बहुराष्ट्रिय कम्पनीबाट के फाइदा ?
काठमाडौं । खुला तथा उदार अर्थ प्रणालीको कारणले गर्दा कुनै पनि उद्योगी, व्यापारी तथा व्यावसायिक संगठनहरू एक देशबाट अर्को देशमा उद्योग तथा व्यापार सञ्चालन गर्न स्थानान्तरण भएका हुन्छन् । यसबाट एकातिर अर्को मुलुकमा गएर नाफा कमाउने सम्भावना बढी हुन्छ भने जुन देशमा व्यापारिक गतिविधि सञ्चालन गरिएका हुन्छन्, त्यस देशको आर्थिक विकासमा पनि सहयोग पुगेको हुन्छ । यसरी एउटा देशको व्यापारी, उद्योगी तथा आर्थिक संगठनहरूले दुवै देशको आर्थिक विकासमा सहयोग पुर्याउने कार्य गरेका हुन्छन् ।
विश्व नै भू–मण्डलीय हुँदै गएको अवस्थामा ठूला–ठूला कर्पोरेट घरानियाहरू विभिन्न देशमा गएका हुन्छन् । आफ्नो देशमा ठूला–ठूला उद्योग सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधारहरू निर्माण भइनसकेका पनि हुन सक्छन् । उद्योग तथा कलकारखाना सञ्चालन गर्न चाहिने कच्चा पदार्थ, निर्माण सामग्री, दक्ष तथा अदक्ष जनशक्ति, बत्ती, पानीलगायत अन्य कतिपय अवयवहरूको अभाव भएका हुन्छन् । यस अवस्थामा स्वदेशमा उद्योग तथा व्यवसाय सञ्चालन गर्न ज्यादै कठिन हुन्छ भने अर्कोतर्फ केही गरी सञ्चालन गरे पनि उत्पादित वस्तु महँगा हुन्छन् र बजारमा माग सिर्जन हुन सक्दैन । यसकारण कतिपय उद्योगी व्यवसायीहरू जहाँ व्यवसाय सञ्चालन गर्दा कम लागत र खपत हुन्छ त्यहीँ लगानी गरेका हुन्छन् । यसरी बहुराष्ट्रिय कम्पनीको धारणा विकास भएको पाइन्छ ।
बहुराष्ट्रिय कम्पनी कुनै एक देशमा मात्र सीमित भएका हुँदैनन् । यिनीहरूको कार्यस्थल अरू देशहरूमा पनि हुन्छन् । जुन देशमा संगठनात्मक व्यापारिक कार्य गरेका हुन्छन् ती देशका ऐन कानुनबाट बाँधिएका हुन्छन् र पालना गर्न बाध्य पनि हुन्छन् । त्यसकारण मुनाफाको लक्ष्य लिएर स्थापना भएका यस्ता बहुराष्ट्रिय कम्पनीहरूले पहिले नै सबै कुरा अध्ययन गरेर मात्र लगानी गरेका हुन्छन् ।
अहिले नेपालको अर्थतन्त्र शिथिल अवस्थामा छ । उद्योगधन्दा, कलकारखाना सबै धराशायी अवस्थामा छन् । समग्र अर्थतन्त्रको संरचनामा ८० प्रतिशतभन्दा बढी अंश ओगटेको निजी क्षेत्र धराशायी हुँदा देशको अर्थतन्त्र कमजोर हुनु स्वाभाविकै हुन आउँछ । आन्तरिक उत्पादन हुन नसक्दा सरकारी राजस्वमा गिरावट हुन गएको छ । जसका कारणले सरकारी खर्चमा प्रत्यक्ष असर पर्न गएको छ । लगानी बढ्न नसकेको कारणले आर्थिक क्रियाकलापमा शिथिलता आएको छ । एकातिर बेरोजगारी बढेको छ भने अर्कोतर्फ मूल्यवृद्धि भएको छ । अहिले नेपालमा यही भएको देखिन्छ । यस अवस्थामा बहुराष्ट्रिय कम्पनीबाट फाइदा लिन सकिन्छ ।
मूलतः बहुराष्ट्रिय कम्पनीहरूले विशिष्ट प्रकारका व्यवसायहरू सञ्चालन गरेका हुन्छन् । उनीहरूले सानातिना कार्यका लागि लगानी गरेका हुंदैनन् । ठूला संगठनहरूले साना व्यवसायमा लगानी गर्दा खर्च धेरै र प्रतिफल कम हुने गर्छ । मनग्गे नाफा कमाएर स्वदेश फर्कने भएकाले यस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूको लगानी देशको हितमा हुँदैन भन्ने पनि छ ।
आन्तरिक उत्पादन बढाउन नसकिएको अवस्थामा केही हदसम्म यस्ता बहुराष्ट्रिय कम्पनीहरूले देशको अर्थतन्त्रमा केही मात्रामा भए पनि सहयोग पु¥याएकै हुन्छन् । अहिले नेपालमा एसबीआई, स्टाण्डर्ड चार्टर्ड बैंक, कोकाकोला, पेप्सी, युनिलिभर, टेलिकमजस्ता क्षेत्रमा लगानी गरेका छन् । जसले देशको अभावको केही अंशलाई भने पनि पूरा गरेका छन् ।
नेपालजस्ता अति कम विकसित मुलुकका लागि वैदेशिक लगानी आवश्यक भएकै हुन्छ । किनभने देशमा वित्तीय, आर्थिक तथा मानवीय साधन स्रोतको अभाव भएकै हुन्छ । त्यसरी नै प्रविधिको पनि अभाव हुने गर्छ । यस्तो अवस्थामा वैदेशिक लगानी अनिवार्य नै हुन्छ । देशको आर्थिक अवस्थालाई बुझेर नै प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको भ्रमण गर्दा त्यहाँका उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए । नेपालमा लगानी गर्न विभिन्न समस्या हुनाले लगानी गर्ने वातावरण छैन भनेका थिए । त्यसकारण बहुराष्ट्रिय कम्पनीहरू नेपालमा लगानी गर्न इच्छुक भएका देखिँदैनन् । तर, विदेशी लगानी हुन सक्ने सम्भावना भने प्रचुरमात्रामा रहेको छ । किनभने व्यापार, उत्पादन, सेवाजस्ता कम्पनी सञ्चालन गर्न नेपालमा धेरै सजिलो छ । यहाँ उपलब्ध हुने श्रम अन्य देशको तुलनामा निकै सस्तो छ । हावापानीको अनकुलता छ । विद्युत् तथा पानीको पहुँच बढ्दो क्रममा छ । जुन सामान प्राप्त गर्न सकिँदैन त्यस्ता सामान ल्याउन छिमेकी देश भारत तथा चीनबाट सजिलो छ । यस्तो अनुकूलको वातावरण हुँदाहुँदै पनि नेपालमा केही बहुराष्ट्रिय कम्पनीहरूले मात्र लगानी गरेका छन् ।
जसले जेजस्तो भाष्य निर्माण गरे पनि गरिब मुलुकको आर्थिक विकासको लागि बहुराष्ट्रिय कम्पनीहरूलाई भित्र्याउनै पर्छ । विदेशी लगानी भित्र्याउँदा देशका लागि केही बेफाइदा त हुने नै गर्छन् । तर पनि फाइदा नै बढी लिन सकिने हुन्छ । बहुराष्ट्रिय कम्पनीहरूको आगमनले मूलतः रोजगारीमा वृद्धि हुने गर्छ । नेपालमा स्थापना भएका कम्पनीहरूले राम्रै रोजगारी दिएका छन् । कैयौँ मानिसहरूको आयवृद्धि भएको छ । यी कम्पनीहरूले विदेशी मुद्रा भित्र्याउन पनि त्यत्तिकै सहयोग पुर्याएका हुन्छन् । वैदेशिक मुद्रा सञ्चितिमा सहयोग गर्ने भएका वस्तु आयात गर्न सजिलो हुन्छ । उत्पादनमा वृद्धि हुने हुँदा राज्यको राजस्वमा पनि वृद्धि हुन जान्छ । उत्पादनको वृद्धिले मूल्यवृद्धि हुन दिँदैन र वितरण प्रणाली पनि सहज हुने गर्छ । यस्ता ठूला कम्पनीको आगमनले नयाँनयाँ प्रविधिको विकास, विदेशी सामग्रीको आपूर्ति तथा औद्योगिक वातावरणको सिर्जना हुने भएकाले पनि अविकसित देशहरूका लागि लाभदायक नै देखिन्छन् ।
बहुराष्ट्रिय कम्पनीहरूबाट देशको अर्थतन्त्रमा जोखिम निम्त्याउने सम्भावना पनि रहेको हुन्छ । देशको अर्थतन्त्र आत्मनिर्भरभन्दा पनि परनिर्भरता बन्दै जान्छ । उत्पादित सामान आन्तरिक उत्पादनभन्दा सस्ता हुने गर्छन् । यसकारण स्वदेशी उत्पादन विस्थापित हुने सम्भावना बढ्ने हुन्छ । बहुराष्ट्रिय कम्पनीहरूले आर्जन गरेको सम्पत्ति बाहिरिने हुँदा स्वदेशमा वित्तीय अभाव हुन सक्छ । किनभने उनीहरूको मुख्य लक्ष्य भनेको नै नाफा कमाएर आफ्नो देशमा पैसा लैजानु हो ।
अर्को कुरा, बहुराष्ट्रिय कम्पनीहरूका पनि आफ्नै समस्या छन् । सम्बन्धित देशको ऐन कानुनहरू उद्योगकमैत्री नहुनु, समयसमयमा मजदुर र मालिकबीच विवाद आउनु, बन्द, हड्तालको असर पर्नु, कच्चा पदार्थको अभाव, सुशासनको अभावजस्ता समस्या आएका हुन्छन् । यीभन्दा पनि बढी पेचिलो त छिटोछिटो नीति परिवर्तन गरिनु, आर्जित नाफा फिर्ता लैजान समस्या हुनु, प्रशासनिक झन्झट , ढिलासुस्ती तथा समयजन्य प्रक्रियाले बहुराष्ट्रिय कम्पनीहरू नेपालमा आकर्षित हुन सकिरहेका छैनन् ।
विदेशी लगानी भित्र्याउने सम्बन्धमा बहुराष्ट्रिय कम्पनीहरू र देशबीच विभिन्न समस्याहरू रहेका हुन्छन् । दुवै पक्षका समस्याहरूलाई दुवै पक्षले फाइदा हुनेगरी कार्य अघि बढाएमा फाइदा नै हुनेछ । त्यसकारण समस्याको समाधान गरी अधिकतम प्रतिफल लिनेतर्फ दुवै पक्षको त्यत्तिकै भूमिका रहेको हुन्छ ।
अहिलेको भू–मण्डलीय अर्थतन्त्रमा बहुराष्ट्रिय कम्पनीहरू भित्र्याउने काम सबै देशहरूले गरेकै हुन्छन् । किनभने आफ्नो देशमा ठूलाठूला कम्पनी स्थापना गर्नुभन्दा अन्य देशहरूमा स्थापना गर्दा बढी प्रतिफल प्राप्त गर्न सकिने हुन्छ भने किन स्वदेशमा सञ्चालन गर्ने ? त्यसैले बहुराष्ट्रिय कम्पनीहरूले बढी प्रतिफल प्राप्त गर्न सकिने सम्भावित देशहरूको खोजी गरिरहेका हुन्छन् ।
नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा उच्च नेतृत्व तहदेखि कार्यकर्ताहरू समेतले विदेशी लगानीको लागि आह्वान गरी नै रहेका हुन्छन् । तर लगानी भने आउन सकिरहेको छैन । लगानीको जति कुरा गरे पनि आन्तरिक तयारी नहुँदा र सहजीकरणको अभावको कारणले गर्दा नेपालमा बहुराष्ट्रिय कम्पनीहरू आकर्षित हुन नसकेको अहिलेको अवस्था हो । लगानी गर भन्दैमा लगानी आउने होइन भन्ने कुरा राज्यले बुझ्नु पर्छ र तदनुरूप कार्य अगाडि बढाउनुपर्छ । हाम्रा छिमेकी देशहरूले पनि बहुराष्ट्रिय कम्पनीहरू भित्र्याएर देशको अर्थतन्त्र बलियो बनाएका हुन् भन्ने तथ्यलाई बिर्सिनुहुन्न ।
नेपालमा केही मात्र बहुराष्ट्रिय कम्पनीहरू स्थापना भएका छन् । यहाँको प्रशासनिक झण्झट, सुशासनको अभाव, बारम्बार नीतिमा हुने परिवर्तन, मुद्दा मामिला, प्रक्रियागत समस्या आदिको कारणले गर्दा नयाँ कम्पनी आउन सकिरहेका छैनन् भने सञ्चालनमा रहेका कम्पनीहरू पनि पलायन हुने अवस्थामा देखिन्छन् । लगानीको कुरा गर्न धेरै सजिलो छ तर ल्याउनेतर्फ आवश्यक पर्ने पूर्वाधार एवम् सहजीकरणका लागि काम भएको देखिँदैन ।
बहुराष्ट्रिय कम्पनीहरूले देशको आन्तरिक अर्थतन्त्रलाई कमजोर बनाउँछन् भन्ने पनि गरिन्छ । तर त्यस्तो होइन किनभने उनीहरूले गर्ने कामको निश्चित सीमा तोकिएको हुन्छ । देशको ऐन कानुनभित्र रहनुपर्ने हुन्छ । बरु कुनै पनि देशको अर्थ व्यवस्था एवम् अर्थतन्त्रको विकासका लागि योगदान नै पु¥याएका हुन्छन् । अहिले नेपालमा सबैभन्दा बढी राजस्व बुझाउनेमा यिनै बहुराष्ट्रिय कम्पनीहरू पर्छन् ।
अहिले देशको अर्थतन्त्र खुम्चिँदै गएको अवस्था छ । वित्तीय साधन स्रोत न्यून भएको छ । भएका उद्योगहरू पनि थलापर्दै गएका छन् । केही उत्पादन भए पनि उत्पादन लागत बढेको छ । मूल्यवृद्धिको कारणले गर्दा बजारमा माग घट्दै गएको छ । यस्तो अवस्थामा बहुराष्ट्रिय कम्पनीहरूलाई भित्र्याउन सकियो भने देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने नै हुन्छ । यसका लागि स्थायी र दिगो वातावरणको निर्माण गरिनुपर्छ । कर्पोरेट संस्कृतिको विकासले अर्थतन्त्र प्रभावकारी हुनेछ । यसका लागि बहुराष्ट्रिय कम्पनीसम्बन्धी मौजुदा ऐन, कानुनलाई समयानुकूल बनाउनुपर्छ र नयाँ कानुनहरू निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्छ । (लेखक नेपाल सरकारका पूर्व उपसचिव हुनुहुन्छ। )
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया