Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसाना देशमा पर्यटन क्षेत्रको योगदान

साना देशमा पर्यटन क्षेत्रको योगदान


काठमाडौं । केही वर्षयता विश्वका साना देशमा पर्यटन क्षेत्रको विकास तीव्र गतिले भइरहेको छ । फलतः यी देशहरूको अर्थतन्त्रमा उक्त क्षेत्रको योगदान पनि बढिरहेको छ ।

उदाहरणका लागि सन् २०१९ मा मकाउको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ५२ दशमलव दुई प्रतिशत थियो भने दक्षिण एसियाको सानो देश मालदिभ्सको कुल गार्हस्थ उत्पादनमा उक्त क्षेत्रको योगदान २६ दशमलव प्रतिशत थियो । यसैगरी, सेसेल्स नामको सानो देशको कुल गार्हस्थ उत्पादनमा उक्त क्षेत्रको योगदान २६ दशमलव चार प्रतिशत थियो । जसलाई न्यून मान्न सकिँदैन ।

सन् २०१९ मा विश्वका सात देशका कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान दश प्रतिशतभन्दा बढी थियो । बाँकी देशहरूमा खासगरी एसिया प्रशान्त क्षेत्रका देशहरूमा उक्त क्षेत्रको ठोस विकास भएन । सन् २०१९ मा नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान नगण्य थियो । त्यसैले, उक्त वर्ष पर्यटन विकासको सन्दर्भमा नेपाल विश्वको ८८औं स्थानमा रहेको थियो ।

सन् २०२१ मा ‘द ग्लोबल इकोनोमी डटकम’ले पर्यटन क्षेत्रबाट कुल गार्हस्थ उत्पादनमा दश प्रतिशतभन्दा बढी योगदान प्राप्त गर्ने देशका नाम आफ्नो प्रतिवेदनमा समावेश गरेको थियो । सो प्रतिवेदनअनुसार सन् २०२१ मा अरुबा भन्ने सानो देशको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४१ दशमलव २६ प्रतिशत भई पहिलो स्थानमा रहेको थियो भने सार्क क्षेत्रको सानो देश मालदिभ्सको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३७ दशमलव ६१ प्रतिशत भई विश्वको दोस्रो स्थानमा रहेको थियो । यसैगरी, एन्टिगवा एन्ड बर्बाडोस भन्ने सानो देशको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको ३० दशमलव ३६ प्रतिशत योगदान थियो भने नेदरल्यान्डको मातहतमा रहेको एन्टिलेस टापुको कुल गार्हस्थ उत्पादनमा उक्त क्षेत्रको योगदान २३ दशमलव तीन प्रतिशत थियो ।

सन् २०२१ मा सम्बन्धित देशका कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रबाट दश प्रतिशतभन्दा बढी योगदान प्राप्त गर्ने देशहरूमध्ये सबैभन्दा सानो देश बहमास हो । उक्त वर्ष यसको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० दशमलव ३८ प्रतिशत थियो ।

सन् २०२१ मा नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान नगन्य थियो । तसर्थ, ‘ग्लोबल इकोनोमी डटकम’ले त्यसबेला प्रकाशित गरेको एक प्रतिवेदनअनुसार उक्त वर्ष यहाँको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान शून्य दशमलव ७१ प्रतिशत मात्र थियो । जुन अन्य साना राष्ट्रहरूको तुलनामा न्यून हो ।

विश्वमा कोभिडको असर न्यून भएपछि अन्तर्राष्ट्रिय मापदण्डहरू खुकुलो बनाइएका छन् भने व्यावसायिक वातावरण सहज बन्दै गएको छ । यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पर्यटकीय क्षेत्रको प्रभावकारी बजारीकरणका नयाँ रणनीतिक कार्ययोजना बनाउन तयारी भएकोले आगामी वर्षहरूमा नेपाललगायत विश्वका धेरै देशमा पर्यटकहरूको संख्या बढ्ने सम्भावना छ ।

नेपाल सरकारले हरेक वार्षिक बजेटमा सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्य स्थलहरूको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्दै लैजाने कुरा उल्लेख गर्दै आएको छ । यसबाहेक नेपाल सरकारले एकातर्फ सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको छ भने अर्कातर्फ सन् २०२२ देखि सन् २०३२ सम्मलाई पर्यटन दशकको रूपमा मनाएर यहाँ प्रतिवर्ष ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

वर्तमान समयमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र विदेशी पर्यटकहरू नेपाल आउँछन् । भविष्यमा पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्णरूपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकहरूको संख्या बढ्न सक्ने सम्भावना छ ।

हाल नेपालका विभिन्न ठाउँहरूमा ठूला तारे होटेलहरूबाट स्थापना गर्ने क्रम बढिरहेकाले भविष्यमा विदेशमा बजारीकरण बढ्नेछ । जसको फलस्वरुप आगामी दिनहरूमा यहाँ पर्यटकहरूको संख्या निकै नै बढ्नेछ ।

नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइँ अवधि अन्य देशहरूको तुलनामा न्यून छ । तसर्थ, हालसम्म पनि यहाँको पर्यटन उद्योगबाट आशा गरेअनुरूप फाइदा प्राप्त गर्न सकिएको छैन । उदाहरणका लागि सन् २०१७ मा यहाँ आएका विदेशी पर्यटकहरूको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइँ १२ दशमलव छ दिन थियो भने सन् २०१८ र सन् २०१९ उक्त अवधि १२ दशमलव चार दिन थियो ।

सन् २०२० मा यहाँ भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको औसत बसाइ केही बढे पनि सन् २०२१ मा सो अवधि १५ दशमलव १ दिन पुगेको थियो । जुन हालसम्मको बढी मानिन्छ ।

नेपालमा आउने विदेशी पर्यटकहरूले यहाँको अर्थतन्त्रमा केही प्रभाव पार्छन् । परन्तु, छोटो बसाइको कारण उनीहरूले थोरै रकम मात्र खर्च गर्छन् । त्यसैले, उनीहरूले यहाँको अर्थतन्त्रमा थोरै मात्र योगदान पुर्याउँछन् ।

उदाहरणका लागि सन् २०१७ मा यहाँ आउने विदेशी पर्यटकहरूले प्रतिदिन प्रतिव्यक्ति औसत ५४ डलर खर्च गरेका थिए भने सन् २०१८ मा ४४ डलर मात्र खर्च गरेका थिए । यसैगरी, सन् २०१९ मा यहाँ आएका विदेशी पर्यटकहरूको प्रतिदिन प्रतिव्यक्ति औसत खर्च ४८ डलर थियो । यद्यपि, सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको प्रतिदिन प्रतिव्यक्ति खर्च ६५ डलर पुगेको थियो । जुन हालसम्मको बढी औसत खर्च मानिन्छ ।

यथार्थतः पर्यटन विकासका लागि भविष्यमा यहाँ आउने विदेशी पर्यटकहरूका औसत बसाइ अवधि बढाउन सक्नुपर्छ । यसका लागि एकातर्फ उनीहरूलाई बढी सुविधा दिन आवश्यक छ भने अर्कातर्फ उपयुक्त योजना बनाई कार्यान्वयन गर्न उत्तिकै जरुरी छ । नेपालमा आर्थिक वर्ष २०७९।८० को सुरुदेखि नै पर्यटकहरूको आगमनमा सुधार हुन थाल्यो । किनभने कोभिड–१९ को असर कम भएपछि अन्तर्राष्ट्रिय मापदण्डहरू खुकुलो बनाइएको छ भने व्यावसायिक वातावरण सहज बन्दै गएको छ ।

नेपाल पर्यटन बोर्डका तथ्यांकअनुसार सन् २०२३ मा नेपाल दस लाखभन्दा बढी पर्यटक भित्रिए । कोभिड–१९ को महामारीपछि उक्त वर्ष यहाँ सबैभन्दा बढी पर्यटकहरू आएका थिए । उक्त बोर्डका अनुसार अन्तर्राष्ट्रिय बजारमा पर्यटकीय क्षेत्रका प्रभावकारी बजारीकरणका लागि नया राजनीतिक योजना बनाउने तयारी भएकोले आगामी वर्षहरूमा यहाँ पर्यटकहरूको संख्या बढ्ने सम्भावना छ ।

वर्तमान समयमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी पर्यटकहरू नेपाल आउँछन् । भविष्यमा पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्णरुपमा सञ्चालनमा ल्याइएपछि यहाँ आउने पर्यटकहरूको संख्या केही बढ्ने आशा छ । यसबाहेक यहाँ ठूलो तारे होटेलहरू खोल्ने क्रम बढिरहेकोले भविष्यमा विदेशमा बजारीकरण बढ्ने सम्भावना छ । फलतः आगामी दिनहरूमा यहाँ पर्यटकहरूको आगमन निकै नै बढ्ने आशा छ ।

नेपाल सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ । साथै, सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटन वर्षको रुपमा मनाएर प्रतिवर्ष ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यस लक्ष्यलाई व्यवहारमा उतार्न सके यहाँको अर्थतन्त्र सबलीकरणमा केही टेवा पुग्नेछ ।

यथार्थतः नेपाल सरकारले यहाँको हरेक वर्षको बजेटमा सुरक्षित एवं आकर्षक गन्तव्यस्थलको रुपमा विकास गर्दै यहाँको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने कुरा उल्लेख गर्दै आएको छ । परन्तु, यसलाई व्यवहारमा उतार्न सहज छैन । यसको लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको सक्रिय सहयोगको आवश्यकता छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया