Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधतीन बर्षमा एक हजार भन्दा बढीले लिए पाल्पा विपश्यना केन्द्रबाट सेवा

तीन बर्षमा एक हजार भन्दा बढीले लिए पाल्पा विपश्यना केन्द्रबाट सेवा

पर्यटकीय विकासमा महत्वपूर्ण योगदान


पाल्पा : विगतका तीन बर्षमा विपश्यना केन्द्र, शिखर डाँडा, मदन पोखरा, पाल्पाबाट कम्तीमा पनि एक हजार भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरुले सेवा लिएका छन् । केन्द्रका व्यवस्थापक टंकनाथ कोईरालाका अनुसार तीन बर्ष अघि स्थापना भएको उक्त विपश्यना केन्द्र सुरुवाती चरणमा एउटा पुरानो घरबाट सुरु भई पाल टागेर ध्यान गराउने गरिन्थ्यो । जुन संरचनाहरु अहिले धेरै विस्तार भैसकेका छन् । व्यवस्थापक कोईरालाले अहिले हामीले एकै पटक ३५/४० जना जति साधकहरुलाई ध्यान गराउने संरचनाहरुको विकास गरी सकेका छौं ।
अझै धेरै गर्ने तयारीमा छौं ।

हाल केन्द्रका भौतिक संरचनाहरुको कुरा गर्नु पर्दा एक धम्म हल भवन, एक कार्यालय भवन, एक क्यान्टिन (महिला पुरुष छुट्टाछुट्टै बसेर खान मिल्ने व्यवस्था सहितको), दुई महिला निवासका भवन, दुई पुरुष निवासका भवनहरु भएको बताउँदै यो केन्द्र स्थापनामा ट्रष्टीको रुपमा विरेन्द्रमुनि साक्य, मदन बज्रचार्य, श्रीराम पौडेल हुनुहुन्छ भने गोपाल पोखरेल, केयरसिंह खड्का, खेम पुन, खडानन्द पौडेल, बावुराम शर्मा लगायतले केन्द्र स्थापनाका लागि मुख्य भूमिका खेल्नुका साथै उक्त समयमा सारदामान साक्य मुख्य टिचर रहेको बताए ।

पवित्र तपोभूमि ६५ रोपनी क्षेत्रफलमा फैलिएको बताउँदै व्यवस्थापक कोईरालाले यो स्थानबाट डाँडाकाँडा, हिमाल, पहाड, बेशी लगायत चारैतिरको दृश्य राम्रो देखिनु मात्र नभएर शान्त वातावरणमा अगार्निक खानपानका साथै वातावरणीय सौन्दर्यताका बीचमा बसेर साधना गर्ने माहोल भएको बताए । जाडोका अधिकांस दिनहरुमा घाम लाग्ने र गर्मीका दिनहरुमा सितलता मिल्ने हुँदा दिन प्रतिदिन केन्द्र प्रति स्वदेशी तथा विदेशी पर्यटकहरुको आकर्षण बढ्दै गएको बताए ।

शारिरीक स्वस्थ्यता, शान्ती प्राप्ती, शरीरमा भएको नकारात्मक तत्वको अन्त्य पारी सुखमय जीवनका साधना गरिने र एउटा प्राकृतिक रमणीय स्थलमा केन्द्र स्थापना भएको हुँदा केन्द्र प्रति बढ्दै गएको र उक्त आकर्षणले पाल्पाका पर्यटकी गन्तव्य स्थलहरु श्रीनगर भ्यू टावर, रानिमहल, पाल्पा दरबार, भैरवस्थान, रिडीको ऋषिकेश मन्दिर तथा केही समय अगाडी सम्पन्न तीन जिल्ला जोड्ने पुल, भगवती मन्दिर जस्ता क्षेत्रहरुको पर्यटकीय विकासमा समेत महत्वपूर्ण योगदान पुगेको कोईरालाले दाबी गरे ।

कोईरालाले हामी कहाँ ध्यान गर्नको लागि स्वदेशी तथा विदेशी पर्यटकहरु आउनुहुन्छ । शिविर सकिएसँगै उहाँहरुको पाल्पाका पर्यटकीय गन्तव्य स्थलहरु हेर्ने उहाँहरुको चाहना हुन्छ । उहाँहरु हामीलाई ति क्षेत्रहरु घुमेर जाने ईच्छा देखाउनुहुन्छ । हामी पनि उहाँहरुको चाहना अनुरुप उहाँहरुले ईच्छाएका क्षेत्रहरुको भ्रमण गराएर उहाँहरुलाई पठाउँछौं । लभग लभग सबै शिविरमा आउने साधकहरु घुम्न चाहने हुँदा केन्द्रले पर्यटकीय विकासमा पनि भूमिका खेलेको बताए ।

केन्द्रमा साधना (ध्यान) गर्न कुनै नलाग्ने बताउँदै व्यवस्थापक कोईरालाले संस्थाले अवलम्बन गरेको नीति भित्र रहेर शिविर अवधीभर तिनै कुराहरुको पालना गर्नु पर्ने बताए । साधक तथा साधिकाहरुको खानपान तथा बसाईका लागि खर्च पनि धेरै लाग्छ, खर्चको जोहो कसरी गर्नुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा कोईरालाले सुरुमा स्थापना गर्दा यहाँका दाताहरुले कसैले आर्थिक सहयोग उपलब्ध गराउनु भयो, कसैले जग्गा जमिन दिनु भयो, जसले जेजस्तो सहयोग गर्न सक्नुहुन्छ उहाँहरुले त्यो त्यो सहयोग गरेको हुँदा पवित्र स्थलको सुरुवात भयो ।

सुरु हुँदैजाँदा पछि साधना गर्न आउने साधकहरुले पनि आफ्नो गक्ष अनुसारको सक्दो आर्थिक सहयोग गर्दै जानु भयो । जसले हामीलाई सञ्चालनको लागि सामान्य समस्या परेपनि त्यति ठुलो समस्या सँग जुध्नु परेन । अर्को कुरा यहाँ काम गर्ने कसैलाई पनि पारिश्रमिक दिनु पर्दैन । उहाँहरु सबै सेवकको रुपमा काम गर्नुहुन्छ । जसलेगर्दा कम खर्चमा शिविर सम्पन्न हुने बताए ।

विषेश गरेर साधनाका लागि स्वदेशी भन्दा विदेशी नागरिकहरु बढी आउने गरेको बताउँदै कोईरालाले कम्तिमा पनि ७५ प्रतिशत विदेशी नागरिक हुने गरेको बताए । हामी कहाँ विशेष गरेर एउटा शिविर दश दिन सम्म चल्ने गर्दछ । त्यो भन्दा कम दिनका शिविरहरु पनि हुने गर्दछन् र त्यो भन्दा धेरै दिनका पनि हुन्छन् । हामीले अहिलेसम्म अधिक्तक दश दिने शिविर बढी चलाएका छौं । शिविर अवधीभर महिला साधिकाहरु पुरुष साधकहरुको क्षेत्रमा र पुरुष साधकहरु महिला साधिकाहरुको क्षेत्रमा प्रवेश गर्न पाउनुहुन्न ।

उहाँहरु आ–आफ्नै तोकिएको क्षेत्रमा रहनु पर्दछ । यहाँ सम्मकी धम्महलमा प्रवेश गर्न समेत अलगअलगद्वारको व्यवस्था गरिएको छ । शिविर अवधीभर मौन रहने, कसैसँग सम्पर्क नगर्ने, आवश्यक भएका मात्र व्यवस्थापन पक्ष सँग बाहेक अरुसँग सांकेतिक रुपमा पनि कुरा गर्न नपाउने, व्यवस्थापक सँग बोल्दा पनि एकदमै सानो स्वरमा अरु कसैले नसुन्ने गरी बोल्नु पर्ने लगायतका नियमहरुको पालना गर्नु पर्ने बताए ।

पाल्पा विपश्यना केन्द्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका मुख्य दाताहरु मध्येका एक दाता गोपाल पोखरेलले सबैको कल्याणका लागि पाल्पा विपश्यना केन्द्रको स्थापना गरिएको बताए । मानिसहरुमा बढ्दो स्वास्थ्य सम्बन्धि चिन्ता बावजुत शरिरमा भएका विकार कुराहरु हटाउने माध्यम ध्यान भएको निष्कर्श निकाल्दै प्राकृतिक रुपमा नियाल्दा गर्मीको समयमा तराईमा ध्यानका लागि गाह्रो हुने र जाडोयाममा हिमालमा गाह्रो हुने हुँदा जाडो र गर्मी दुबै मौसममा उपयुक्त स्थान हुने ठानेर मदन पोखरामा धम्म सिसको नामबाट पाल्पा विपश्यना केन्द्रको स्थापना गरिएको बताए । संस्थागत विद्यालय स्थापनाको लागि जग्गा खरिद गरिएतापनि उक्त संस्थाले सबैको हीत गर्न नसक्ने ठानेर स्वदेशी– हिमाल, पहाड, तराई सबै क्षेत्रका बासिन्दाहरु र विश्वका जुनसुकै देशका नागरिकहरुले उक्त केन्द्रबाट लाभ लिन सक्नुहुन्छ भन्नुनै मुख्य उद्देश्य रहेको बताए ।

बुद्ध धर्म नभएर बुद्धत्व एउटा विज्ञानको मार्ग भएको बताउँदै पोखरेलले सुरुमा कयौं पटक एक दिने कोर्ष चलाउँदै आएपनि अहिले दश दिने कोर्ष चलाउन सफल भएको बताए । उनले विशुद्ध सेवाभावले केन्द्र स्थापना भएको हुँदा केन्द्रको प्रभाव देशविदेश सम्म फैलिएकोले विगतका दिनहरुमा ६० दिने कोर्ष चलाउने लक्ष्य रहेको बताउँदै पोखरेलले सेवा नै धर्म हो र स्वास्थ्य नै जीवन जीउने मुख्य आधार रहेको बताए ।

के हो विपश्यना ?
सहायक आचार्य विरेन्द्रराज वाग्लेका अनुसार वि भनेको विशेष पश्यना भनेको हेर्नु हो । यसअर्थमा भन्नुपर्दा शरिर वा मनलाई कुनै संस्कारबाट प्रेरित नभईकन विशेष रुपले हेर्नु नै विपश्यना हो । जीव हत्या नगर्ने, चोरी नगर्ने, ब्रम्हचर्यमा बस्ने, झुटो नबोल्ने, कुनै पनि लागूपदार्थको सेवन नगर्ने जस्ता पञ्चशिलको पालना गर्दै बस्ने गरिन्छ । यो विधीमा हाम्रो विवेकले, प्रज्ञाले, मनको विशेष अंशले आफ्नो शरिर, आफ्नो विशेष रुपमा ततस्ट भावले हेर्ने गरिन्छ ।

चन्चल मनलाई ततस्ट रुपमा हेर्न एकै पटक कठिन हुने हुँदा पहिला मनलाई शान्त पारिसकेपछि म को हुँ, म कहाँ छु, म परिवर्तन हुन सक्छु कि सक्दिन जस्ता कुराहरु हेर्ने गरिन्छ । म भन्ने कुरालाई छुट्याएर हेर्दा यसलाई पाँच भागमा विभाजन गरिएको छ । हाम्रो भौतिक शरिरलाई छान्न सकिन्छ । शरिरमा जतिपनि छान्न मिल्ने, स्पर्ष गर्न मिल्ने बस्तुहरु छन् बौद्ध दर्शनमा तिनीहरुलाई रुपस्कन्द भनिन्छ । रुपस्कन्द भित्र मन रहेको छ । र मनका पनि चार अलग अलग भाग रहेका छन् । मनले सुख, दुख, ततस्ट अनुभव गर्छ जसलाई हामीले वेदना भन्ने गर्दछौं ।
सहायक आचार्य वाग्ललेले विपश्यना एउटा जीवन जीउने कला हो ।

यसले मनलाई शुद्धिकरण गर्ने कार्य गर्दछ । शरीरलाई विशेष रुपले शुद्धिकरण गर्ने हुँदा विपश्यना भनिएको हो । विपश्यनाले विचल्लित मनलाई शुद्ध, शान्त बनाउनुका साथै एकाघ्र बनाउन विशेष भूमिका खेल्दछ । वास्तवमा विपश्यनाले दोश्रो जन्मको अनुभूति गराउँछ । हामीमा भएको नकारात्मक कुराहरुलाई हटाएर सकारात्मक कुराहरुमा अगाडी बढ्नको लागि प्रेरणादायी भूमिका खेल्ने गर्दछ । मलाई लाग्छ हामीलाई सद्गुण प्राप्तीका लागि यो कार्य सबैले गर्न जरुरी छ ।

पाल्पा विपश्यना केन्द्रले सञ्चालन गरेको दश दिने शिविरमा पहिलो पटक आफूले अनुभव गरेको कुरालाई साझा गर्दै पत्रकार पोसकान्त पोखरेलले विपश्यना हाम्रा लागि एक अभिन्न जस्तै भएको बताए । पत्रकार पोखरेलले मैले बाहिर जति सुनेको थिए त्यो भन्दा राम्रो अनुभव गर्ने एउटा सुवर्ण अवसर प्राप्त गरे । मन विचल्लित भएर शिविरमा नगएतापनि थप कुराहरु सिक्दै अगाडी बढ्नका लागि प्रेरणा मिलेको अनुभूति
गरेको छु । एकै पटकमा सबै कुराहरु सिक्न र व्यवहारमा ल्याउन असम्भव भएतापनि विस्तारै विस्तारै लक्ष्य प्राप्ती हुनेमा दृढ भएको हुँदा हरसम्भव यसप्रति आफ्नो लगाव सदासर्वदा राख्ने संकल्प गरेको छु । हेर्दै जाउँ कति सम्म सम्भव हुन्छ । समग्रमा भन्नुपर्दा विपश्यना प्रति सकारात्मक छु । मन शुद्धिकरणको एउटा अचुक उपाय भएकोले जीवनको यात्रासँगै अगाडी बढाउने सोच रहेको छ ।

