Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमिसन८४ को परिचर्चा र यथार्थता

मिसन८४ को परिचर्चा र यथार्थता


नेपालको राजनीतिक वृत्तमा केही समय देखि मिसन ८४ को नाराले निकै चर्चा पाउँदै आएको छ।खासगरी नेपालका दुईवटा राजनीतिक पार्टीहरुले यो नारालाई जोडतोड्का साथ उठाएको देखिन्छ। नेपालमा २०४६ साल देखि संसदिय राजनीति गर्दै आएको नेकपा(एमाले) र गत संसदिय निर्वाचनबाट नेपाली राजनीतिमा उदाएको नव गठित पार्टी(रास्वपा)ले नै मिसन८४को नारालाई सर्वाधिक रुपले फोकस् गरेको देखिन्छ। हुन त हरेक राजनीतिक पार्टीहरुले आफ्ना राजनीतिक मुद्दाहरुलाई स्थापित गराउन खोज्नु र त्यसका आधारमा निर्वाचनमा विजय हासिल गर्न प्रयास गर्नु स्वाभाविक कुरा हो।

तर एमालेले उठान गरेको “मिसन ८४” को संदर्भमा कुरा गर्दा उसले नेपालमा गणतन्त्र स्थापना भै सकेपछिका चारवटा संसदीय निर्वाचन फेस् गरि सकेको छ र यस बिचमा सरकारको नेतृत्व पनि गरिसकेको छ भने २०४६ साल पछिका विभिन्न समयमा सरकारमा बसेर शासन सत्ता समेत सम्हाली सकेको अबस्था छ। तर उसले बिगत देखि उठाउँदै आएको सुखी नेपाली र समृध्द नेपालको नारा भने नारामै सिमित हुन पुगेको छ। किनकि समृध्द नेपाल बनाउने दिशामा न बिगतमा कुनै ठोस प्रयासहरु भएका थिए,न त पछिल्ला समयहरुमा नै हुन सकेको छ।एमालेले पछिल्लो पटक झण्डै दुई तिहाई नजिकको सरकारको नेतृत्व गर्ने अबसर प्राप्त गर्दा पनि पार्टीको आन्तरिक ब्यबस्थापनमै समय खर्चिएर देशको बिकाश र समृध्दीको पक्षमा खासै उल्लेखनिय कामहरु गर्न सकेन।

त्यसकारण पनि समृध्द नेपालको नारा साँच्चिकै समृध्द नेपालको लक्ष्य हासिल गर्ने भन्दा पनि निर्वाचनमा जित हासिल गर्ने अस्त्रका रुपमा आएको देखिन्छ।बिगत देखिनै ठुला राजनीतिक पार्टीहरुले आफुले बहुमत प्राप्त गरेमा यो देशलाई बिकसित देशको दाँजोमा पुर्याउने सगर्व घोषणा गर्दै आएकोअबस्था छ।तर कुनै पार्टीले चुनावमा बहुमत प्राप्त गर्दैमा देशमा कायापलट हुन्छ भन्ने कुरामा बिश्वास गरिहाल्ने आधारहरु भने देखिँदैन। यसको ज्वलन्त उदाहरणका रुपमा बिगतमा नेपाली काँग्रेसले एकल बहुमत प्राप्त गरेको अबस्था थियो तर देशले कुनै नयाँपन प्राप्त गर्न सकेन।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले पनि बिगतमा झण्डै दुई तिहाई मत प्राप्त गरेको अबस्था थियो तर उसको कार्यकालमा पनि देशले खासै परिवर्तनको महसुस गर्न सकेन।बरु सत्ताको खिचातानीका कारण समयावधि नपुग्दै सरकारनै ढल्न पुगेको अबस्था थियो।त्यसकारण जब सम्म राजनीतिक पार्टीहरुमा देश र जनताका निम्ति केही गर्ने प्रवल इच्छा शक्तिको विकाश हुँदैन तब सम्म बिकाश र समृध्दिको पक्षमा खासै काम हुन सक्दैन भन्ने कुरा बिगतका घटनाक्रमहरुले देखाईसकेको छ।त्यसकारण पनि मिसन ८४ को नाराबाट नेपाली जनता त्यति धेरै उत्साहित हुन सकेको अबस्था देखिँदैन।

राजनीतिक पार्टीहरुले जनता प्रति उत्तरदायी हुँदै आफ्ना गतिविधिहरु अघि बढाउनु जरुरी छ।किनकी जनता नै राजनीतिक पार्टीहरुको आधारस्तम्भ भएकोले जन चाहना विपरित गएर राजनीति गर्ने कल्पना गर्न हुँदैन।अर्को शब्दमा भन्दा पार्टीहरु र जनता बिचको सम्बन्ध भनेको नङ मासुको जस्तै सम्बन्ध हुने भएकोले जनताका हरेक दु:ख सुखमा राजनैतिक पार्टीहरु सहयोगी बन्न सक्नु पर्दछ र आफ्नो अभिभावकिय भुमिकालाई कुशलतापुर्वक निर्वाह गर्न सक्नु पर्दछ।तर विडम्बना,राजनीतिक पार्टीहरुको ध्यान आज जनतामा भन्दा सत्ता केन्द्रित बन्न पुगेको छ।किनभने सत्तानै सबै थोक हो भन्ने उनिहरुको बुझाई छ।आज जनतामा एउटा के सन्देश गएको छ भने राजनीतिक पार्टीका नेताहरु नेपाली जनताको भबिष्यका लागि भन्दा पनि आफ्नो र आफ्नो पार्टीको भबिष्य प्रति बढि चिन्तित देखिन्छन्।यदि उनिहरु जनताको भबिष्य प्रति चिन्तित भै दिएको भए सम्भवत:

आज जनताहरुको यस्तो अबस्था हुने थिएन। यहाँ काम गरेर जनतालाई विश्वस्त पार्ने भन्दा पनि गुलिया आश्वासन बाँडेर क्षणिक खुसी दिने काम गरिन्छ र नेपाली जनताको विकास र समृध्दीको सपनालाई भजाएर आफ्नो दुनो सोझ्याउने काम गरिन्छ।त्यसकारण अब नेपाली जनतालाई कसैको आश्वासन होईन परिणाम चाहिएको छ।किनकि आश्वासनका चाङहरुले मात्रै जन अपेक्षा पूरा हुन सक्दैन। त्यसैले,अबका दिनहरुमा जसले बिश्वसनिय आधारहरु प्रस्तुत गरेर नेपाली जनताको मन जित्न सक्छ त्यही पार्टी नै ८४ को निर्वाचनमा जनताको रोजाईमा पर्न सक्छ।

एमालेको बिगतको कुरा गर्दा एमाले नेतृत्वको नौ महिने अल्पमतको सरकारको कार्यकाल तुलनात्मक रुपले सफल कार्यकाल रह्यो।जसले एमालेलाई दोश्रो ठूलो राजनीतिक पार्टीका रुपमा स्थापित गरायो।तर त्यसपछिका एमाले नेतृत्वको चार वटै कार्यकाल परिणाममुखि देखिएनन्।किनकि यी कार्यकालहरुमा कुनै पनि उल्लेखनीय कामहरु हुन सकेनन्। पछिल्ला चार वटा कार्यकाल मध्ये सबै भन्दा पछिल्लो पटक उसले सरकारको नेतृत्व गर्दा जनताका जल्दाबल्दा समस्याहरुमा केन्द्रित हुनुको साटो आफ्नो सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित भएको अबस्था देखियो।यता प्रमुख प्रतिपक्षमा रहँदा पनि रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्नुको साटो केवल बिरोध र आलोचनामा मात्रै केन्द्रित हुन पुग्यो।जसका कारण नेकपा एमाले जनस्तरबाट आलोचित बन्न पुग्यो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार बिघटन पश्चात् प्रमुख प्रतिपक्षी बनेको एमालेले लामो कसरत पछि गठबन्धन भत्काउन सफल भएको छ। र,आफ्नै पहलकदमीमा नयाँ गठबन्धन सरकार निर्माण गरेर सत्ताको लगाम आफ्नो हातमा पार्न सफल भएको छ।यो सरकार गठन हुँदाको अबस्था र त्यस भित्रको रणनीति हेर्दा यो सरकार लामो समय चल्ने अबस्था देखिँदैन।किनकी सत्ता गठबन्धन घटकहरुका बिचमा भएका भागबन्डा र लेनदेनका प्रकरणहरुले पनि यो सरकार अल्पकालीन रहेको स्वतःस्पष्ट छ।एकातिर सरकार फेरबदलको प्रक्रिया निरन्तर चल्दै आएको छ भने अर्को तर्फ यसले जनताका माझमा नकारात्मक सन्देश प्रवाह गरिरहेको स्थिति छ।

जसका कारण ठुला राजनीतिक पार्टीहरु प्रति जनता सकारात्मक हुन नसकिररहेको अबस्था छ।तथापि गठबन्धन को प्रभावले केही मतदाताहरु उत्साहित भएको हुन सक्ने सम्भावनालाई मध्य नजर गर्दा आगामी निर्वाचनमा एमालेको हैसियत पुर्ववत् रहने सम्भावना छ।तर निर्वाचन सम्म नयाँ सत्ता गठबन्धन कायम रहेमा यसले निर्वाचन परिणाममा केही हेरफेर ल्याउन सक्ने अबस्था रहेको छ।यसर्थमा, गठबन्धनका कारण कुनै पार्टीको हैसियत केहि बढ्न सक्ने तथा कुनै पार्टीको हैसियत यथावत् रहन सक्ने पनि उत्तिकै सम्भावना छ।

मिसन २०८४को सन्दर्भमा नवगठित पार्टी रास्वपाको स्थितिको कुरा गर्दा,हिजो केही आकर्षक नाराहरु लिएर राष्ट्रिय राजनीतिमा उदाएको रास्वपाले पछिल्ला समयहरुमा निर्वाह गरेको भुमिकालाई हेर्दा हिजोको भनाई र आजको गराईमा नितान्त फरक देखिएको छ।यसो हुनुका पछाडी उस्का आन्तरिक कारणहरु हुन सक्छन् तर सतहमा देखिएका कारणहरुमा परिस्थितिको ठोस विश्लेषण गर्न नसक्नु पनि एउटा प्रमुख कारण हो भन्न सकिन्छ। हरेक पार्टीहरुका आ-आफ्ना कार्यदिशा,अडान र दृष्टिकोणहरु हुने गर्दछन् र तदनुसार नै पार्टीहरुले आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका हुन्छन्।राजनीतिक पार्टी र नेतृत्व भनेका जनताका भरोसायोग्य प्रतिनिधि हुन् किनकि देश र जनताको हित भन्दा पर राजनीतिक पार्टीको कुनै स्वार्थ हुँदैन र हुनु हुँदैन।तर आज यी आदर्श र सिद्धान्तहरुमा छायाँ पर्दै गएको देखिन्छ।किनकि जनताको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरु स्वयम् नै घोषित नीति अनुसार नचल्दा त्यसले जनमानसमा निराशा पैदा गरेको छ र त्यो निराशाको प्रतिफल स्वरुप राजनीतिमा जनताको आकर्षण घट्दै गएको छ।

त्यसकारण जनविश्वासलाई जीवन्त राख्न र आफ्नो राजनीतिलाई प्रतिस्पर्धी बनाउन नेतृत्व लचक,जनउत्तरदायी र विश्वसनिय हुन जरुरी छ।वर्तमान अबस्थामा देशका ठुला कहलिएका पार्टीहरु पनि युगको आबश्यक्तालाई सम्बोधन हुने गरि नयाँ ढंगले अघि बढ्नुको साटो पुरानै कार्यशैलीलाई नै निरन्तरता दिँदै आएको अबस्था हो।यो स्थितीमा रास्वपा,अन्य पार्टीहरु भन्दा फरक ढंगले नयाँ कार्यशैली र नयाँ भिजनका साथ अगाडि आउने जनअपेक्षा थियो तर त्यस्तो हुन सकेन। बरु अरु पार्टीहरुकै पद चिन्हमा रास्वपा पनि अघि बढ्दै गरेको अबस्था देखियो।

यसका बाबजुद अहिले सम्म उसलाई एउटा सुबिधा प्राप्त छ कि आज सम्म उसले सत्तामा बसेर भ्रष्टाचार गरेको आरोप खेप्नु परेको स्थिती छैन।त्यसकारण यो कुरा उसका लागि एउटा सकारात्मक पक्ष बनेको देखिन्छ।नेताहरुको परिक्षण तब हुन्छ जब उनिहरु सत्तामा पुग्छन्।जो सत्तामा रहँदा निरन्तर जनताको हितमा केन्द्रित भएर काम गरेको छ र सरकारबाट बहिर्गमन हुँदा पनि आफ्नो छबिलाई नधमिल्याई स-सम्मान बहिर्गमन भएको अबस्था छ भने त्यस्ता नेताहरुलाई सच्चा देशभक्त नेता भन्न सकिन्छ।बिगत देखि वर्तमान अबस्था सम्म आईपुग्दा धेरै नेताहरु सत्तामा पुगेर दुर्गन्धित भएका थुप्रै उदाहरणहरु छन्।

तथापि केहि नेताहरुले आफ्नो ईमान्दारितालाई बचाउँदै आफ्नो इतिहासलाई जोगाउन सफल भएको यथार्थता पनि छ।यहाँ सबै भन्दा बिडम्बनापुर्ण कुरा के छ भने सत्ता रसास्वादनका कारण बदनाम कमाईसकेका नेता कार्यकर्ताहरुलाई राजनीतिबाटै विश्राम दिनुको साटो गंगाजल छर्केर पवित्रीकरण गर्ने गरिन्छ भने योग्य,इमान्दार र निस्कलंक छवि भएका ब्यक्तीहरुलाई पुरस्कृत गर्नुको साटो पाखा लगाउने काम गरिन्छ।जब जब राजनीतिमा पहुँच र पैसाको बोलवाला हुन्छ,त्यहिँ बाटै अस्वस्थ प्रतिस्पर्धाको शुरुआत हुन्छ र त्यस्तो अस्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा देशको राजनीति अराजकता तिर मोडिन थाल्दछ।जब सम्म यस किसिमको परिस्थितीमा परिवर्तन आउँदैन तब यो देशमा कुनै गुणात्मक परिवर्तन आउने सम्भावना रहँदैन।

देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको सत्र बर्ष पूरा भै सक्दा पनि देश र जनताको अबस्थामा कुनै परिवर्तन आउन सकेन।जसका कारण नेपाली जनतामा एकखालको आक्रोश देखा पर्नु स्वाभाविक थियो।अन्ततःजनताको त्यो आक्रोश निर्वाचन मार्फत् अभिब्यक्त भयो।जसको परिणामस्वरूप केही नयाँ पार्टीहरुलाई अनपेक्षित सफलता हासिल भयो।अझ स्पष्ट भाषामा भन्दा जन असंतुष्टी चुलिएको बेला नव गठित रास्वपालाई एउटा वैकल्पिक शक्तिका रुपमा हेरियो र नभन्दै उसले गत संसदिय निर्वाचनमा अनपेक्षित जनसमर्थन समेत प्राप्त गर्न सफल भयो।राजनीति आफैंमा एउटा सम्भावनाको खेल भएकोले जहाँ सम्भावना हुन्छ त्यहाँ चुनौतीहरु हुने गर्दछ।जहाँ चुनौती हुन्छ,त्यहाँ समाधानका उपायहरु पनि हुने गर्दछ।

त्यसकारण सम्भावना र चुनौतीहरुलाई ठिक ढंगले पहिचान गरि सम्भावनालाई उपयोग गर्न सके राजनीतिमा सफलता प्राप्त गर्न सकिन्छ।यसमा विचारणिय कुरा के छ भने पार्टीको कमाण्ड गर्ने मुख्य नेतृत्व निस्कलंक,पारदर्शी र दुरदर्शि हुनु जरुरी छ। किनभने पार्टीको नेतृत्व भन्नासाथ त्यो पार्टीका नेता कार्यकर्ता र समर्थकहरु सबैको स्वीकार्य ब्यक्ती भन्ने बुझिन्छ।अर्को शब्दमा भन्दा ऊ पार्टीका नेताकार्यकर्ताको आदर्श ब्यक्ति पनि हुने गर्दछ।त्यहि आदर्श ब्यक्ती नै विवादीत भई दिँदा त्यसबाट जनतामा नकारात्मक सन्देश जाने गर्दछ र त्यो क्रम बढ्दै जाँदा पार्टी नै धाराशायी हुने खतरामा पुग्न सक्छ।

रास्वपाको भविष्यको कुरा गर्दा राजनीतिक र ब्यबहारिक अनुभवको कमि र सैध्दान्तिक अष्पटताका कारण उसले सहि समयमा सहि निर्णय लिन नसकिरहेको सन्दर्भलाई लिएर खासगरी विपक्षिहरुको कडा आलोचना खेप्दै आएको रास्वपाले आगामी दिनहरुमा आफुलाई कसरी प्रस्तुत गर्दै जान्छ त्यसमै उसको भबिष्य निर्भर हुने देखिन्छ।स्पष्ट विचार र दृष्टिकोण नहुँदा सम्म पार्टीले राजनीतिक स्वरुप लिन सक्दैन,जब सम्म पार्टी राजनैतिक विचारबाट खारिँदैन तब सम्म कुनै पनि पार्टी जनताका माझमा स्थापित हुन सक्दैन।त्यसकारण रास्वपाले अबलम्बन गर्ने कार्यनीति र रणनीतिको आधारमा नै उसको राजनीतिक भविष्य निर्धारण हुन सक्छ।

अन्यथा जसरी उदायो त्यसरी नै अस्तायो भन्ने स्थिति पनि बन्न सक्छ। हाल सालै पुनर्गठित मन्त्रीमण्डलमा रास्वपाको प्रतिनिधित्व रहेको अबस्था छ।उसका केही मन्त्रीहरुले अघि सारेका नीतिगत सुधारका प्रस्तावहरु सकारात्मक देखिन्छन्। यदि ती कुराहरु कार्यान्वयनमा जान सके सुधारको पक्षमा त्यो एउटा गतिलो उदाहरण बन्न सक्छ।तथापी,एउटा मननिय कुरा के छ भने प्रस्तुति राम्रो हुँदा हुँदै पनि एउटा राजनीतिक सुझ बुझ,ईमानदारिता र आत्मविश्वासको कमि हुन गएमा भने त्यसले राम्रो परिणाम दिन सक्दैन।यदि राम्रो परिणाम आउन सकेन भने राम्रो प्रस्तुतिको कुनै अर्थ रहँदैन।

अर्को कुरा,सिंगो देशले युवा नेतृत्वको माग गरिरहेको बेला रास्वपाले जन चाहना अनुसार नै युवा नेताहरुलाई सरकारमा पठाएर एउटा सुखद् सन्देश दिन खोजेको देखिन्छ।र,रास्वपाको यो कदम अन्य पार्टीहरुका लागि पनि प्रेरणादायी बन्न सक्छ।०८४मा रास्वपाको अबस्था कस्तो रहला भन्ने बारेमा चर्चा गर्दा सामान्यतःउसको अबस्था सुधारोन्मुख रहन सक्ने अबस्था देखिन्छ।किनकी रास्वपामा युवाहरुको बाहुल्यता रहेको र आन्दोलन बाहिर रहेका स्वतन्त्र युवाहरु र अन्य स्वतन्त्र ब्यक्तिहरुलाई पनि समेटेर अघि बढ्न सके आगामी निर्वाचनमा रास्वपाले थप उपलब्धि हासिल गर्न सक्ने सम्भावना छ।

केही राजनीतिक पार्टीहरु घोषित र अघोषित रुपले मिसन ८४ को अभियानमा जुटि सक्दा पनि नेपाली काँग्रेस भने मिसन ८४ को रेसमा जोडिएको देखिँदैन।तथापि उसको स्थायी भोट बैंकका कारण ८४ को निर्वाचनमा आफ्नो हैसियत बरकरार रहने कुरामा काँग्रेस आशावादी रहेको हुन सक्छ। तर सरकारको नेतृत्व गर्दा वा प्रतिपक्षमा रहँदा नेपाली काँग्रेसले सशक्त भुमिका निर्वाह गर्न नसकिरहेको परिप्रेक्ष्यमा उसको बर्तमान हैसियत आउँदो ८४ मा बरकरार रहने कुरामा भने बिश्वास गरिहाल्ने आधारहरु देखिँदैन।२०४६ साल पछि लामो समय सम्म सत्ताको नेतृत्व गर्ने अबसर प्राप्त गर्दै आएको काँग्रेसले आज सम्म पनि स्मरण गर्न लायक कुनै पनि उल्लेखनीय कामहरु गर्न सकेको अबस्था छैन।

यद्यपि नेपालमा भएका राजनीतिक परिवर्तनहरुमा भने काँग्रेसको महत्त्वपूर्ण भुमिका रहँदै आएको छ।काँग्रेसका पछिल्ला राजनीतिक गतिविधिहरु हेर्दा उसले अबलम्बन गर्दै आएको पुरानो कार्यशैली र दृष्टिकोणबाट आजको युगको आबश्यकता परिपुर्ति हुन सक्ने सम्भावना देखिँदैन।किनकी युगको परिवर्तन संगै काँग्रेस रुपान्तरण हुन सकेको अबस्था छैन।यी कुराहरुलाई आधार मान्दा आगामी निर्वाचनमा काँग्रेसले अहिलेको हैसियत कायम राख्न सक्ने अबस्था देखिँदैन।बरु नयाँ र केही साना पार्टीहरुले आगामी निर्वाचनमा केही फाईदा उठाउन सक्ने प्रवल सम्भावना देखिएको छ।

नेपाली काँग्रेसले आफ्नो पुर्ववत् हैसियतलाई जोगाउन सक्ने एउटै मात्र विकल्प गठबन्धन रहेको तर गठबन्धनका केहि घटकहरुले गठबन्धन परित्याग गरि नयाँ गठबन्धनमा सामेल भै सकेको अबस्थामा त्यो संभावना पनि टरेर गएको अबस्था छ। काँग्रेसले गठबन्धन बाहिर रहेका दलहरुलाई समेटेर निर्वाचनमा जाँदा पनि आफ्नो बर्चश्व कायम राख्न सक्ने अबस्था देखिँदैन।

यसर्थमा उसले ८४ को निर्वाचनमा ठुलै उतारचढावको सामना गर्नु पर्ने सम्भावना देखिन्छ।बिगतमा नेकपा एमाले र माओवादीको गठबन्धन हुँदा चुनावी माहौल नै बामगठबन्धनतिर गएको र त्यसले निर्वाचनमा ठूलो प्रभाव पारेको अबस्था थियो।संयोगबस भनौं,आज फेरि उहि परिस्थिती दोहोरिने अबस्था बनेको छ र यसबाट२०७४को पुनरावृत्ति हुने र काँग्रेस थप कमजोर हुन सक्ने सम्भावना बन्दै गएको छ।

नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि देशको सबै भन्दा ठूलो पार्टी बन्न सफल भएको माओवादी पार्टी क्रमिक रुपले अधोगती तर्फ उन्मुख हुँदै आज तेश्रो पार्टीका रुपमा खुम्चिन बाध्य भएको छ।यस्तो हुनुको पछाडि उस भित्रका आफ्ना आन्तरिक समस्याहरु पनि एउटा कारण हुन सक्छ तथापि उसले विगतमा सरकारको नेतृत्व गर्दा गरेका केहि गलत निर्णयहरु नै प्रमुख कारण हुन सक्छ।संसदिय खुल्ला प्रतिस्पर्धात्मक राजनीतिमा कमजोर पात्रका रुपमा देखिएको माओवादी पछिल्लो समय देखि” घरको न घाटको”अबस्थामा देखिएको छ।

किनकी उसको पकडमा न आज तल्लो बर्ग छ,न त उच्च बर्ग नै।यसरी माओवादी कमजोर रुपमा देखा परेको छ र आज आफ्नो अस्तित्व धान्नका निम्ति अरु पार्टीहरुको बैशाखी खोज्नु पर्ने अबस्थामा पुगेको छ।हरेक पार्टीहरुको आ-आफ्नो इतिहास हुने गर्दछ र त्यसमा टेकेर उनिहरुले राजनितीक गतिविधिहरु सञ्चालन गरिरहेका हुन्छ्न।जसरी देशमा प्रजातन्त्र प्राप्तिका लागि लडेको र देशको सबै भन्दा पुरानो पार्टीका हैसियतले नेपाली काँग्रेसले स्थापनाकाल देखि निरन्तर रुपमा आफ्नो इतिहासमा टेकेर त्यसको लाभ उठाउँदै आएको छ र त्यसकै आधारमा उसले देशको सबै भन्दा ठूलो पार्टी बन्ने सौभाग्य समेत प्राप्त गर्दै आएको छ।त्यसैगरी बिगतमा मनमोहन अधिकारीको नेतृत्वमा गठितअल्पमतको सरकारले गरेका केही जनप्रीय कामहरुका आधारमा आज सम्म पनि एमालेले हरेक चुनावहरुमा त्यसको फाइदा उठाउँदै आईरहेको छ।

माओवादीको हकमा पनि माथिकै कुराहरु लागू हुन्छ,जुन कुरा काँग्रेस एमालेको हकमा लागू भएको छ।यो यथार्थ हो कि उसले पनि आफ्नो इतिहासको लाभ लिँदै,एक पटककै लागि सहि,देशको सबै भन्दा ठूलो पार्टी बन्न सफल भै सकेको छ र थोरै समय सम्मका लागि भएपनी पटक-पटक सरकारको नेतृत्व सम्हाल्ने अबसरहरु समेत प्राप्त गरिसकेको छ।यसरी यी तिनै पार्टीहरुले इतिहासको ब्याज उठाउँदै आएको देखिन्छ।जसको फलस्वरुप नेपाली राष्ट्रिय राजनीतिमा लामो समय देखि यिनै तीन वटा ठुला पार्टीहरुको बर्चस्व रहँदै आएको छ।नेपालमा बहुदलीय ब्यबस्थाको स्थापना पछिका केही बर्ष पछि र लोकतान्त्रिक गणतन्त्रको स्थापना पछिका केही बर्ष सम्म नेपालको राजनीति सामान्य रुपले अघि बढिरहेको अबस्था हो।तर त्यसपछिका समयहरुमा नेपाली राजनीति तरलतातिर उन्मुख हुँदै पछिल्लो समय सम्म आईपुग्दा अस्थिर र अन्यौलग्रस्त बन्न पुग्यो।

अर्को तर्फ,राजनीतिक पार्टीहरु आफ्ना घोषित सिध्दान्त र आदर्शबाट बिचलित हुँदै अस्वस्थ प्रतिस्पर्धामा उत्रिँदा त्यहिँ बाटै राजनितीक बिकृतीको शुरुआत भयो र आज आएर हरेक क्षेत्रमा त्यसका दुस्प्रभावहरु देखिन थाल्यो।त्यसैले जब सम्म राजनिती विकृती मुक्त हुँदैन तब सम्म यो देशले अपेक्षित फड्को मार्न सक्दैन। इतिहासमा कसले के गर्यो भन्दा पनि आज कसले के गरिरहेको छ भन्ने कुरा नै महत्वपुर्ण बन्नु पर्दछ।किनकी इतिहासले केवल प्रेरणा दिने गदर्छ भने आजको राम्रो शुरुआतले भोलीका लागि एउटा गतिलो परिणाम दिन सक्दछ।त्यसकारण नेपाली जनतालाई तत्कालै परिणाम चाहिएको छ र जसले परिणाम मुखी कार्यक्रम लिएर आउँछ उसैलाई नेपाली जनताको साथ र समर्थन रहन्छ र रहनु पर्दछ।

यो कुरालाई मनन गर्दै अब यथार्थपरक ढंगले परिस्थितिको विश्लेषण गरिनु पर्दछ र एकपक्षीय बुझाईको आधारमा कुनै पनि पार्टीलाई अन्ध समर्थन वा अन्ध विरोध गरिनु हुन्न।त्यसकारण समय सापेक्ष र गुण दोषको आधारमा गरिने समर्थन वा विरोधले मात्रै राजनीतिलाई सहि ट्र्याकमा हिँडाउन मद्दत गर्दछ।यदि फेरि पनि परिस्थितिलाई एकपक्षिय ढंगबाट मात्रै हेरियो भने यसले समस्याको समाधान दिँदैन बरु यसले यथास्थितिमै गोल चक्कर लगाई रहन बाध्य गराउँछ।अहिले देशको राजनीति निकै उतार चढावका साथ अघि बढिरहेको छ किनकी राजनीतिक नेतृत्व प्रति जनताको अबिश्वास बढेर गएको छ।यसकारण पनि जनताहरु राजनीतिक नेतृत्व संग असंतुष्ट छन कि देशमा सुशासनको अनुभूति नै हुन सकिरहेको छैन।

आज ठुला ठुला भ्रष्टाचारका घटनाहरु भएका छन् र कतिपय घटनाहरुमा राजनीतिक पार्टीका नेताहरु समेत संलग्न देखिएका छ्न्। जसका कारण आज लोकतन्त्र र गणतन्त्र नै बदनाम हुने अबस्थामा पुगेको छ।नेपाली जनताको लामो संघर्षबाट प्राप्त यो ब्यबस्था केवल सिमित नेता कार्यकर्ताहरुको लागि मात्रै ऎश आरामको साधन बनेको छ भने आम जनताका लागि भने हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै भएको छ।कागजी रुपमा यो ब्यबस्थालाई जनताको ब्यबस्था भनिएतापनी यो ब्यबस्था केवल नेता,उनका परिवार, इष्टमित्र र नेताहरुको छत्र छायाँमा बाँच्नेहरुका लागि मात्रै लाभप्रद् रहेको स्थिती छ।जसले यो परिवर्तन ल्याउनका निमित्त कठोर दु:ख सहे,अंगभंग भए र आफ्ना जीवन समेत बलिदान दिए,ती सपुतहरुको त्यो गौरवपुर्ण योगदानको सम्मान गर्नुको साटो उपेक्षा र अनादर गर्ने काम हुँदै आएको छ।राजनीतिमा देखिएको यो निराशापुर्ण परिस्थितिले अन्ततः लोकतन्त्र र गणतन्त्रको जगलाई नै कमजोर बनाउँदै लैजाने कुरा पनि निर्विवाद छ।

नेपालमा लोकतन्त्रको स्थापना पछि नेपाली जनताले राजनीतिक अधिकार त प्राप्त गरे तर आर्थिक हिसाबले भने जनता हिजो भन्दा आज झन कमजोर अबस्थामा पुगे।लोकतन्त्रले आर्थिक असमानताको खाडललाई पुर्न नसकेतापनी गरिब जनताहरुको जीवनस्तरमा केहि सुधार ल्याउन सक्नु पर्थ्यो तर विडम्बना,त्यस्तो हुन सकेन।बरु आर्थिक असमानताको खाडल झनै गहिरिएर जाने स्थिति बन्दै गयो।पछिल्लो समय भ्रष्टाचार बिरोधी भनेर शुरु गरिएको अभियान अझै तार्किक निष्कर्षमा पुग्न सकेको स्थिति छैन भने पछिल्ला सुन काण्डको सवालमा पनि लगभग त्यहि अबस्था छ।शुरुमा त भ्रष्टाचार विरोधी अभियान र सुन काण्डको छानबिन प्रकरणमा सरकारले राम्रै जनसमर्थन प्राप्त गरेको थियो।तर पछिल्लो समयमा आएर जब यो प्रसंग सुस्त गतिमा पुग्यो।

त्यसपछि हिजो जयकार गर्ने सर्वसाधारण जनताहरुबाट नै बिरोध र आलोचनाका स्वरहरु गुञ्जिने अबस्थाको सिर्जना हुन पुग्यो।अझ त्यति मात्र नभएर विभिन्न पार्टीहरुका केहि नेताहरु समेत त्यस्ता काण्डहरुमा संलग्न भएका कारण आज लोकतन्त्र र गणतन्त्र नै बदनाम हुने अबस्थामा पुग्यो।आज भ्रष्टाचारका काण्डै काण्डहरुले देश आक्रान्त बन्दै गएको स्थिती छ र यो भ्रष्टाचारको जालोलाई समयमै पञ्छाउन नसके यो देश छिट्टै नै श्रीलंकाको अबस्थामा पुग्न सक्ने कुरा पनि निश्चित छ। यस्तो परिस्थितिमा राजनीतिक पार्टीहरु अझ बढी संबेदनसिल बन्न जरुरी छ र अब विलम्ब नगरि नेपाली जनतालाई सुशासनको प्रत्याभूति दिन सक्नु पर्दछ।

खासगरी माओवादीको संदर्भमा कुरा गर्दा मिसन८४ उसको घोषित नारा नभएतापनी उसको सरकारले शुरु गरेका केही सकारात्मक कामहरुलाई आधार मानेर उसले आगामी निर्वाचनमा आफ्नो पार्टीको,आकार बढ्न सक्ने प्रचारवाजी गर्दै आएको भएता पनि सरकारका पछिल्ला केहि निर्णयहरुले उसका अघिल्ला सकारात्मक कामहरुलाई समेत ग्रहण लगाउने काम गरेको स्थिति छ। कुनै पनि सरकारबाट कार्य सम्पादनको क्रममा यदाकदा जानीजानी होस् या अन्जानवस् गल्ती कमजोरी हुनु स्वाभाविक हो।तर जनताको आलोचना र खबरदारीका बाबजुद पनि एकपछी अर्को गल्ती कमजोरीहरु दोहोर्याउँदै जानू चाहिँ नितान्त गलत कुरा हो।केही समय अघि वर्तमान सरकारले गरेका केहि निर्णयहरु अत्यन्तै अलोकप्रिय अपरिपक्व र जनभावना विपरित देखिएका छन्।यो कुरालाई त्यसताका नेपाली जनताले अभिब्यक्त गरेका आक्रोशपुर्ण अभिव्यक्तिहरुले पनि पुष्टि गरेको छ।

किनकि सर्वसाधारण जनता र सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले अभिब्यक्त गरेका भनाईहरुलाई मात्रै आधार मान्दा पनि वर्तमान सरकारको पक्षमा जनसमर्थनका स्वरहरु नगण्य रुपमा र आलोचनाका स्वरहरु भने प्रखर रुपमा उठिरहेको अबस्था छ।तसर्थ,कम्तिमा आजका मिति सम्म माओवादीले अपेक्षा गरे जस्तो परिस्थिती छैन र आगामी निर्वाचनमा उसको हैसियत के हुने भन्ने कुरा अहिले नै एक्किनका साथ भन्न सक्ने अबस्था छैन।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया