टोलमा कुलो निर्माणको योजना छ ।

भीमदत्त नगरपालिका ३ मा खेल मैदान र विष्णु खानेपानी योजनाको पाइपलाइन निर्माणका लागि प्रधानमन्त्री रोजागर कार्यक्रमअन्तर्गत योजना परेको छ । भीनपा ५ मा कार्यक्रमअन्तर्गत भुजेला साइपनदेखि शिव मन्दिरसम्मको क्षेत्रमा नाली निर्माण र वृक्षारोपण गर्ने योजना छ । यसैगरी सुकासालस्थित विश्वकर्मा निर्माण कार्य पूरा गर्न पनि बजेट छुट्याएको छ । भीनपा ६ मा कार्यक्रमअन्तर्गत वनगाउँ खोलामा तटबन्धको योजना अघि सारिएको छ । खोलाको दुवैतिर तटबन्ध निर्माण गर्न बजेट विनियोजन गरिएको छ । यस वडामा त्रिपूरा मन्दिर पूर्वाधार निर्माण कार्य गरिनेछ ।

चुरे क्षेत्रको डाडाताल र खन्या खोला जाने बाटो निर्माणका लागि वडा नं. ७ मा योजना छनौट गरिएको छ । भीनपा ८ मा खेल मैदान र गौरीदेवी मन्दिर निर्माणका लागि बजेट छुट्याइएको छ । भीनपा ९ मा कार्यक्रमअन्तर्गत तुमडानीदेखि ब्रह्मदेब हुँदै खल्ला मुसेट्टीसम्मको बाटो मर्मत गरिने भएको छ । ब्रह्मदेबदेखि खल्ला मुसेट्टीसम्म बाटो निर्माण गरी पहिलो पटक चारपाङ्ग्रे सवारी सञ्चालन गरिएका छन् । यसैगरी वडा नं. ९ मा सरस्वती मन्दिर निर्माण र जगन्नाथ मन्दिर निर्माणको योजना पनि कार्यक्रम समावेश गरिएको छ ।

भीनपा ११ मा भुजेला खोलामा बाँध निर्माणका लागि बजेट छुट्याइएको छ । यसैगरी क्लबको घर निर्माणका लागि कार्यक्रमअन्तर्गत योजना छनौट गरिएको छ । भीनपा १२ मा वडाभित्रका सबै सिँचाइ कुलो मर्मत गरिने भएको छ । महाकाली नदी किनारका तटीय क्षेत्रमा तटबन्ध निर्माण र वृक्षारोपणका लागि वडा नं. १३ मा योजना छनौट गरिएको छ । भीनपा १४ मा बाल उद्यानमा वृक्षारोपण र शान्ति आधारभूत विद्यालयको अधुरो भवन निर्माणको योजना छनौट गरिएको छ ।

भीनपा १५ ले जाली भरान र तटबन्ध निर्माणको योजना छानिएको छ । भीनपा १६ मा नाली निर्माण र मर्मतको योजना छनौट गरिएको छ । कार्यक्रमअन्तर्गत भीनपा १७ मा पाँचवटै टोलका सिँचाइ टर्सरीहरू मर्मत गरिनेछन् । भीनपा १९ मा सिद्धनाथ आधारभूत विद्यालयको भवन निर्माण र हरियाली मार्ग निर्माणमा बजेट छुट्याइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया