Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगशाकाहारी खाना र खिरको महत्व

शाकाहारी खाना र खिरको महत्व


काठमाडौं । मानिसलाई स्वस्थ्य राख्ने प्रमुख आधार नै भोजन हो । यस लेखमा मुख्यतः शाकाहारी भोजनका साथै खिरको बारेमा प्रस्तुत गर्ने जमर्काे गरिन्छ । स्वास्थ्य बनाउनको लागि तागत वा शक्ति दिने खानेकुराको त्यतिकै महत्व हुन्छ । सोको लागि शाकाहारी खानाको भूमिका महत्वपूर्ण हुन्छ । जस्तै, खिर, उसिनेको, हकुवा, ताइचिन र मन्सुरी चामललाई स्वस्थ खानाको रूपमा लिइन्छ । त्यस्तै, गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, शखरखण्ड, तरुल, पिँडालु, गिठ्ठा, आलु, चिउरा, फलफूललाई स्वस्थ भोजनको रूपमा लिन सकिन्छ । शरीरको तापक्रम र सन्तुलन बनाई राख्न, मांशपेशी बलियो बनाउन, शरीरको मुख्य अंगहरू (मृगौला, मुटु, फोक्सो, मष्तिष्क) लाई निरोगी राख्न एवम् विभिन्न समस्याको निराकरण गर्न यी शाकाहारी खाना सहायकसिद्ध हुन सक्छन् । स्वास्थ्य समस्या निराकरण गर्न नाथ्रो भएको वा नफलेको अन्नले शरीरको विकासमा सन्तुलनको लागि चाहिने प्रोटिन, भिटामिन विशेष गरेर ‘बी’, रगत राम्रो बनाउने तत्व, शरीरबाट काम नलाग्ने वस्तुबाहिर हटाउने र शक्ति प्रदान गर्छ । तरकारीको रूपमा प्रयोग गरिने आलुबाट भिटामिन सी प्राप्त हुन्छ । यसले घाउ निको पार्न र बलियो बनाउन सहयोग पु¥याउँछ ।

खानामा भएको तत्व पचाउने शरीरलाई शक्ति दिन्छ । आलुमा प्रशस्त प्रोटिन हुन्छ, जसले शरीरको वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मद्दत गर्दछ । कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पु-याएको कुरा विभिन्न अध्ययनले जनाएको छ । यसैगरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दाँत र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ । मानिसलाई ताप वा शक्ति दिने खानाको कमी भएमा दुब्लाउँछ, सो कारणबाट मांशपेशी कमजोर हुन गई जाँगरसमेत निम्न हुन्छ । थकाइ छिटो लाग्छ, जाडो भएको महसुस भई जिउ काप्छ । शरीरको विकास र यसलाई सन्तुलित राख्न शाकाहारी खाना महत्वपूर्ण हुन्छ । यो गेडागुडी र अन्य वस्तुबाट प्राप्त गर्न सकिन्छ । मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुला, तिल, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङमा प्रशस्त प्रोटिन पाइन्छ । फर्सीको बियाँ, लट्टेको गेडा, ओखर, ज्वानो आदिबाट पनि प्रशस्त शरीर रक्षा गर्ने प्रोटिनको मात्रा पाइन्छ । अतः शरीरको विकास र दीर्घ जीवनका लागि माथि उल्लेखित प्रोटिनयुक्त शाकाहारी खाना खानुपर्छ ।

प्रोटिन कपाल, हाड, मांशपेशी र रगतलाई स्वस्थ राख्न आवश्यक तत्व हो । यसले शरीरको मुटु, मृगौला र कलेजो कोषलाई करिब दुई हप्तासम्म जीवित राख्न सहयोग गर्छ । छाला, हाड र मांशपेशीका कोषहरू ६–७ महिनासम्म जीवित राख्छ । प्रोटिनले घाउ छिटो निको गर्न मद्दत पु-याउँछ । केही प्रोटिनयुक्त खानेकुराले शरीरलाई आवश्यक पर्ने तत्व क्याल्सियम पनि प्रदान गर्छ । प्रोटिन र भिटामिन खाएनौं भने खानामा भएको तत्व सबै शरीरले पचाउन सक्दैन र त्यस्ता तत्वहरू दिसामा बगेर खेर जान्छन् । अन्नबाट शरीरलाई चाहिने ७० देखि ९० प्रतिशत प्रोटिन पूर्ति हुन्छ । खानामा प्रोटिन र कार्बोहाइड्रेड समान अनुपातमा हुनु अतिमहत्वपूर्ण हुन्छ । प्रोटिनयुक्त खानेकुरा शक्ति दिने र भिटामिन दिने खानेकुरासित खायौं भने शरीरले पूरा मात्रामा खानामा भएको पौष्टिक तत्व पचाउन सक्छ । त्यसैले विभिन्न किसिमका खानेकुरा मिलाएर खानु फाइदाजनक हुन्छ । जस्तै, दालभात, साग, गेडागुडी, दूध, मोही, घिउ फरकफरक खायौं भने खानामा भएका पौष्टिक तत्वहरूको सही उपयोग हुँदैन ।

शरीरलाई आवश्यक मात्रामा चाहिने प्रोटिनयुक्त खाना नखाँदा उमेरअनुसार उचाइ बढ्दैन, केटाकेटीहरू ख्याउटे, दुब्लो र कमजोर हुन्छन् । उनीहरूको छाला पनि बुढो मान्छेको जस्तो चाउरी परेको हुन्छ । कपाल पातलो र खैरो हुन्छ । शरीर सुन्निने पनि हुन्छ । कपाल फुस्रो र जिङ्ग्रिङ्ग परेको हुन्छ । कहिलेकाँही छालामा दाग पनि देखिन्छ । घाउ भयो वा खटिरा आयो भने निको हुँदैन । घाउ छिट्टै राँक्किने र पाक्ने हुन्छ । अतः प्रोटिनयुक्त खानेकुरामा सबैभन्दा असल स्रोत भएको खानेकुरा शाकाहारी खानाबाटै पाइन्छ । जस्तै, भटमास, मह, सागसब्जी राम्रो स्रोतको रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । दूध, दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन् । आमाको दूध बच्चाको लागि अमृतसरह हुन्छ । यदि आमाले बच्चा गर्भमा छँदा र जन्मेपछि प्रोटिन पुग्दो मात्रामा खान्छिन् भने त्यस आमाको दूध खाने बच्चा पुष्ट र स्वस्थ्य हुन्छ । आमाले मिश्रित खाना सेवन गर्दा आमाको दूध प्रशस्त मात्रामा आउँछ । हाम्रो शरीरलाई आवश्यक पर्ने तत्वहरू गाढा हरियो रंगको तरकारीमा भिटामिन र खनिज पदार्थ हुन्छन् । जसले रोगका किटाणु र सरुवा रोग र कमजोरी हुनबाट बचाउँछ ।

फर्सी, गाजर, बकुला र उमारेको गेडागुडीमा प्रशस्त शरीरलाई आवश्यक पर्ने तत्वहरू हुन्छन् साथै सामान्यतयाः भिटामिन ए शरीरको निम्ति अतिआवश्यक हुन्छ । शारीरिक विकास, राम्रो आँखा, आँखाको तेज, स्वस्थ्य छाला, बलियो दाँत र हाड बनाई राख्नका लागि भिटामिन ए आवश्यक हुन्छ । भिटामिन बीले नशासम्बन्धी रोगबाट बचाउँछ । भिटामिन सीले शरीरका कोषहरू बलियो बनाउँछ । विशेषगरी जोर्नीहरू, मुख र गिजालाई फाइदा पु-याउँछ । यसबाहेक यसले घाउ चाँडो निको हुने र शरीरलाई फलामको मात्रा वृद्धि गर्न पनि मद्दछ गर्छ । फलाम भएका खानाले रगत बनाउन सहयोग गर्छ । क्याल्सियमयुक्त खानाले हाड र दाँत बलियो हुन्छ । बोक्रा वा त्यान्द्रा भएका खानाले दिसा खलास गराउँछ । हाम्रो समाजमा अज्ञानका कारण केही साना बालबालिका र वयस्क व्यक्ति पनि गाढा हरियो सागपात खाँदैनन् अतः गाढा हरियो सागपात नखाएर भिटामिन एको कमी हुन्छ । भिटामिन ए आँखाका लागि अतिआवश्यक हुन्छ । यसको कमीले रतन्धो रोग लाग्छ । यस किसिमको समस्या विशेषगरी केटाकेटीमा पाइन्छ ।

त्यस्तै, आँखा ज्यादै दुख्ने समस्या हुन सक्छ । सानो बालक छ भने आँखा मिचिरहन्छ त्यसैगरी आँखामा सेतो थोप्ला देखिन थाल्छ । आँखाको नानी नरम र घाउ भएको हुन्छ । सेतो भागको आकार असाधारण हुन्छ । आँखाको सबै कालो भाग सेतोले ढाक्छ अनि आँखा देख्न सक्दैन र अन्धो हुन्छ । भिटामिन ए कमी भएका व्यक्तिलाई केही हप्तासम्म भिटामिन ए भएका फलफूलजस्तै गाढा हरियो सागपात, पाकेको फर्सी, आँप, गाजर आदि खुवाउनुपर्छ । यदि यस्तो व्यक्तिलाई प्रशस्त हरियो सागपात दिइन्छ भने केही हप्तामा नै आँखाको समस्या हटेर जान्छ । तर उसले निको नभएसम्म सधैँ हरियो सागपात खानुपर्छ र जीवनभर हरियो सागपात प्रयोग गर्नु अतिउत्तम हुन्छ । गाढा हरियो सागसब्जीमा लौहतत्व पाइन्छ । लौहतत्वको अभावले रगतको कमी हुने रोग लाग्छ । अतः यस्तो खानेकुराहरू खानु आवश्यक छ ।

यसै सिलसिलामा हाम्रो संस्कृतिमा श्रावण १५ गतेलाई खिर खाने विशेष रमाइलो पर्वको रूपमा लिइन्छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खिर खाने परम्परा विकास भएको पाइन्छ । श्रावण महिनाभर खिर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा छ । नेपालमा मात्र नभएर भारतमा पनि श्रावण महिनामा खिर खाएमा धेरै शुभ हुने मान्यता पाइन्छ । यो समयमा वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन र ऊर्जामय राख्न हरेक वर्ष श्रावण १५ मा विशेषगरी खुसीयालीसँग खिर खाने चलन छ । हाम्रा पूर्खाहरूले मौसमअनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजलाई चलनचल्तीमा ल्याएको संस्कृतविद् बताउँछन् । गर्मी महिना भएकाले शरीरमा विभिन्नखाले दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले प्रतिरोधात्मक शक्ति बढाउन दूध तथा दूधबाट बनेका पोषिला परिकार खाने गरिन्छ । यो समयमा पानी पर्ने भएकाले जताततै हरियो घाँस हुने र सो घाँस खाई गाईभैँसीले प्रशस्त दूध दिने हुँदा प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने विश्वास अझै रहेको भए पनि आजभोलि खिर खानको लागि साउन नै कुर्न नपर्ने बाह्रै महिना ३६५ दिनै खान सकिन्छ । शाकाहारी खानामा खिर तथा दूधभात मीठो र पोषिलो खानेकुरामा लिइन्छ । खिर बनाउँदा सकेसम्म बास्मती अथवा तराईतिर पाइने करियाकामत होस् वा टाइचुन अथवा अन्य मसिनो बासनादार चामल सो नभए आफूसँग भएको चामलमा दूधमा पकाई सोमा किसमिस, काजु, नरिवलजस्ता विशेष मसला हाली खिर बनाइन्छ ।

हाम्रो चलनचल्तीमा खिर विभिन्न उत्सव, चाडबाड, पूजाआजा, विवाह, व्रतबन्धमा महत्वका साथ बनाइने गरिन्छ । खिर नेपालीबीच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल वा भोर्लाको ठूलाठूला पातको दुना टपरी बनाई सोमा बास्नादार खिर र सेलरोटी खाँदा हामी सबैको मुखै रसाई एक किसिमको आनन्द आउँछ । मानव सभ्यतासँगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ । विषेशगरी शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादका लागि विश्व समुदाय नै यो सफल बनेको छ । खिर अनुपम समिश्रण यस परिकारमा भोजन, पोषणको आकर्षण छ । सेतो दूध र सेतो चामल मिसाई पकाएको भोजनको सम्बन्ध देवताले प्राचीन कालमा गरेको समुद्र मन्थनसँग सम्बन्धित छ, भनिन्छ । सो बेलादेखि दूधलाई शुद्धीकरण गर्ने तत्व र पोषण मिसिएको बहुगुणी अमृतको रूपमा लिइन्छ ।

आयुर्वेदमा खिरलाई प्राचीन भोजनको रूपमा व्याख्या गरिएको छ । खिरलाई पायस तथा कतैकतै तस्मै पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृलाई चढाउने गरिन्छ । हिन्दुहरूको सोह्र श्राद्ध तथा अन्य श्राद्धमा पनि यसको महत्व धेरै छ । भगवान् श्रीकृष्णले कुनै समयमा विजय प्राप्त गरेको सम्झनामा पनि मन्दिरमा दिनदुःखी तथा अन्य मानवलाई प्रसादको रूपमा खिर बाँड्ने चलन छ । श्रावणको मध्यविन्दुमा खिर खाने धेरै प्रचलनमा छ । मुख्यतः श्रावण १५ मा र विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यमा खिर खाने धेरै प्रचलन छ । नेपाली समाजमा श्रावण १५ गते खिर, भाद्र १५ गते पोलेको हरियो मकै, पौष १५ मा घिउ खट्टे, माघे सक्रान्तिमा घिउ चाकु, तरुल, माघ १५ मा मालुवालगायतका चिजबिज बनाई सबै घर परिवार मिली यस्ता शाकाहारी खाना खाने हाम्रो संस्कृति छ । साथै, समयसमयमा यस्ता पदार्थ खाएमा हाम्रो स्वास्थ्य गुणस्तर भई दीर्घजीवन पाउने र हाम्रो संस्कृतिको पनि संरक्षण र प्रवर्द्धन हुने देखिन्छ । (डा.अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।)


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया