Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जासडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीको विरोध

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीको विरोध


इलाम । इलाममा निर्माणाधीन देउमाई–फाकफोक दोभान–नावालुङ–देउराली–हुलाक सडकको काम गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । जिल्लाको माङसेबुङ गाउँपालिका–१ मा पर्ने सो सडक खण्डको सब–बेसको काममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका हुन् ।

निर्माणमा संलग्न कम्पनीले लापरबाही रुपमा काम गरेको उनीहरुको आरोप छ । उनीहरुले गुणस्तरहीन काम रोक्न ठेकेदार कम्पनी देउमाई निर्माण कम्पनीलाई चेतावनी दिएका छन् । देउमाई–फाकफोक दोभान–नावालुङ–देउराली–हुलाक सडक आयोजनाको करिब पाँच किलोमिटर सडक सब–बेसमा गुणस्तरहीन सामग्री प्रयोग भएको माङसेबुङ गाउँपालिका–१ का वसन्त योङहाङले बताए ।

स्थानीयवासीले वडाध्यक्ष भूपाल योङहाङ र प्राविधिक कर्मचारी दीपक चौधरीसहित स्थानीय राजनीतिक दलहरुलाई अनुगमन र निरीक्षणसमेत गराएका छन् । ठेकेदार कम्पनीले सब–बेसमा खोलाको ढुङ्गा–गिटी–बालुवा (रिभरबेस) हाल्नुपर्नेमा खानीको माटो प्रयोग गरेको योङहाङले बताए ।

‘हामीले पहिलेदेखि नै ठेकेदार कम्पनीलाई गुणस्तरीय काम गर्न अनुरोध गरेका हौँं तर उहाँले बेवास्ता गर्नुभयो, स्थानीय योङहाङले भने, ‘ठेकेदार कम्पनीले सब–बेसमा माटो मात्र प्रयोग गरेका छन् । विच्छ्याएको सब–बेस हातले कोट्याउँदा माटो निस्कन्छ । यस्तो तरिकाले त राज्यको पैसा दुरुपयोग भएको छ ।’

उनले छिट्टै सरोकारवालाको दबाब समूह गठन गरी गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई दबाब दिने र भुक्तानी रोक्न गाउँपालिकामा अनुरोध गर्ने तयारीमा रहेको बताए । राससले जनाएनुसार वडाध्यक्ष भूपाल योङहाङले अनुगमनका ठेकेदार कम्पनीको लापरबाही देखिएको बताए । अनुगमन र निरीक्षणका क्रममा ठेकेदार कम्पनीले खोलाको ढुङ्गा–गिटी–बालुवा प्रयोग गर्नुपर्नेमा स्थानीय घोर्लेभीर(खानी)को माटो प्रयोग गरेको पाइएको प्राविधिक कर्मचारीले बताए ।

यता ठेकेदार कम्पनी देउमाई निर्माण सेवाका प्रोपाइटर रमेश बस्नेतले भने गुणस्तरहीन सामग्री नै प्रयोग गरिएको जिकिर गरे । उनले खोलाको मात्र ढुङ्गा–गिटी–बालुवा प्रयोग गरे बाटो बलियो नहुने भएकाले खानीको माटो पनि मिसाउनुपरेको बताए ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा

तपाईको प्रतिक्रिया