Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधखुम्बुमा पर्यटकको घुइँचो

खुम्बुमा पर्यटकको घुइँचो


सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुन थालेको छ । असोज महिनामा मात्रै १२ हजार चार सय ५१ जना पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक छ ।

सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको छ । सगरमाथालगायतका हिमाली दृश्यको अवलोकन गर्ने पर्यटकको संख्या बढेसँगै यस क्षेत्रका व्यवसायीहरु उत्साहित बनेका छन् । यतिबेला खुम्बु क्षेत्र पुग्ने पर्यटकहरु दिनप्रतिदिन बढिरहेका छन् । ट्रेकिङको सिजन सुरु भएसँगै पर्यटन व्यवसायीहरु पनि लुक्ला पुगेका छन् । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायीहरु पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् । नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाका अनुसार होटल व्यवसायीहरु व्यवसायमा निकै व्यस्त छन् भने सो क्षेत्रको बाटो, चौतारा तथा होटल लजहरु पर्यटकले नै भरिभराउ बनेका छन् । दशैँको बेला खराब मौसमका कारण उडान नहुँदा पर्यटक आउन सकेका थिएनन् । मौसममा सुधार भएसँगै पर्यटकको लर्को लाग्न थालेको हो । लुक्लामा अहिले दैनिक ३२ वटाभन्दा बढी उडान हुनेगरेको छ । उडानसँगै व्यस्ता बढेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताए ।

खुम्बुमा वर्षको दुई पटक वैशाख, जेठ, असार र असोज कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । जोरसल्ले चेकपोष्टका कर्मचारीहरुमा पनि व्यस्तता बढेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायको भनाइ छ । उनले भने, ‘व्यस्तताको त कुरै नगरौँ न, टुरिस्टहरु धमाधम खुम्बु भित्रिँदै छन् । निकुञ्जका चेकपोस्टका कर्मचारीहरुमा पनि अत्यन्त व्यस्तता बढेको छ, कुनै दिन त उनीहरुलाई खान फुर्सद समेत नभई इन्ट्री गर्नमा जुटेका छन् ।’ लामो समय कोरोना कहरको चपेटामा परेको खुम्बुको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्किएसँगै होटल, व्यवसायीदेखि पर्यटन व्यवसायीहरु उत्साहित छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया