Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअखबारमा महिला लेखकको न्यून उपस्थिति

अखबारमा महिला लेखकको न्यून उपस्थिति


काठमाडौं । अपेक्षा गरेजस्तो महिला लेखकहरू किन आउन र छाउन सकेका छैनन् ? आजको लेखलाई यसै विषयतिर केन्द्रित गर्न चाहेको छु । प्राचीन विदुषी महिलाको नाम लिँदा गार्गीको नाम सबैले लिन्छन् । आधुनिक नेपालको निर्माण भएपछि प्रथम महिला ग्रन्थकार लेखक ललित त्रिपुरासुन्दरी हुन् भनेर साहित्यकार नरेन्द्रराज प्रसाईंले लेखेको पाइन्छ । आधुनिक नेपाली साहित्यमा देवकुमारी थापा, पारिजात, बानिरा गिरीलगायत धेरैको नाम लिन सकिन्छ । तर पनि महिला लेखक तथा साहित्यकार पुरुष लेखक तथा साहित्यकारको तुलनामा थोरै नै छन् ।

महिला लेखक तथा साहित्यकार पुरुष लेखक साहित्यकारको तुलनामा थोरै हुनु आफैँमा नमिलेको हो । झन् पूर्वीय आध्यात्मिक चिन्तनधारमा विश्वास गर्ने वा व्यवहार गर्ने समाज समुदायमा त झन् नमिल्ने कुरो हो । किनभने वैदिक सनातनी ग्रन्थ वा मान्यतामा विश्वास गर्नेले बौद्धिक, विद्या, कला, श्रृजना आदिकी देवी भनेर सरस्वतीलाई पुज्ने गर्छन् । सरस्वती स्त्री हुन् । जब यो क्षेत्रकी पूजनीय महिला सरस्वती छन् भने लेखन साहित्य तथा सिर्जनाको क्षेत्रमा महिलाको उपस्थिति कमजोर हुनु आफैँमा नमिल्दो हो ।

यो छोटो लेखमा समग्र लेखन क्षेत्रमा महिलाहरूको उपस्थिति र नालीबेली प्रस्तुत गर्न सम्भव हुँदैन । लेखको उद्देश्य यो होइन । यसको मूल उद्देश्य नेपाली मिडियामा खासगरी अखबरी मिडियामा महिला लेखकहरूको उपस्थिति केलाउनु हो ।

२०४६ सालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि वाक् स्वतन्त्रतामाथिको नियन्त्रण हटेपछि नेपालको सञ्चार क्षेत्रले पनि यसबाट प्रचुर मात्रमा लाभ लिएको त्यसबेला प्रकाशित भएका दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिकाको संख्या, समाचार र विचार हेर्दा थाहा हुन्छ । यो अवधिमा धेरै महिला पत्रकारहरू सञ्चार क्षेत्रमा देखा परे । यस्ता महिला सञ्चारकर्मीहरू छापा मिडिया तथा विद्युत् मिडियालगायत सबै क्षेत्रमा ठूलो संख्यामा सक्रिय भएको पाइन्छ । यो क्रम गणतन्त्र वा प्रजातन्त्रलाई लोकतन्त्र नामकरण गरेपछि पनि जारी छ ।

तर विद्युुत् अनलाइन मिडियाहरूको व्यापक विकास भएकाले छापा मिडियाहरूले टिक्नलाई संघर्ष समेत गर्नुपरेको पनि छ । महिलाहरू पत्रकारिताको क्षेत्रमा ठूलो संख्यामा बढे पनि लेखन क्षेत्रमा महिला लेखकहरूको उपस्थिति निराशजनक नै छ । त्यस्तै, महिला सम्पादक भएका छापा पत्रिका वा अनलाइन मिडिया समेतमा महिलाको उपस्थिति निराशाजनक नै छ ।

हरेक छापा पत्रिकाहरूमा महिला लेखकहरूको तुलनामा पुरुष लेखकहरूकै बाहुल्यता देखिन्छ । महिला लेखकहरूको उपस्थिति अत्यन्तै न्यून देखिन्छ । केही तथ्याङ्क केलाएर हेरेमा यही कटु यथार्थको पुष्टि हुन्छ । पहिला हामी नेपालको सबैभन्दा जेठो अर्थात् पुरानो जेठो पत्रिका गोरखापत्र दैनिकमा प्रवेश गरौं । यसमा महिला लेखकहरू वा महिलाले लेखेका लेख संख्याको अनुपातिक संख्या केलाऔं । गोरखापत्र राष्ट्रिय दैनिकमा एक सय वटा लेखमध्येमा ११ वटा महिलाले लेखेका लेख भेटिए । अर्थात् ११ प्रतिशत महिला लेखकले लेखेको भेटिए । ८९ पुरुष लेखकले लेखेको भेटिए । अर्थात् ८९ प्रतिशत पुरुष लेखकको उपस्थिति हँुदा ११ प्रतिशत महिला लेखकको उपस्थिति भएछ ।

अब हामी कान्तिपुरमा प्रवेश गरौं । कान्तिपुर दैनिकमा सय वटा लेखहरू केलाउँदा ८५ वटा लेखहरू पुरुष लेखकले लेखेका भेटियो भने १५ वटा महिलाले लेखेका भेटिए । अर्थात् कान्तिपुरमा ८५ प्रतिशत पुरुष लेखकका लेखहरूले स्थान पाएका रहेछन् भने १५ प्रतिशत महिला लेखकका लेखहरूले स्थान पाएका रहेछन् ।

