Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिका१४ करोड लागतमा तामाकोशी अस्पताल बन्दै

१४ करोड लागतमा तामाकोशी अस्पताल बन्दै


दोलखा । जिल्लाको तामाकोशी गाउँपालिका –४ मालुमा १४ करोड रुपैयाँको लागतमा १० बेडको तामाकोशी अस्पताल निर्माण भइरहेको छ । गाउँपालिकाको ४० प्रतिशत अनुदान तथा संघीय सरकारको ६० प्रतिशत लगानीमा सो अस्पताल निर्माणाधीन रहेको सो वडाका वडाध्यक्ष सुरज खड्काले जानकारी दिए । उनका अनुसार अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

उक्त अस्पताल यस वर्ष निर्माण सक्नेगरी सम्झौता भए पनि केन्द्र सरकारले बजेट पठाउन ढिला गर्दा केही काम बाँकी रहेको खड्काले बताए । फिनिसिङबाहेक अन्य काम सम्पन्न भए पनि करिब दुई करोड बजेट भुक्तानी केन्द्र सरकारले नपठाउँदा बीचमा काम रोकिन पुगेको थियो । यस वर्ष निर्माण कम्पनीलाई पालिकाले म्याद थप गरेपछि अस्पतालको निर्माण कार्य सुचारु भएको बताइएको छ । निर्माण कम्पनीले फिनिसिङ, रंगरोगन, बिजुली, फर्निचरको काम गर्न बाँकी रहेको जनाएको छ ।

उक्त अस्पताल निर्माण सम्पन्न भएपछि वडाले २४सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउने तामाकोशी गाउँपालिकाको प्रवक्ता समेत रहेका एवम् वडा अध्यक्ष खड्काले बताए । त्यस्तै, वडाले स्थापना गरेको आँखा केन्द्रले मालु आसपासका आँखा रोगीलाई वडाबाटै उपचार दिन थालेको छ । यसबाहेक वडाले अन्य पूर्वाधार विकासलाई पनि तीव्रता दिएको जनाएको छ । वडाले गाउँपालिकाको युवा स्वरोजगार कार्यक्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पुराना मूल बाटो तथा जोखिमयुक्त बाटोको स्तरोन्नति गर्न कार्य थालेको छ । वडाध्यक्ष खड्काअनुसार करिब दुई किलोमिटर पक्की गोरेटो बाटो निर्माण गर्नको लागि २९ लाख बजेट छुट्याइएको छ ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया