Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमुद्रास्फीतिको अर्थ, कारण तथा यसको प्रभाव

मुद्रास्फीतिको अर्थ, कारण तथा यसको प्रभाव


काठमाडौं । सामान्य अर्थमा मुद्रास्फीतिभन्नाले वस्तु तथा सेवाहरूको मूल्यमा हुने वृद्धिलाई जनाउँछ । वस्तु तथा सेवाहरूको मूल्यमा क्रमिक वृद्धि हुँदै गएमा मुद्रास्फीति सिर्जना हुन्छ र मुद्राको मूल्य पनि क्रमिक तवरले घट्न थाल्छ । मुद्राको मूल्य बढ्यो भने वस्तु र सेवाहरूको मूल्य घट्छ, साथै मुद्राको मूल्य र सामान्य मूल्यस्तरमा प्रत्यक्ष विपरीत सम्बन्ध रहेको हुन्छ ।विभिन्न अर्थशास्त्रीहरूले मुद्रास्फीतिको परिभाषा भिन्दाभिन्दै दिएका छन् । क्राउथरको शब्दमा मुद्राको मूल्य घट्ने र वस्तु तथा सेवाहरूको मूल्य बढ्ने अवस्थालाई मुद्रास्फीति भनिन्छ ।यो परिभाषा सरल छ तर पनि वस्तु र सेवाहरूको मूल्य वृद्धि हुनासाथ मुद्रास्फीतिको अवस्था छ भन्न सकिँदैन ।ई. डव्लु. केमररका अनुसार व्यवसायको परिमाणको अनुपातमा मुद्राको परिमाण बढी भएमा यस्तो अवस्थालाई मुद्रास्फीति भनिन्छ ।

अर्थशास्त्री किन्सले सबै साधनहरूको पूर्ण उपयोग भईसकेपछि मौद्रिक आय तथा प्रभावकारी माग वृद्धिबाट मूल्य वृद्धिलाई नै वास्तविक मुद्रास्फीति मानेका छन् ।मुद्रास्फीति भन्नाले जुन अनुपातमा मुद्रा बढिरहेको हुन्छ, त्यही अनुपातमा व्यापारको परिमाण बढेमा मुद्रास्फीतिको स्थिति उत्पन्न हुँदैन ।जुन अनुपातमा मानिसको मौद्रिक आयस्तर बढिरहेको हुन्छ, त्यही अनुपातमा आयस्तर बढाउने क्रियाकलापमा पनि वृद्धि भइरहेको अवस्थामा मुद्रास्फीति आउँदैन । यसको विपरीत आयस्तर बढाउने क्रियाकलापमा वृद्धि नभई आय श्रोत मात्र बढी रह्यो भने मुद्रास्फीतिको अवस्था आउँछ ।जबदेशमा उत्पादनका साधनहरूको पूर्ण सदुपयोग भई पूर्ण रोजगारीको स्थिति आउँछ र अरु उत्पादन बढाउनसक्ने अवस्था नभएको स्थितिमा मुद्राको पूर्ति बढाएमा मुद्रास्फीति आउँछ ।

मुद्राको मात्रा धेरै र वस्तुहरूको मात्रा तुलनात्मक रूपमा कम हुन गई वस्तुहरूको मूल्यमा वृद्धि हुँदै जाने स्थितिलाई मुद्रास्फीति भनिन्छ तर त्यति सजिलैसँग वस्तु तथा सेवाको परिमाणमा वृद्धि गर्न सकिँदैन । मुद्राको परिमाणमा वृद्धि हुँदै जाँदा वस्तु तथा सेवाको मागमा पनि वृद्धि हुँदै जान्छ तर वस्तु तथा सेवाको परिमाणमा वृद्धि त्यही अनुपातमा नहुने भएकोले सामान्य मूल्यस्तर बढ्दै जान्छ । त्यसैलाई मुद्रास्फीति भनिन्छ । मुद्राको क्रयशक्ति पनि घट्ने हुन्छ । मुद्रास्फीतिले अर्थव्यवस्थामा अस्थिरता र मूल्य वृद्धिको स्थितिलाई सूचित गर्दछ, तापनि मूल्य वृद्धिको अवस्थालाई सँधै पूर्णस्फीतिको अवस्था मान्नु हुँदैन ।

मुद्रास्फीतिका प्रकारहरूमा मुद्रा प्रचलनस्फीति, वस्तुस्फीति, मुनाफास्फीति, उत्पादनस्फीति, ज्यालास्फीति, साखस्फीति,पूर्ण मुद्रास्फीति वा आंशिक मुद्रास्फीति, स्वतन्त्र मुद्रास्फीति, नियन्त्रित मुद्रास्फीति, घस्रने मुद्रास्फीति, हिँड्ने मुद्रास्फीति, दौडने मुद्रास्फीति, अति मुद्रास्फीति, गतिहीन स्फीति आदि पर्दछन् । यस्तै मुद्रास्फीतिका कारणहरूमासरकारी नीति, घाटा अर्थव्यवस्था वा न्यून वित्त परिचालन, प्राकृतिक कारण, आय तथा उत्पादनसम्बन्धी कारणव्यापार तथा कर सम्बन्धी सरकारी नीति, मुद्राको चलनवेगमा वृद्धि आदि पर्दछन् ।

मानिसको उपभोग गर्ने प्रवृत्ति बढ्नाले मुद्राको चलनवेग बढ्छ । मुद्राको चलनवेग बढ्नाले परिमाण र कर्जा विस्तार बढ्न गई मुद्रास्फीति आउँछ । वाणिज्य बैंकहरूले कहिलेकाहीँ आफ्नो नगद मौज्दात कम गरी कर्जा विस्तार गर्ने नीति अपनाउँछन् । यसरी मुद्राको परिमाण र कर्जाको विस्तार बढ्न गई मुद्रास्फीति आउँछ । यसका साथै देशमा तीव्ररूपले जनसंख्या बढेमा र त्यसको अनुपातमा उत्पादन बढ्न नसक्दा मूल्यवृद्धि हुन्छ र मुद्रास्फीति आउँछ । मुद्रास्फीतिले सम्पूर्ण समाज र वर्गलाई प्रभाव पार्दछ । मुद्रा प्रसारले कसैलाई फाइदा पनि हुन्छ भने कसैलाई घाटा भईरहेको हुन्छ  । निश्चित आम्दानी हुने उपभोक्ताहरूलाई मुद्रास्फीतिले प्रतिकूल असर पार्दछ । तर मुद्रास्फीतिसँगै आयस्तर वढ्ने उपभोक्ताहरूलाई भने यसले केही असर पार्दैन । लगानीकर्ताहरूलाई वस्तु वा सेवाको मूल्य वृद्धि हुँदा बढी मुनाफा वा लाभांश आर्जन हुनेहुँदा फाइदा प्राप्त हुन्छ ।मुद्रास्फीतिद्वारा सरकारी तथा संस्थानका कर्मचारी, प्राध्यापक, शिक्षक आदिको तलबमा प्रतिकूल असर पार्छ किनभने मुद्रास्फीति हुँदैमा उनीहरूको तलब भत्ता बढ्दैन । मुद्रास्फीतिमा ऋणीहरूले फाइदा प्राप्त गर्दछन् भने ऋणदाताहरूलाई बेफाइदा हुन्छ । मुद्रास्फीतिमा मुद्राप्रति जनताको विश्वास घट्ने हुनाले बचत गर्नुभन्दा उपभोग्य वस्तुहरूमा बढी खर्च गर्दछन् । मुद्रास्फीतिको समयमा नाफाखोर प्रवृत्ति प्रोत्साहित हुनेहुँदा कालो बजारी, सट्टाबाजी, भ्रष्टाचार र व्यभिचार बढ्न थाल्दछ । यसले समाजलाई आर्थिक, सामाजिक र नैतिक रूपमा पतनोन्मुख तुल्याउँछ ।

मुद्राको कुनै एक एकाइले बजारमा किन्न सक्ने वस्तु तथा सेवाको परिमाणलाई मुद्राको मूल्य भनिन्छ । हरेक वस्तु तथा सेवाहरूको मूल्य मुद्रामा व्यक्त गरिएको हुन्छ भने मुद्राको मूल्य वस्तु तथा सेवामा व्यक्त गरिएको हुन्छ । मुद्रा स्वयंमा त्यसको मूल्य निहित नभई वस्तु तथा सेवाको मूल्यमा त्यसको मूल्य निहित हुन्छ । उदाहरणका लागिः एउटा अर्थशास्त्रको किताबको मूल्य रु.३०० छ र उक्त मूल्य तिरी उक्त किताब बजारबाट किन्नुपर्दछ भने अब रु. ३०० मुद्राको मूल्य उक्त किताब हो । यहाँ स्मरणीय कुरा के छ भने अर्थशास्त्रको किताबको मूल्य रु. ३०० हो भने रु. ३०० मुद्राको मूल्य त्यो अर्थशास्त्रको किताब हो । त्यसैले वस्तु तथा सेवाको मूल्य वस्तु तथा सेवामा र मुद्राको मूल्य मुद्रामा नै थाहा पाउन सकिन्छ । मुद्राको मूल्य देशअनुसार पनि फरक–फरक हुन सक्दछ । नेपालको मुद्रा, भारतको मुद्रा, अमेरिकाको मुद्रा वा अन्य कुनै देशको मुद्राको मूल्य एक आपसमा भिन्न हुने गर्दछ । जस्तैः नेपालको रु. १०० ले बजारमा २ किलो चामल किन्न सक्दछ भने भारतको रु. १०० ले ८ किलो चामल किन्न सक्दछ । त्यसैगरी अमेरिकाको रु. १०० ले ४० किलो किन्न सक्दछ । यसरी देशअनुसार मुद्राको मूल्य फरक हुने प्रमुख कारण मुद्राको माग तथा पूर्ति हो । यसका साथै अन्य कारणहरूमा देशको वित्तीय तथा मौद्रिक अवस्था तथा नीति र देशको आर्थिक विकास आदि हुन् ।

आ.व.२०७८/७९ को वार्षिक तथ्यांकमा आधारितनेपाल राष्ट्र बैँक अनुसन्धान विभागद्वारा प्रकाशित प्रतिवेदन अनुसार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति२०७९ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । विश्वव्यापी रूपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आ.व. २०७८/७९ का पछिल्ला महिनाहरूमा मुद्रास्फीतिमा चाप रहन पुग्यो । यद्यपि आ.व.२०७८/७९ को सुरुवाती महिनाहरूमा न्यून मुद्रास्फीति रहेका कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा सीमित रह्यो । अघिल्लो आ.वमा यस्तो मुद्रास्फीति ३.६० प्रतिशत रहेको थियो । यसकासाथै गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा, फर्निसिङ तथा घरायसी उपकरणहरू र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः १५.८२ प्रतिशत, ८.७८ प्रतिशत, ७.०९ प्रतिशत र ६.६८ प्रतिशत रहेको छ ।

आ.व.२०७८/७९ मा खाद्य तथापेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ । आ.व. २०७८/७९ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । आ.व. २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ५.७३ प्रतिशत, तराईमा ६.४१ प्रतिशत, पहाडमा ६.८७ प्रतिशत र हिमालमा ६.०७ प्रतिशत रहेको छ । २०७९ असार महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । सन् २०२२ जुलाई महिनामा भारतको यस्तो मुद्रास्फीति ६.७१ प्रतिशत रहेको छ । आ.व. २०७८/७९ मा वार्षिक औसत थोक मुद्रास्फीति ९.५१ प्रतिशत रहेको छ । अघिल्लो आ.व.मा यस्तो मुद्रास्फीति७.६१ प्रतिशत रहेको थियो । २०७९ असार महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १२.७४ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ८.२१ प्रतिशत रहेको थियो ।

आ.व.२०७९/८० को फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ७.९३ प्रतिशत रहेको छ । गत आ.व.को सोही अवधिमा यस्तो मुद्रास्फीति ५.५३ प्रतिशत रहेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन महिनामा उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । गत आ.व.को सोही महिनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो । वार्षिक बिन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २०७९ फागुनमा ५.६४ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत खाद्य तथा खाद्यजन्य पदार्थ उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.३५ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.०९ प्रतिशत रहेको छ । त्यसैगरी, यस्तो सूचकाङ्क मरमसलाको १०.८८ प्रतिशत, सूर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको छ । २०७८ फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत रहेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन महिनामा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १३.२३ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुको ९.७२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ८.७९ प्रतिशतले बढेको छ । २०७८ फागुनमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागून महिनामा तलब ज्यालादर सूचकाङ्क ८.५६ प्रतिशतले बढेको छ । २०७९ फागुनमा तलब सूचकाङ्क र सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ७.४५ प्रतिशतले बढेको छ । २०७८ फागूनमा तलब तथा ज्यालादर सूचकाङ्क ७.२६ प्रतिशतले बढेको थियो ।

स्वदेशी बजारमा २०७९ असार मसान्तमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १८१ रुपैयाँ रहेको १.७ प्रतिशतले घटेर २०७९ फागुन मसान्तमा १७८ रुपैयाँ कायम भएको छ । यसैगरी, २०७९ असार मसान्तमा प्रतिलिटर १७२ रुपैयाँ रहेको डिजेल र मट्टीतेलको खुद्रा मूल्य १.७४ प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा १७५ रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तमा प्रतिलिटर १९० रुपैयाँ रहेको आन्तरिक हवाई इन्धनको खुद्रा मूल्य १०.५ प्रतिशतले घटेर २०७९ फागुन मसान्तमा १७० रुपैयाँ पुगेको छ । यस अवधिमा प्रति सिलिण्डर एल.पी. ग्याँसको खुद्रा मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

वर्तमान पन्ध्रौँ योजना २०७६–२०८१ मा मुद्रास्फीति तथा मूल्य नीति अन्तर्गत मूल्य स्थिरतामार्फत् समष्टिगत आर्थिक स्थायित्व ल्याउने सोच राखिएको छ भने उच्च मूल्य वृद्धिलाई नियन्त्रण गर्दै बजार प्रतिस्पर्धाको सुदृढीकरण मार्फत् मूल्य स्थिरता कायम गर्ने लक्ष्य राखिएको पाइन्छ । यसका साथसाथै मूल्य वृद्धिलाई वाञ्छित सीमामा राखी आन्तरिक बजारमा नेपाली मुद्राको क्रयशक्ति खस्कन नदिनु र निर्यातयोग्य वस्तु तथा सेवाको प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्य राखिएको छ । त्यस्तै यस योजना अवधिमा नीतिगत, कानुनी र संरचनागत व्यवस्थामार्फत् मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्ने, उत्पादन तथा उत्पादकत्व वृद्धिगरी आपूर्ति व्यवस्थालाई सहज बनाउने, अत्यावश्यक वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था गर्दै उपभोक्ताको क्रयशक्तिमा सुुधार ल्याइने र बजार अनुगमन तथा नियमन प्रणालीलाई सुदृढ गरी एकाधिकार, कालोबजारी, सिण्डिकेट तथा बिचौलियाको अन्त्य गर्ने रणनीति समेत राखिएको देखिन्छ ।

मुद्रास्फीतिको अवस्था नियन्त्रण गर्नदेशको केन्द्रीय बैंकले पुनः वट्टादरको वृद्धि, खुल्लाबजारमा सरकारी सुरक्षणपत्रहरूको बिक्री, उपभोक्ता साख नियन्त्रण र आवश्यकताहरू वृद्धिजस्ता मौद्रिक उपायद्वारा मुद्रास्फीतिको नियन्त्रण गर्न सकिन्छ ।केन्द्रीय बैंकले वाणिज्य बैंकहरूको सुरक्षणको अनुपातमा वृद्धि गरिदिएमा वाणिज्य बैंकहरूसँग नगद निक्षेप घट्न गई कर्जा विस्तार क्षमतामा ह्रास हुन्छ । मौद्रिक विस्तार घटेर मूल्यस्तरमा ह्रास आउन थाल्छ । मुद्रास्फीतिमा हर–तरहले उत्पादन बढाउने नीति अवलम्बन गर्नुपर्दछ र उत्पादनका साधनहरू अन्य क्षेत्रमा हतोत्साहित गरी अत्यावश्यक वस्तुमा उपयोग गर्न प्रोत्साहन दिनुपर्दछ ।ज्यालादर बढ्न दिएमा मौद्रिक आय तथा प्रभावकारी माग बढ्न गई मुद्रास्फीति झन् तीव्र हुने हुँदा ज्याला वृद्धिमा रोक लगाउनु आवश्यक छ ।मुद्रास्फीतिको समयमा मुनाफामा वृद्धि भई लाभांशमा तीव्र वृद्धि गरिँदा मुद्रास्फीतिमा प्रोत्साहन पाइने हुँदा लाभांश वृद्धिमा अंकुश लगाउनु राम्रो हुनेछ ।सरकारी प्रशासनमा भईरहेको बढी खर्च कटौती र अनुत्पादक खर्चलाई हतोत्साहित गरी मूल्य वृद्धि नियन्त्रण गर्न सकिन्छ ।सरकारले जनताबाट बढी ऋण उठाउने र उत्पादनशील क्रियाकलापहरूमा लगाई उत्पादन बढाउने प्रयास गर्नुपर्छ । यसोगर्दा जनताको क्रयशक्ति घट्न गई मूल्य नियन्त्रण हुन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया