Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगटिक्न गाह्रोः जीवन बीमा अभिकर्ता

टिक्न गाह्रोः जीवन बीमा अभिकर्ता


काठमाडौं । हो, नेपालमा जीवन बीमा व्यवसायमा लागेका धेरै अभिकर्ताहरू पेसाबाटै पलायन भएका छन् भने अधिकांश जीवन बीमा क्षेत्रमा गरेर खान भनी आएका अभिकर्ताहरू निष्क्रिय छन् । त्यस्तै, कतिपय जीवन बीमा व्यवसायमा लागेका अभिकर्ताहरू जसोतसो आफ्नो पेसामा टिकिरहेका छन् । हुन त जीवन बीमा व्यवसायमा लागेका केही अभिकर्ताहरूले आप्mनो पेसालाई चकाचक बनाएका पनि छन् । तर त्यस्ता जीवन बीमा व्यवसायमा लागेका अभिकर्ताहरू एकदमै कम संख्यामा मात्रै रहेका छन् ।

हुन पनि गत आर्थिक वर्षसम्म जीवन बीमा क्षेत्रमा सात लाख ६८ हजारभन्दा बढी संख्यामा अभिकर्ताहरूले लाइसेन्स लिएका थिए भन्ने एक तथ्याङ्क केही समयअघि सार्वजनिक भएको थियो । सो तथ्याङ्कमा जनाएअनुसार पहिलेको ‘राष्ट्रिय बीमा समिति’को बृहत् रूप ‘बीमा प्राधिकरण’ गठन भएपछि र बीमा प्राधिकरणले एकीकृत सूचना प्रणालीलाई कडाइका साथ लागू गरेयता ती सात लाख ६८ हजारभन्दा बढी संख्यामा रहेका अभिकर्तामध्ये पाँच लाख ३२ हजारभन्दा बढी बीमा अभिकर्ताहरू गायब भएका छन् । स्वाभाविकरूपमा प्रश्न उठ्न सक्छ, एकैचोटि त्यत्तिका जीवन बीमा अभिकर्ताहरू कहाँ हराए, कसरी हराए, किन हराए ? नेपालमा यसरी एकैचोटि दोब्बरभन्दा पनि बढी संख्यामा जीवन बीमा अभिकर्ताहरू हराउनुको अनेकौं कारणहरू हुन सक्लान् नै । तापनि त्यसरी एकैचोटि ठूलो पैमानामा जीवन बीमा अभिकर्ताहरू हराउनुका मुख्य कारणमा आप्mनो जीवन बीमा गरेको कमिसन आफैं खानका लागि मात्रै जीवन बीमा अभिकर्ता बनेकाहरू, दोहोरो लाइसेन्स लिएका र अभिकर्ता लाइसेन्स लिएर एक जना (कसैलाई) लाई पनि जीवन बीमा गराउन नसकी निष्क्रिय रहेका जीवन बीमा अभिकर्ताहरूका कारण हुन् ।

हुन पनि बीमा प्राधिकरणले २०८० को असार मसान्तसम्ममा जीवन बीमा क्षेत्रमा लागेका अभिकर्ताहरूले आफ्नो अभिकर्ता लाइसेन्स नवीकरण नगरे स्वतः खारेज हुने भनी नेपाल बीमा प्राधिकरणले सूचना जारी गरेको थियो भने नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई सोहीअनुसार सर्कुलर जारी गरेको थियो । स्मरणीय छ, बीमा ऐन–२०७९ लागू हुनुअघि नेपालमा जीवन बीमा अभिकर्ता बनेका र अभिकर्ता लाइसेन्स लिएका अनि नयाँ नवीकरण गरेका अभिकर्ताको जम्मा संख्या एक लाख ७४ हजार रहेको थियो । एक लाख ७४ हजार जीवन बीमा अभिकर्तामध्ये एक लाख २९ हजार जीवन बीमा अभिकर्ताले मात्रै आफ्नो लाइसेन्स नवीकरण गरेका थिए । त्यसपछि हालसम्म थप नयाँ तथ्य–तथ्याङ्क र सूचना आइनसकेकाले गर्दा नेपालमा पछिल्लोपटक कति जीवन बीमा अभिकर्ताले आफ्नो लाइसेन्स नवीकरण गरे ? तीमध्ये कति जीवन बीमा अभिकर्ताहरू सक्रिय छन् ? हचुवाकै भरमा भन्न, लेख्न सकिने कुरो भएन ।

जे होस्, नेपालमा जीवन बीमा अभिकर्तालाई पूर्णकालीन पेसा वा ‘पार्ट टाईम जब’का रूपमा कमाइको आधार बनाएर जीवन बीमा एजेन्टको लाइसेन्स लिएर काम गरिरहेका अभिकर्ताका सम्बन्धमा पछिल्लो तथ्यतथ्याङ्क यस्तो रहेको भए पनि नेपालमा समग्र जीवन बीमा गर्ने मानिसको संख्या भने बढेको देखिएको छ । गत जेठ महिनामा नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्याङ्कअनुसार जीवन बीमा गर्ने नेपालीको संख्या बढेको छ । पछिल्लोपटक आएको तथ्याङ्कमा जनाएअनुसार नेपालको सम्पूर्ण जनसंख्याको ४४ दशमलव २० प्रतिशतहरू मानिसले जीवन बीमा गरेका छन् । तर सो तथ्याङ्क शुद्धरूपमा र सर्वाधिक जीवन बीमा गर्नेको मात्रै तथ्याङ्क नभएर म्यादी, लघु म्यादी, वैदेशिक रोजगार बीमासमेतको तथ्याङ्क हो । ‘जीवन बीमा स्किम’मा चार प्रकारका क्याटगोरीहरू रहेका छन् । जस्तै, म्यादी जीवन बीमा, लघु म्यादी जीवन बीमा, वैदेशिक रोजगार जीवन बीमा र आवधिक जीवन बीमा ।

हो, यसरी नेपालको समग्र जीवन बीमाको तथ्य–तथ्याङ्कहरू हेर्दा एकातिर बीमा गर्ने बीमितहरूको संख्या बढेको देखिन्छ भने बीमितहरूको घर–आँगनमा गएर मानिसलाई बीमा गराउन प्रोत्साहित गर्ने अभिकर्तामध्ये धेरै ठूलो संख्या निष्क्रिय रहेको देखिएको छ । जबकि जीवन बीमा कम्पनीहरूका लागि यी अभिकर्ताहरू भनेका मेरुदण्ड नै हुन् । हुन त जीवन बीमासम्बन्धी जानकारका अनुसार ‘जीवन बीमा अभिकर्ताका रूपमा तालिम लिएर अभिकर्ता बनेका बीमा अभिकर्ता (एजेन्ट)मध्ये यसरी ठूलो संख्याले लाइसेन्स नै नवीकरण नगर्नुको कारण ‘नेपालमा जीवन बीमा अभिकर्ताका रूपमा तालिम लिएर अभिकर्ता बनेर केही कमाइ गर्ने, बीमा गराएबापत आउने कमिसनले गुजारा गर्ने, जीवनमा आइपर्ने आर्थिक कठिनाइलाई समाधान गर्ने माध्यम बनाउने, सर्वसाधारण मानिसलाई जीवन बीमाबारे बुझाउने, जीवन बीमासम्बन्धी महत्वपूर्ण ज्ञान दिनुका साथै व्यापकरूपमा जनचेतना फैलाउनका लागि योगदान दिनेभन्दा पनि आफूले गर्ने जीवन बीमाको कमिसन अरूलाई किन दिने ? भनी आफ्नो जीवन बीमा गरेको कमिसन आफैं खानका लागि मात्रै जीवन बीमा अभिकर्ता बनेको हुनाले त्यस्ता अभिकर्ताले आफ्नो अभिकर्ताले लाइसेन्स नवीकरण नगरेको हुनाले अभिकर्ताको संख्या ह्वात्तै घटेको हो ।’

त्यसो त गत वर्ष (विसं २०७९ मा) पनि तत्कालीन राष्ट्रिय बीमा समिति (हाल नेपाल बीमा प्राधिकारण)ले नेपालका सबै जीवन बीमा कम्पनीमा कार्यरत अभिकर्ताहरूलाई आपल्नो लाइसेन्स नवीकरण गर्नका लागि असोज मसान्तसम्मको म्याद दिएर ताकेता गरेको थियो । त्यसो गर्दा पनि सो वर्ष विभिन्न जीवन बीमा कम्पनीमा कार्यरत आधाभन्दा केही बढी (५८ प्रतिशत) अभिकर्ताले मात्रै आफ्नो लाइसेन्स नवीकरण गरेका थिए । यसरी हेर्दा ऊबेला पनि जीवन बीमा अभिकर्ताका रूपमा तालिम लिएर अभिकर्ता बनेका वा जीवन बीमा अभिकर्ताका रूपमा तालिम लिएका अभिकर्ताहरू (एजेन्ट)मध्ये ४२ प्रतिशतले आफ्नो लाइसेन्स नै नवीकरण नर्गनुको खास कारण के थियो ? सम्बन्धित सरोकारवाला निकायले गम्भीर भएर सोचेनन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया