Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसेयर दलाल र जनताको समृद्धि

सेयर दलाल र जनताको समृद्धि


काठमाडौं ।
पृथ्वीनारायण शाहले नेपाल राज्य एकीकरण गर्ने सोच र समयमा बेलायतमा भूमिगत रेलसेवाको विकास भइसकेको थियो । जतिबेला हामी अर्धजंगली थियौँ त्यतिबेला युरोप अमेरिकाले अभुतपूर्व विकासको छलाङ मारिसकेका थिए । विकसित देशहरूले चन्द्रमा यात्रा गरिसक्दा हामी सतीप्रथा कसरी अन्त्य गर्ने भन्ने सामाज सुधारको चिन्तनमा थियौं । तत्कालीन युवराज वीरेन्द्रले लन्डनको ख्यातिप्राप्त इटन कलेज पढ्दा उनले त्यहाँको आधुनिक विकास र प्रगति पनि पढेका भए त्यहाँको सिकाइ र अनुभूतिले त्यो बेलाको नेपाललाई कसरी विकास गर्न सकिन्थ्यो होला अहिले अनुमान लगाउन मात्रै सक्छौँ हामी । महेन्द्रले अन्तर्राष्ट्रिय जगत खासै देखेका थिएनन् तर महेन्द्रको समयमा जति नेपालको विकास आजसम्म पनि भएको छैन ।

महेन्द्रकै जति बुद्धि महेन्द्रका छोराहरूमा भएको भए नेपालको समृद्धि एसियाली मापदण्डमा पुग्थ्यो । वीरेन्द्रले शान्ति क्षेत्र घोषणाबाहेक अरु गणना गर्न लायकको खासै काम गर्न सकेनन् । महेन्द्रका छोरानातिहरू रक्सी र महिलामा रमाए फलस्वरूप राजसंस्थाको पतन भयो । राजाको कार्यकालमा एउटा बोलीले ठूलो महत्व राख्थ्यो । राजाको सवारी हुँदा सवारी हुन् लागेको स्थानमा रातारात विकास हुन्थ्यो । त्यतिबेला जनताको सुख र चाहमा विकास हुने होइन कि राजाहरूको सुविधाका लागि विकास हुन्थ्यो ।

राजा वीरेन्द्र नारायणहिटी दरबारबाट नागर्जुन दरबारतर्फ सिकार खेल्न जान लाग्दा बालाजु बाइसधारा बाइपास नजिक एउटा जनताको गाडीले उनको सवारीलाई अवरोध पु-याएको कारण बाइपासदेखि सिधै चक्रपथसम्म जोडिने अर्को लिंक रोड रातारात तयार भएको थियो । त्यो बाटो राजाको सवारीका लागि भनेर तयार भयो । तर पछि जनताले पनि उपयोग गरे । राजाहरूको मुखमा नै कानुन थियो । त्यतिबेला गर्न चाहेको भए नेपाल विकास र सम्पन्नताको दृष्टिले धेरै भन्दा धेरै अगाडि बढ्न सक्थ्यो ।

हुकुम नै कानुन भएको बेलामा महाराजहरू सुरा र सुन्दरीमै मोहित भएर बसे उनीहरूले भविष्य देखेनन् । हो राजा महेन्द्रले पचास वर्षअगाडिको विकास देखे र नेपाललाई विकासको आधुनिकतामा पु-याए । नेपालका राजाहरूमा पृथ्वीनारायण र महेन्द्र मात्रै नेपालको राष्ट्रिय विभूति बन्न लाएक छन् । अरु सबै गन्तीमा मात्रै परेका हुन् । आज केपी ओलीले रेलको सपना देख्दा हिजो राजा महेन्द्रले त्यसलाई सपनामा परिणत गरिसकेका थिए ।

वीरगञ्ज, रक्सौल, अमलेखगञ्ज, जयनगर, जनकपुर आदि भूमिमा रेलका लिकहरूको कन्काल मात्रै छ अहिले । इतिहास बनाउनतर्फ होइन इतिहास मेट्नतर्फ लाग्यौँ हामी । फलस्वरूप बिक्री गरेर खाइए धेरै उद्योग कारखाना । त्यो बेलाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र कुटनीतिक रणनीति अहिलेको जस्तो कमजोर थिएन ।

