Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआयोगद्वारा राष्ट्रपतिसमक्ष आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेस

आयोगद्वारा राष्ट्रपतिसमक्ष आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेस


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेस गरेको छ । नेपालको संविधानको धारा २९४ बमोजिम आयोग २०७७ साउन १ गतेदेखि २०७८ असार मसान्तसम्म सम्पादन गरेका काम कारवाहीहरुको पन्धौँ वार्षिक प्रतिवेदन आयोगले सोमबार राष्ट्रपतिसमक्ष पेस गरेको हो ।

आयोगकोे वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचनमा बढीभन्दा बढी मतदाताहरूको सहभागिता गराउनेतर्फ कार्य गर्न, निर्वाचन प्रणालीलाई लैंगिकमैत्री बनाउन, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन सुझाव दिएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

संविधान तथा प्रचलित कानुनमा तोकिएको समय सीमाभित्र नै सबै निर्वाचन सम्पन्न गर्न जरूरी भएकोले आवधिक तथा अन्य निर्वाचनका लागि आयोग मनोवैज्ञानिक तथा भौतिक रुपमा तयारी अवस्थामा रहनुपर्नेमा राष्ट्रपतिले जोड दिएकी थिइन् । प्रतिवेदन पेस गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिवेदन वर्षमा भए गरेका निर्वाचनसम्बन्धी नीति एवं कानुनहरूको तर्जुमा, राजनीतिक दल दर्ता र सोको व्यवस्थापन, मतदाता नामावली संकलन तथा अद्यावधिकको अवस्था, मतदाताको संख्यात्मक विवरण, राष्ट्रियसभा सदस्यको उपनिर्वाचनलगायतका विषयमा जानकारी गराएका थिए ।

संवैधानिक व्यवस्थाअनुसार आसन्न स्थानीय तहलगायतका निर्वाचन सञ्चालन एवं व्यवस्थापनलाई लक्षित गरी आयोगबाट सम्पादन भएका मतदाता नामावली दर्ता, मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकन लगायतका विषयमा समेत उनले जानकारी गराए ।
आयोगको तर्फबाट पेस भएको वार्षिक प्रतिवेदनमा आयोगबाट सम्पादित गरेका काम कारबाहीको सारांश, निर्वाचन आयोगसम्बन्धी व्यवस्था, निर्वाचन सम्वन्धी नीतिगत तथा कानुनी व्यवस्था, बैठक व्यवस्थापन, आयोगको सांगठानिक एवं प्रशासकीय कार्य व्यवस्थापन, योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानुन तथा राजनीतिक दल तथा बजेट कार्यान्वयनलगायतका विषयहरू समावेश गरिएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम प्रतिवेदन पेस
यस्तै निर्वाचन आयोगले सोमबार नै राष्ट्रपति समक्ष राष्ट्रियसभा सदस्य निर्वाचन, २०७८ को प्रतिवेदन पनि पेस गरेको छ । राष्ट्रियसभा निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम गते माघ १२ गते सम्पन्न भएको निर्वाचनको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष पेस गरेको हो ।

संवैधानिक व्यवस्थाबमोजिम आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन समयमा नै सफलताका साथ सम्पन्न गरेकोमा राष्ट्रपतिले आयोगलाई धन्यवाद दिइन् । कोभिड १९ महामारीका बीचमा समेत राष्ट्रियसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोग सफल भएको उनको भनाइ थियो ।

प्रतिवेदन पेस गर्दै प्रमुख आयुक्त दिनेश कुमार थपलियाले आगामी २०७८ फाल्गुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यको निर्वाचन प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएकोमा नौ राजनीतिक दलका ४३ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको बताए । उक्त निर्वाचनमा सातै प्रदेशका कुल २०२५ मतदातामध्ये २००७ मतदाताले मतदान गरेकामा सोही दिन साँझ मतगणना गरी निर्वाचित १९ राष्ट्रियसभा सदस्यहरुको नतिजा समेत प्रकाशन गरिएको उनले जानकारी गराए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x