Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबिलबिनाका सुनका गहना बिक्री गर्नेहरु पक्राउ

बिलबिनाका सुनका गहना बिक्री गर्नेहरु पक्राउ


काठमाडौं । विराटनगरमा बिलविजक बिनाका सुुनका सामान बिक्री वितरण तथा ओसारपसार गर्नेहरु पक्राउ पर्न थालेका छन् । प्रहरीले व्यवसायी केएल दुगडका लेखापाल विनोदकुमार मुरारकाका दम्पतीसहित अन्य व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले गत शुक्रबार दिउँसो विशेष सूचनाको आधारमा मारुती गाडीमा सुनसहित भारत हिंडेका मुुरारका दम्पत्तिलाई विराटनगर महानगरपालिका–१५ बाट पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले मुरारकासहित उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारका र चालक विराटनगर दुईका ५२ वर्षीया विमल कामतलाई पक्राउ गरेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (रिट)बाट परिचालन भएको प्रहरी वरिष्ठ नायब निरीक्षक फिरोज चौधरीसहितको प्रहरी टोलीले विराटनगरबाट रानीतर्फ जाँदै गरेको को. २ च १४९५ नम्बरको इको भेनमा लुकाइछिपाइ राखेको अवस्थामा सुन र चाँदी बरामद गरेको हो । प्रहरीले भारतीय रुपैयाँ सात लाख ९५ हजार दुई सय ८९ रुपैयाँ पनि उनीहरूको साथबाट बरामद गरेको छ । बरामद गरिएको सामानको मूल्य करिब ९० लाख रहेको छ ।

उनीहरुको साथबाट प्रहरीले करिब ५४ तोलाका सुनका गहना, चाँदी र साढे सात लाख भारतीय रकमसहित नियन्त्रण लिएको जनाएको छ । बिलविजक विनाका सुन र गहना भारततिर लान लागेका भारतको फारवीसगञ्जका स्थायी वासिन्दा मुुरारका दम्पत्तिलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय सुुनसरीलाई बुझाएको छ । मुरारका ३२ वर्षदेखि दुगडको कम्पनीमा काम गर्दै आएका थिए । आफूले जम्मा गरेको सुन, चाँदी तथा गरगहनाहरू छोरा र छोरीलाई भागबण्डा गर्दिन भारत लिएर गएको उनले प्रहरीलाई बयान दिएका छन् । अवैध साढे सात लाख भारतीय रुपैयाँ भने स्वास्थ्य उपचारका लागि लगेको उनको बताएको प्रहरीले जनाएको छ ।

यस्तै गत सोमबार राति पनि प्रहरीले कारमा सुनका गहना सहित अन्य दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर महानगरपालिका–९ ठाकुरबारी रोडबाट ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विक पक्राउ गरेको जनाएको छ । सुनसरीको इटहरी उपमहानगर पालिका–१० मा बस्दै आएका उनीहरू बागमती प्रदेश ०१–०२८ च २८४६ नम्बरको कारमा सवार थिए । वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी विजय श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले राति ९ बजे उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले रातिको समयमा विराटनगरको ठाकुरबारी रोडमा रहेको आरके जेम्स ज्वेलर्समा गहना बेच्न खोज्दै गर्दा शंका लागेपछि खानतलासी गर्दा उनीहरुको साथबाट पोतेमा प्रयोग गरिने विभिन्न डिजाइनका दुई सय ३९ थान सुनका गहना बरामद भएको थियो ।

उनीहरुको साथबाट करिब ११ लाख रुपेयाँ मूल्य बराबरको नौ तोला ४३ लाल सुन बरामद गरिएको जनाएको छ । प्रहरीले उनीहरुलाई पनि राजस्व अनुसन्धान कार्यालय सुनसरीको जिम्मा लगाएको छ । प्रहरीले राजस्व अनुुसन्धान कार्यालयमा बुुझाएका विकद्वयले इटहरीमा नै आफूहरूको सुनका गहना बनाउने कारखाना रहेको हुुँदा विराटनगरका व्यापारीले अर्डर गरे अनुसारको सुनका गहना तयार पारेर ब्यवसायीकोमा बिक्रीका लागि दिएको बयान दिएका छन् । उनीहरूले आफूहरु गहना बनाउने र मजदुरी मात्रै लिने गरेको दाबी गरेका छन् ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया