Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगल्याङका विद्यार्थीहरू कृषिमा

गल्याङका विद्यार्थीहरू कृषिमा


केपी खनाल
गल्याङ, माघ २१
अलिक परबाट हेर्ने हो भने कुनै क्याम्पसका विद्यार्थी वनभोज (पिकनिक) गएजस्तो देखिन्छ तर नजिक गएर हेर्ने हो भने कोही विद्यार्थीहरू प्लास्टिकको थैली (पोलीब्याग)मा माटो भरिरहेका छन्, कोही विद्यार्थी माटो चालिरहेका छन् । कोही मल बोकिरहेका छन् त कोही, माटो र मललाई मिलाउने काममा व्यस्त छन् । अनि कोही प्लास्टिकमा बीउ रोपिरहेका छन् भने कोही प्रशिक्षकको कुरा सुनिरहेका छन् । बारीमा काम धमाधम काम भैरहेको छ भने बारीसँगसँगै तलतिर धुँवा आइरहेको छ, जहाँ विद्यार्थीहरूका लागि नास्ता (चाउचाउ) पाकिरहेको रहेछ । यो दृश्य स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ११ कट्टीको हो ।

स्याङ्जाको गल्याङ बहुमुखी क्याम्पसका एक सय २५ जना विद्यार्थी यहाँ कृषि काममा व्यस्त भएका हुन् । त्यसो त उनीहरूको अध्ययनको विषय कृषि होइन । तर, अध्ययनसँगसँगै कृषि पेशाबाट पनि केही गर्न सकिन्छ भन्ने विश्वासका साथ उनीहरू कृषि काममा जुटेका छन् । कृषि क्षेत्रलाई महत्व दिएको स्याङ्जाको गल्याङ नगरपालिकामा रहेको गल्याङ बहुमुखी क्याम्पसका विद्यार्थीहरूले कृषि समूह बनाएर नै काम थालेका हुन् । गाउँगाउँमा कृषि समूह गठन भई काम भैरहेको बेला क्याम्पसमै पनि गल्याङ बहुमुखी क्याम्पस अर्थात् जीएमसी कृषि तथा पशुपालन समूह गठन भएको छ । यही समूहको आयोजनामा क्याम्पसका विद्यार्थीहरूका लागि गरिएको अदुवा तथा तरकारी खेतीसम्बन्धी प्रशिक्षण कार्यक्रमअन्तर्गत सोमबारको प्रयोगात्मक कक्षामा विद्यार्थीहरू बारीमा भेटिएका हुन् ।

तालिमअन्तर्गत प्रशिक्षार्थी विद्यार्थीहरूलाई अदुवा लगाउने तरिका, लाग्ने रोगहरूको रोकथामको उपाय, बीउबिजन लगाउने तरिकाबारे प्रशिक्षण दिइएको छ । अदुवा विशेषज्ञ शिव न्यौपाने, कृषि शाखाप्रमुख शिव ढकाल, कृषि प्राविधिक शिव सुवेदीसहितले अदुवा र अन्य बीउबिजन लगाउने तरिकाबारे सिकाएका छन् । पहिलो चरणमा अदुवा, करेला, फर्सी, काँक्रा, घिरौंला, लौका, धनियाँ, खुर्सानी, तथा सागको बीउ रोप्ने तरिका सैद्वान्तिक र प्रयोगात्मक तरिकाले सिकाइएको छ ।

प्रशिक्षणको आयोजक जीएमसी कृषि तथा पशुपालन समूहका अध्यक्ष शिव भट्टराईले ती सबै बेर्नाहरू विद्यार्थीलाई नै वितरण गरिने जानकारी दिए । प्रशिक्षक तथा गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिव ढकालका अनुसार झण्डै एक महिनामा यी बीउहरू बिरुवाको रूपमा रोप्न तयार हुनेछन् । २५ किलोग्राम अदुवासँगै, एक हजारवटा पोलिव्यागमा विभिन्न लहरे तरकारीका बिरुवा र प्लास्टिक ‘ट्रे’मा कोकोपिट राखी खुर्सानीका बीउ लगाइएको छ ।

गल्याङ नगरपालिका कृषि शाखाप्रमुख ढकालका अनुसार नगरपालिकामा झण्डै तीन सयभन्दा बढी समूह दर्ता छन् । यी समूहहरूले आ–आफ्नै ढंगले आवश्यकताअनुसार काम गरिरहेको उनको भनाइ छ । ढकालले भने, ‘कुनै समूहले बाख्रापालनलाई जोड दिइरहेका छन् भने कुनै समूहले तरकारी खेतीलाई । यस्तै कुनै समूहले अदुवा खेती र अन्य कामहरू गरिरहेका छन् ।’ माटो र क्षेत्र सुहाँउदो उत्पादनमा लाग्न आफूहरूले ती समूहलाई प्रोत्साहन गरिरहेको उनको भनाइ छ । विद्यार्थीले गर्ने यस्ता कार्यक्रमले युवाहरूमा प्रोत्साहन जगाउने ढकालले बताए ।

बिहानीको समय क्याम्पसमा बिताइरहेका विद्यार्थीहरूले दिउँसो र खाली रहेको समयमा उत्पादनमा जोडिन सक्छन् भन्ने मान्यताका साथ क्याम्पसमा पनि कृषक समूह गठन गरिएको समूहका अध्यक्ष शिव भट्टराईले बताए । ‘पोलिब्याग’मा माटो भर्दै उनले बिरुवा उत्पादन गर्न सिकेको कुरा सधैं काम लाग्ने भएकाले विद्यार्थीका लागि यस्तो अवधारणा ल्याएको बताए । घरमा आवश्यक पर्ने खाद्यान्नसहित तरकारीलगायतका कृषि उपजका लागि परनिर्भरताको अन्त्य गर्दै पछि व्यावसायिक कृषक र पशुपालक बन्न सकिने भट्टराईको भनाइ छ ।

अदुवा तथा तरकारी खेती प्रशिक्षण कार्यक्रमको उद्घाटनमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले विद्यार्थीहरूले पुुस्तकको ज्ञान लिएर मात्रै नहुने भन्दै खाली रहेको समयको सदुपयोग गर्नका लागि पनि कृषि क्षेत्रमा लाग्नुपर्ने बताए । उनले भने, ‘दिनभर मोवाइल चलाएर समय बिताउनुभन्दा एउटा बोट खुर्सानी लगाउनु पनि हितकर हुन्छ ।’ सबै व्यक्ति–व्यक्ति आत्मनिर्भर बन्दै गएपछि मात्रै राष्ट्रियता बलियो हुने भएकाले सबैले कम्तिमा आफ्नो परिवारका लागि उत्पादन गर्न सकिने नगरप्रमुख अधिकारीले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया