Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषभ्रमण वर्षलाई सफल पार्न आवश्यक सहयोग गरिदिन आग्रह

भ्रमण वर्षलाई सफल पार्न आवश्यक सहयोग गरिदिन आग्रह


काठमाडौं, मंसिर १९
नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउनको लागि सहयोग गरिदिन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले आग्रह गरेका छन् । मन्त्री भट्टराईले बुधबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी नेपालस्थित ३१ देशका राजदूत र पाँचवटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूसँग भ्रमण वर्ष सफल बनाउन आवश्यक सहयोग गरिदिन आग्रह गरेका हुन् ।

भ्रमण वर्ष–२०२० सफल पार्नमा नेपालस्थित राजदूतहरूको महत्वपूर्ण भूमिका हुने भन्दै उनले भ्रमण वर्षको बारेमा विश्वभरि सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे । ‘नेपाल भ्रमण वर्ष–२०२० को विषयमा यहाँहरूका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरूको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु । मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष—२०१९ र क्रिसमस नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईंको देशको नागरिकसम्म पनि प्रवाह गरिदिनुहोस् ।’

मन्त्री भट्टराईले नेपाल २०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट विस्तारै उठिरहेको उल्लेख गर्दै महाभूकम्पमा बेला गरेको सहयोगप्रति धन्यवाद दिँदै पर्यटन वर्ष सफल पार्नमा पनि सहयोग र साथ दिन आग्रह गरे । महाभूकम्पबाट भत्किएका नेपालका अठ सय ९१ सम्पदामध्ये तीन सय ८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका पनि मन्त्री भट्टराई जानकारी दिए । आगामी दुई वर्षभित्र निर्माण बाँकी रहेको सम्पूर्ण सम्पदाहरूको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको उनले बताए । सम्पदा निर्माण सम्पन्न गर्नको लागि पनि आवश्यक सहयोग गर्न उनले आग्रह गरे ।

मन्त्री भट्टराईले अब आर्थिक र सामाजिक क्षेत्रको असमानतालाई अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामूलक समाज निर्माणको बाटोमा देशलाई अघि बढाइने बताए । यही बाटोबाट प्रधानमन्त्रीले घोषणा गरेको ‘सुखी नेपाली : समृद्ध नेपाल’को सपना पूरा गर्ने उनको भनाई थियो । उनले अहिले पर्यटनबाट नेपालको कुल ग्रार्हस्थ्य उत्पादनमा तीन प्रतिशत योगदान रहेको जानकारी दिँदै १५औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको बताए ।

मन्त्री भट्टराईले अहिल विदेशी पर्यटकहरूले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेको बताए । आगामी दिनमा ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राखिएको उनको भनाइ थियो । साथै उनले आगमी २०२० मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिए । त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको भन्दै लगानीको आवश्यक मोडलको विषयमा लगानी बोर्डले काम गरिरहेको बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरूलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिए ।

मन्त्री भट्टराईले नेपालको हवाई सुरक्षाको विषयमा युरोपियन युनियनलगायतले राखेको चासोप्रति गम्भीर रहेको भन्दै अन्तर्राष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पूरा गर्न सरकार सक्रिय रहेका बताए । उनले नेपालका निजी तथा सरकारी वायु सेवा निगम कम्पनीहरूले चाँडै विश्वभरिका आकाशमा निर्वाध उडान भर्ने बताए । मन्त्री भट्टराईले नेपालमा ५३ वटा आन्तरिक विमानस्थल रहेको जानकारी दिँदै आगमी १० वर्षभित्रमा सबै आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाइने बताए । कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले विश्वभरि भ्रमण वर्ष–२०२०को प्रवर्द्धनका लागि अनुरोध गरे । नेपाल भ्रमण वर्ष–२०२० का संयोजक सुरज वैद्यले नेपालको पर्यटकीय स्थलहरूको जानकारी, पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको तयारीको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा सहभागी राजदूतहरूले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटनहरूमा चीन दोस्रो रहेको भन्दै नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि साथ र सहयोग गर्ने बताइन् । उनले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू चिनियाँ कम्पनीहरूले निर्माण गरिरहेको भन्दै चिनियाँ कम्पनीहरूले गुणस्तरीय कामसहित समयमै निर्माण सम्पन्न गर्ने जानकारी समेत दिइन् ।

नेपालका लागि अमेरिकी राजदूत -याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामग्री उपलब्ध गराए ती सामग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने बताए । त्यस्तै, अष्ट्रेलियाका राजदूत पिटर ग्रेम बड, जर्मनीका राजदूत रोलाण्ड साफर, जापानका राजदूत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवसीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडीलगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताएका छन् ।


क्याटेगोरी : बिशेष

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x