कोरोना भाईरसको महामारी फैलिनु अघि एक बर्ष कृषि तथा पोषण सम्बन्धी स्वयम्सेविकाको रुपमा एक बर्ष नेपालमा बसेकी अमेरिकी महिला मिका अल्मेट भन्छिन्– सुरुमा नेपाल बस्दा विपश्यना सम्बन्धी धेरै कुराहरु सुनेकी थिए । विडम्बना उक्त समयमा समयको अभाव र महामारीको कारण ज्ञान लिने अवसर प्राप्त गर्न सकिन । अहिले कोभिडको पनि अन्त्य भएको छ । म किन नेपाल गएर उक्त ज्ञान हासिल नगर्ने भनेर यहि दश दिने शिविरका लागि नेपाल आएकी हुँ ।

अहिले मलाई विपश्यनाको ज्ञान लिनका लागि नेपाल आएर धेरै राम्रो काम गरे जस्तो लाग्छ । शिविर सकिए लगत्तै आफ्नो गृहनगरमा जान्छु । म गृहनगर गएतापनि म यसलाई निरन्तरता दिंदै अन्य शिविरहरुमा पनि सरिक हुन चाहान्छु । मलाई पहिले व्यस्तताको प्रेसर बढी थियो, तनाव पनि उत्तिकै थियो । यो दशदिने शिविरले मेरो जीवनमा धेरै परिवर्तन ल्याएको अनुभूति गरेकी छु । मन भित्रका नकारात्मक कुराहरु हटाउन र मनलाई शान्त राख्न महत्वपूर्ण भूमिका खेलेको महसुस गरेकी छु । सबैभन्दा सकारात्मक कुरा भनेको अरुलाई सहयोग गर्नु पर्छ भन्ने भावनाको विकास भएको छ ।

नेपाल एउटा प्राकृतिक सौन्दर्यताले भरिएको देश भएको र यस देशमा रानीतिक गन्धकी बढ्दो भएतापनि यहाँका जनताहरुको विदेशी नागरिकलाई हेर्ने दृष्टीकोण साच्चिकै तिर्नै नसकिने गुन जस्तै छ । यहाँको ट्रेकिङ, बहु–साँस्कृतिक, बहुयामिक, भाषा, धर्म, भेषभुषा, धार्मिक सहिष्णुता, खानपान, रहनसहन, प्राकृतिक तथा जैविक विविधता, खोलानाला, हिमाल, पहाड, तराई, पाहुनालाई हेर्ने यहाँका नागरिकहरुको दृष्टीकोणले मलाई नेपाल आउनको लागि सधै लालायित पार्ने छ । म यहाँबाट आफ्नो वासस्थानमा गएपछि मलाई नेपालको मायाले सताउने छ । सम्भव भएसम्म म नेपाल आएर फुर्सदको समय विताउनुका साथै आफ्ना साथीभाईहरुलाई पनि ल्याएर यहाँको सौन्दर्यता देखाउन चाहान्छु ।
विगत १६ बर्ष देखि २२ बर्षको उमेर देखि विभिन्न क्षेत्रमा हुने शिविरहरुमा ध्यान गर्दै आएका लमजुङका ३८ बर्षिय कृष्णहरि सुवेदीले पहिलो पटक काठमाडौंको धर्मश्रृङ्गबाट दश दिने शिविरबाट विपश्यना प्रति आफ्नो लगाव बढेको बताउँछन् ।

हालसम्मको आफ्नो अनुभव सुनाउँदै सुवेदीले कुनैपनि कुरामा खिन्नता कम हुने, जीवनमा कुनै नराम्रो घटना घटेतापनि त्यसलाई सहज रुपमा सोच्न र लिन सक्ने क्षमताको विकास हुने, सकारात्मक कुराहरु प्रति ध्यान बढी केन्द्रित हुने, उत्साह आउने बताउँदै संगम सरणम् गच्छामीलाई अनुशरण गर्दै राम्रो मान्छेको संगतलाई विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए । अहिले दिनमा कम्तीमा पनि दुई घण्टा ध्यान गर्ने गरेको बताउँदै सुवेदीले आफूले जीवनभर निरन्तरता दिने बताए ।


क्याटेगोरी : बिबिध, बिशेष

तपाईको प्रतिक्रिया