नयाँ पत्रिका दैनिकमा महिला लेखकहरूको उपस्थिति केलाउँदा एक सय वटा लेखहरूमा ९४ वटा पुरुष लेखकका लेख भेटिए भने मात्र छ वटा महिला लेखकले लेखेका लेखहरू भेटिए । अर्थात् नयाँ पत्रिका दैनिकमा ९४ प्रतिशत पुरुष लेखकले लेखेका लेख रहेछन् भने मात्रै छ प्रतिशत महिला लेखकले लेखेका लेखहरू रहेछन् ।

आर्थिक राष्ट्रिय दैनिकमा यसरी नै केलाउँदा एक सय वटा लेखहरूमध्ये आठ वटा महिला लेखकहरूले लेखेका लेखहरू रहेछन् भने ९२ वटा पुरुष लेखकहरूले लेखेका लेखहरू रहेछन् । अर्थात् आर्थिक दैनिकमा ९२ प्रतिशत पुरुष लेखकका लेखहरू रहेछन् भने महिला लेखकहरूको मात्र आठ प्रतिशत लेखहरूले स्थान बनाउन सकेका रहेछन् ।

कारोबार राष्ट्रिय दैनिकमा त महिला लेखकको उपस्थिति अत्यन्तै निराशाजनक पाइयो । कारोबार दैनिकमा प्रकाशित एक सय लेखमा एक सय प्रतिशत नै पुरुषका मात्रै रहेछन् । अर्थात् कारोबार दैनिकमा पछिल्लो समयमा प्रकाशित सय लेखहरू केलाउँदा महिला लेखक शून्य प्रतिशतमा रहेछन् । सोभन्दा बढी पहिले छापिएका लेखहरूमध्ये कुनै महिला लेखकका लेख छापिएका पनि हुन सक्छ ।

त्यसरी नै साप्ताहिक खबर पत्रिका दुई वटामा प्रकाशित लेखहरू केलाउँदा एउटामा त कारोबार दैनिकजस्तै निराशजनक परिणाम प्राप्त भयो । जनआस्था साप्ताहिकमा प्रकाशित पछिल्ला पचास लेखहरू केलाउँदा पचासवटै पुरुष लेखकले लेखेका लेखहरू भेटियो । पचास वटा लेखमा महिला लेखक एउटा पनि भेटिएनन् । अर्थात् पुरुष लेखक सय प्रतिशत हुँदा महिला लेखक शून्य प्रतिशत भएको पाइयो । अरू धेरै लेखहरू पहिला छापिएका हेर्दा कतै महिला लेखकहरू पनि भेटिन पनि सक्लान् ।

त्यस्तै, अर्को साप्ताहिक पत्रिका घटना र विचारमा प्रकाशित लेखहरूका लेखक हेर्दा एक सय वटा लेखमध्ये १२ वटा लेखहरू महिला लेखकले लेखेका रहेछन् । यस साप्ताहिकमा ८८ प्रतिशतपुरुष लेखकका लेख र १२ प्रतिशत महिला लेखकका लेख प्रकाशित भएका रहेछन् ।

यस्तै, किसिमले नेपालको पहिलो अंग्रजी दैनिक राइजिङ नेपालमा प्रकाशित लेखहरू केलाउँदा २५ वटा लेखमध्येमा पाँच वटा लेख महिला लेखकले लेखेको पाइयो । यस हिसाबले महिला लेखक बीस प्रतिशत र पुरुष लेखक असी प्रतिशत भएको पाइयो । यो तुलनात्मकरूपमा एउटै प्रकाशन संस्थाको गोरखापत्रको एघार प्रतिशतभन्दा राम्रो परिणाम हो । त्यस्तै, किसिमले हेर्दा केलाउँदा अर्को अँग्रेजी दैनिक काठमाडौं पोस्टमा प्रकाशित १० वटा लेख हेर्दा एउटा महिला लेखकको र नौ वटा पुरुष लेखकका लेख पाइए । यसमा महिला १० प्रतिशत र पुरुष ९० प्रतिशतमा भएको पाइयो ।

लेखको हिसाबले केलाउँदा यति प्रतिशतमा देखिए पनि व्यक्ति लेखक केलाउने हो भने महिला लेखकको उपस्थिति झन् कमजोर देखिन्छ । यसमा महिला लेखकका मात्रै लेख गणना गरेको हो । एउटै महिला लेखकका लेखहरू महिला लेखकको संख्यामा गनिएका छन् । नामसहित महिला लेखक छुट्याएको खण्डमा अखबारी महिला लेखकको संख्या झन् थोरै देखिन्छ ।

समसामायिक विषयमा लेख्ने महिला लेखकहरू किन थौरै भएकारण केलाउनुपर्छ । महिलाको रूचि नभएर हो कि फुर्सद नभएर हो कि क्षमता नभएर हो केलाउनु पर्छ र यो क्षेत्रमा महिला लेखकको उपस्थिति बढाउनुपर्छ । यो क्षेत्र ३३ प्रतिशतको क्षेत्र होइन क्षमता देखाउने क्षेत्र हो । अबको योजना बनाएर महिला लेखकको उपस्थिति अखबारी लेखनमा बढाउनु पर्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया