Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी प्रदेशमा २० करोड लगानीको प्रस्ताव

कोशी प्रदेशमा २० करोड लगानीको प्रस्ताव


विराटनगर । लगानी व्यवस्थापन क्षेत्र सम्वद्ध संस्थाहरूले कोशी प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नवउद्यमीहरूको उद्यमशिलताको विकास र प्रवर्द्धनका लागि करीव २० करोड बराबरको लगानी उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रममा उनीहरूले नेपालमै बसेर नवउद्यम प्रवर्द्धनमा लागेका उद्यमीहरूलाई थप प्रोत्साहन गर्ने उदेश्यले आवश्यक लगानीको प्रतिवद्धता जनाएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड, प्रदेश लगानी प्राधिकरण, नेपाल कृषि बजार विकास कार्यक्रम, स्वीस कन्ट्याक्ट लगायतको सहभागीतामा आयोजित लगानी सम्मेलनमा चिया, माछा, अलैंची, अचार लगायतका कृषि क्षेत्रसँग सम्बन्धित उद्योग स्थापना गरेका नवउद्यमीहरूलाई आवश्यक पर्ने थप लगानीको प्रतिवद्धता प्राप्त भएको हो । कार्यक्रममा आध्यन्त फण्ड अन्र्तगत आठ महिनाको अवधिमा उद्यम प्रवर्द्धन गरिएका आठ जना नवउद्यमीहरूले आफ्नो उद्यमशिलताको क्षेत्र, लगानी र अवसरहरूबारे जानकारी गराएका थिए ।

कार्यक्रममा इलामको रक्तकाली टि इस्टेट प्रालिका दिनेश माझी, विराट समूहका बिष्णु आचार्य, दिव्यदृष्टि वेनेरेसन एण्ड एग्रो कन्सर्न प्रालि बिष्णु पोखरेल, शिवबाबा आचार जुस उद्योगका दिनानाथ सिवाकोटी, एग्री सेन्टर प्रालि झापाका चन्द्रप्रसाद बस्नेत, मोङ्सुद कृषि फर्म प्रालिका रोबिन राई, रिभर्स भेण्डिङ मेसिन नेपाल प्रालिका जोसेफ श्रेष्ठ र खेतीपाटी अर्गानिक्सका प्रकृति गौतमले आफ्नो अनुभव सुनाएका थिए । यस्तै कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको राजनीतिक स्थायित्व नभएका कारण आर्थिक क्षेत्रको विकास समेत प्रभावित भएको बताए । सवै क्षेत्रको सहयोगमा कृषि र पर्यटन क्षेत्रलाई हुनेपर्नेमा उनले जोड दिएका थिए ।

हिमाली भेगमा उत्पादन हुने उच्च मुल्यका विशेष उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउनका लागि समेत यस क्षेत्रमा काम गर्ने सरोकारवालाहरूले नयाँ योजनाहरू अघि सानुपर्ने सुझाव दिएका थिए । सहभागीबाट ती सुझाव आएपछि मुख्यमन्त्री कार्कीले सरकारको तर्फबाट अन्य क्षेत्रलाई कृषिलाई पनि थप सहयोग गर्न आफु प्रतिवद्ध रहेको बताए । हिमाली र पहाडी क्षेत्रबाट बढ्दो दरमा भइरहेको बसाई सराईलाई कम गर्नका लागि समेत कृषि क्षेत्रमा लगानी बढाउँदै लैजानुपर्ने भन्दै मुख्यमन्त्रि कार्कीले बाटो, पुल जस्ता पूर्वाधारको विकासले मात्रै प्रदेशको विकास नहुने बताएका थिए ।

कार्यक्रममा महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्यमशिलताको विकास र नविनतम् खोजलाई प्रवद्र्धन गर्दै उनीहरूको क्षमता विकासमा निजी क्षेत्रले सँधैभरी सहयोग गर्दै आइरहेको बताए । उनले राम्रो योजना बनाएर काम गर्न चाहने युवा तथा महिला उद्यमीहरूलाई महासंघले समेत प्रोत्साहित गर्दै आइरहेको जानकारी दिए । स्वदेशमै उद्यमशिलताको विकास भएको खण्डमा असंगठित विदेशी लगानी समेत निरुत्साहित हुने उनको भनाई थियो । उद्यमशिलताको प्रर्वद्धनका लागि राम्रा योजनाहरू छनौट गरेर ल्याउनका लागि अध्यक्ष राउतले नवउद्यमीहरूलाई आग्रह पनि गरेका थिए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शीपको विकास बिना मुलुकको विकास नहुने भन्दै युवा जनशक्तिमा तालिमको अभाव भएकोले दक्षताबिनै विदेशिने र विदेशमा समेत राम्रो अवसरबाट बञ्चीत हुनुपर्ने बताए । स्वदेशमै उद्यमशिलताको क्षेत्रमा लाग्नुपर्नेमा उनले जोड दिए । सरकारले विदेशबाट ज्ञान शीप प्राप्त गरेर फर्किएका युवाहरूलाई केही गर्नका लागि प्रोत्साहन गर्नुपर्ने र स्थानीय सरकारको तर्फबाट आफु पनि सहकार्यका लागि तयार रहेको उनको भनाई थियो । किसानले आफ्नो उत्पादनको मुल्य आफैं तोक्ने अवस्था सिर्जनाका लागि पनि स्वदेशमै उद्यमशिलताको विकास हुँदै जानुपर्ने उनले बताए ।

प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.सरोज कोइरालाले उद्योग र उद्यमशिलताको क्षेत्रमा अपार सम्भावनाको खोजी आवश्यक रहेको भन्दै कृषि र पर्यटनको क्षेत्रमा सरकारको तर्फबाट प्रोत्साहन समेत हुने गरेकोले नवउद्यमीहरूले इमान्दारिताका साथ काम गर्दै मुलुकको आर्थिक विकासको नेतृत्व गर्नुपर्ने सुझाव दिए । आध्यन्त फण्डका अध्यक्ष यज्ञप्रसाद न्यापानेले स्वदेशमै उद्यमशिलताको विकासले विदेशी मुद्राको समग्र संचय हुने, रोजगारी बृद्धि हुने, राज्यले थप कर प्राप्त गर्ने र मुलुकको ग्राहस्त उत्पादन बृद्धिमा समेत सहयोग पुग्ने बताए ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया