Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकाबैरेनी एकीकृत बस्ती आयोजना: जग्गाधनीलाई जग्गा र पुर्जा वितरण गरिने

बैरेनी एकीकृत बस्ती आयोजना: जग्गाधनीलाई जग्गा र पुर्जा वितरण गरिने


तनहुँ । व्यास नगरपालिकाद्वारा सञ्चालित ‘बैरेनी जग्गा एकीकरण’ आयोजनाअन्तर्गतका जग्गाधनीलाई जग्गा र अस्थायी जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरिएको छ । व्यास–१० स्थित बैरेनीमा कुल एक हजार पाँच सय ३७ रोपनीमध्ये पहिलो चरणमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती विस्तारका काम भइरहेको हो ।

अबको दुई वर्षभित्र जग्गाधनीलाई स्थायी जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्यका साथ निर्माण अघि बढाइएको आयोजना प्रमुख इञ्जिनियर रवीन्द्र मुलले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा विकासित निजी घडेरी ६९ दशमलव १७ प्रतिशत, बाटो र ढल निर्माणमा १८ दशमलव ९४ प्रतिशत, खुला क्षेत्र सार्वजनिक पाँच दशमलव ८८ प्रतिशत, बिक्रीयोग्य जग्गा चार दशमलव ७९ प्रतिशत र खोल्सी तथा रिटेनिङ पर्खालमा एक दशमलव १२ प्रतिशत आयोजनाको भू–उपयोगका लागि छुट्याइएको छ । त्यसैगरी, दोस्रोचरणमा पक्की नाला कभर सडकसहित कालोपत्र, ढल व्यवस्थापन, आयोजना क्षेत्रमा एक सय आठ वटा विद्युत् पोल निर्माण गरी प्रसारण लाइनका लागि विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रसँग समन्वय गरिनेछ ।

त्यसैगरी आयोजनाअन्तर्गत सडकका दायाँबायाँ सडक सञ्जालसँगै खानेपानीका लागि पाइप बिच्छ्याइनुका साथै उपभोक्ता समिति भवन निर्माण गर्ने योजना रहेको आयोजना प्रमुख मुलले बताए । बिक्रीयोग्यमा रहेको चार दशमलव ७९ प्रतिशत अर्थात् करिब तेह्र रोपनी जग्गा पूर्वाधार निर्माण लागि छट्याइएको र सो जग्गा बिक्री गरेर नगर विकास कोषसँग लिएको ऋण तिर्ने योजना छ । विसं २०७७ मा नगर विकास कोषको प्राविधिक सहयोगमा बैरेनी जग्गा एकीकरण विकास आयोजनाको सुरुवात गरिएको थियो । विसं २०७८ फागुन २ गते राजपत्रमा आयोजना स्वीकृतिको सूचना प्रकाशित भएपछि निर्माण कार्यले गति लिएको हो ।

एकीकृत बस्ती आयोजनाको निर्माण सम्झौता अगावै सम्पन्न गर्नेमा भक्तपुरपछिको व्यास नगरपालिका अग्रसर बनिरहेको उनले बताए । उक्त आयोजनामा नगर विकास कोषको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ । कुल १३ करोड रुपैयाँमध्ये कोषले नौ करोड १० लाख ५० हजार चार सय रुपैयाँ र नगरपालिका तथा गण्डकी प्रदेशको चार करोड रुपैयाँ लगानी छ । ‘नगर विकास कोषसँग लिएको ऋण भुक्तानी गर्नुपर्ने अवधि छ वर्षको रहेको छ भने वार्षिक ब्याजदर आठ प्रतिशतमा ऋण लगानी गरेको छ । विसं २०८१ सम्म आयोजनाको निर्माण अवधि रहेको छ’, उनले भने, ‘निर्माण अवधिभर लिएको ऋणको कुनै ब्याज र किस्ता तिर्नुपर्दैन ।’

विसं २०८५ भित्र आयोजना सम्पन्न गर्ने सम्झौता रहेपनि २०८२ भित्र सम्पन्न गर्ने तरिकाले काम भइरहेको उनको भनाइ छ । बस्तीले साँघुरिँदै गएको दमौलीमा एकीकृत बस्ती बसाउन दीर्घकालीन सोचका साथ नगरपालिका अघि बढेको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । ‘दमौली बजार र भादगाउँ क्षेत्र बस्ती विस्तारले साँघुरिएको छ’, उनले भने, ‘भावी पुस्ताका लागि पनि बस्ती बसाउन नगरपालिकाले नगर विकास कोषसँग हातेमालो गर्दै अघि बढेको हो ।’


क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ट्याग : #page 3

तपाईको प्रतिक्रिया