अन्तर्राष्ट्रिय जगतमा नेपाल हिन्दु राज्य र सार्वभौम राष्ट्रका रूपमा ख्यातिप्राप्त थियो, पुजित थियो विश्वका आँखामा । हामीभन्दा गरिब भोका सार्क राष्ट्रका देशहरूले अहिले अभूतपूर्व विकास गरे हामी अझैसम्म गरिबीको रेखामुनि छौँ । भुटान आज जीडीपीमा कहाँ पुगिसक्यो हामी जस्ताको तस्तै छौँ । राजनीतिले देश सपार्ने होइन विगार्नतर्फ उद्यत भयौँ हामी । यो नै सबैभन्दा दुःखद र दुर्भाग्यपूर्ण पक्ष हो ।
नेपाल विकासमा पछाडि पर्नुको मुख्य कारण पदमा पुगेका व्यक्तिमा शक्तिको दम्भ, पदीय लोलुपता र उन्माद अनि षड्यन्त्र हो । भिमसेन थापादेखि केपी ओलीसम्मको युगलाई अध्ययन गर्दा नेपालको राजनीतिक इतिहास केवल षड्यन्त्र र शक्ति दुरूपयोगले भरिएको छ ।

प्रधानमन्त्रीलाई सांसद विघटन गर्ने पूर्ण अधिकार छ कि छैन ? र कस्तो अवस्थामा प्रधानमन्त्रीलाई त्यो अधिकार संविधानले प्रदान गर्छ यसको बारेमा स्पष्ट व्याख्या संविधानले कुनै पनि धारामा भन्न सकेको छैन । संविधानले त अंकगणितजस्तो सूत्रबद्ध र एउटा मात्रै व्याख्या बोल्नुपर्ने होइन र ? तर नेपालको संविधानमा घुमाउरो पारामा व्यक्त गरिएको छ प्रधानमन्त्रीको अधिकारको बारेमा र विघटनका बारेमा ।

संविधानले विघटनका बारेमा स्पष्ट नभनेपछि सबैले आ–आफ्नै पारामा तर्क र व्याख्या गर्न थाले । पार्टीका नेताले, कार्यकर्ताले, बुद्धिजीवीले, न्यायिक क्षेत्रका मान्छेले, नागरिक समाजले व्यक्तिले व्यक्त गरिरहेका भावनाहरू तर्कसङ्गत पनि छन् पनि छैनन् पनि । अहिले विकासका मुद्दाहरू व्यापक थाती परिरहेको छ भने राजनीतिक मुद्दाले देश तताएको छ । दिनहुँ सडकमा बेरोजगार मान्छे गाइजात्रा देखाइरहेका छन् ।
एउटै पार्टीभित्रका एकै उद्देश्य राखेका नेता कार्यकर्ताका एक आपसका गालीगलौज सुनिनसक्नु छ ।

पदको स्वार्थ, व्यक्तिगत इगो, शक्तिको दुरूपयोग, विदेशी इसाराको गुलामी र अहंकारको विस्फोटभन्दा अरु केही तुक छैन दुवै पक्षको सडक नाटकमा । यो नौटङ्कीभन्दा अरु केही होइन । जनता पशु बनेर सडकमा भौतारिरहेका छन् । केपी ओली पक्ष र प्रचण्ड माधव पक्षको धुन्दुली बजिरहेको छ । सडक घन्टौँ जाम हुन्छ । गरेर खानेहरू समेत अलमलिएको अवस्था छ । सडक बन्दले गर्दा ठेलागाडा चलाउनेदेखि श्रम बेचेर खानेहरूका पसल बन्द छन् । नेतालाई कुकुरको गाली दिनेहरू अब थाकिसके । नेपाली जनतामा चेतना आएको रेछ भन्नेहरू एकातिर छन् । तर म भन्छु यो चेतना होइन यो त पागलपन हो ।

हिजो परिवर्तनका लागि जनगीत गाउनेहरू आज सत्ताको भजन गाइरहेछन् । हिजो निर्दललाई निर्दयीहरूको शासन सत्ता भनेर रगत छाद्ने गरी भाषण गर्नेहरू आज गणतन्त्रमा भँुडी पड्किने गरी अघाइरहेछन् । हिजोको विरोध त आज धनी हुन् पो रहेछ । हिजोको असन्तुष्टि त आज करोडको गाडी चढ्न र आफन्तलाई जागीर र ठेक्का दिन पो रैछ । हिजोको रुवावासी त आज यिनै भोट दिने जनतालाई धेरै कर लगाउन पो रैछ ।

हिजो त कमसेकम ठेलागाडा धकेलेर परिवार पाल्ने हर्कजीतहरू आनन्दले त निदाउथे । आज फेरि तिनैलाई छ परिवारको चिन्ता छ । तिनैलाई छ देशको पनि चिन्ता । यहाँ पेटभर भात खान नपाउनेलाई छ देशको चिन्ता । भुँडी पड्काउने त राष्ट्रवादको अभिनय मात्रै गर्छन् । परिवर्तन कसको लागि हो ? हिजो नाङ्ले पसल थाप्ने फूलमाता तामाङले बच्चालाई भरपेट खुवाएर सरकारी स्कुलमा त पढाउँथिन् आज तिनै फूलमायालाले थापेको नाङ्ले पसलहरू पनि शक्तिका लागि सडक बन्द गर्नेले ओगटेको अवस्था छ । मानिसहरू किन सडकमा नौटङ्की देखाइरहेछन् काम गर्न छोडेर ।

अर्बौं कमाउनेले राज्यलाई कर तिरेका छैनन् । न्यायाधीश तिनै कर छल्नेलाई कर नतिर भन्छ उसकै पक्षमा मुद्दा फैसला गर्छ । कर छल्ने काला व्यापारीको पक्षमा मुद्दा फैसला हुँदा सरकार मौन बसिदिन्छ । झन् यो देशमा कर छल्ने कर्तुतहरूको मनोबल उच्च रहन्छ । नक्कली भ्याटबिल बनाएर राज्य छल्नेहरूले दोहोर सुविधा लिइरहेका छन् । को दुःखी ? को गरिब ? को अपराधी ? को काला व्यापारी यहाँ कुनै मतलब छैन । जसले पार्टीलाई अकुत पैसा बुझायो उसले फेरि तिनै निर्दोष जनता मार्ने हुन् । अन्ततः ठगिने र मारिने निर्दोष जनता मात्रै हुन् ।

हरेक दिन सेयरमूल्य बढेकोमा मलाई केही प्रभाव पार्दैन किनकि मसँग सेयर छैन । सिधै भन्नुपर्दा मसँग सेयर किन्ने पैसा छैन । सर्वहाराहरू सर्वोच्च पदमा पुग्नैका लागि यदि राजनीति गर्छन् भने ती सर्वहारा होइनन् ती कर्महारा हुन् धर्महारा हुन् । तिनले कहिले जनताको गीत गाएनन् र गाउँदैनन् पनि । मलाई सेयरमूल्यमा गिरावट आउँदा दुःख पनि लाग्दैन र मूल्य बढ्दा खुसी पनि लाग्दैन । सेयर कारोबार कस्ता मनुष्यले गर्छन् भनेर मलाई राम्रोसँग थाहा छ । सेयरमूल्य भनेको आधुनिक भौतिकवादी सहरीया नवधनाड्यहरूले कमाएको धनलाई वैधानिक बनाउने खेल मात्रै हो ।

अफिसको काम छोडेर पलपल मोबाइलमा सेयरको भाउ हेरेर बस्ने कर्मचारी देख्दा धिक्कार्न मन लाग्छ मलाई । त्यस्ता लठैतहरू जागीर छोडेर किन पूरै सेयर कारोबारमा लाग्दैनन् ? तिनको सेयर घट्दा यता अफिसमा पो साइसाइसुइसुइ । रुवावासी छ कहिले । कहिले उफ्राइ छ बुर्लुक्क बुर्लुक्क । भाउ बढेको दिन अफिस नै खाली पारेर चिया खाने लैजाने कर्मचारीलाई । भाउ घट्यो भने दुई/चार दिन अफिस नै नआउने । अहिले हरेक सरकारी र सस्थानका कार्यलयमा यो प्रवृत्ति हाबी भएको छ । अफिसको नुनदेखि घुनसम्म, घुसदेखि भुससम्म चपाउने तर नुनको इज्जत कहिले नगर्ने तिनै बज्रस्वाठहरूले बिगार्छन् इमानदारिताको माहोल कार्यलयमा । घरबाट सिँगान पुछ्न नसकेर छोराले फोन गर्दा अर्थ मन्त्रालयबाट फोन आयो भनेर हाकिमलाई तर्साउँदै अफिसबाट भाग्ने प्रवृत्ति आजसम्म पनि उस्तै छ । गणतन्त्र त्यस्तै मान्छेलाई आएको छ ।

निर्दलमा यिनै हाटा गरेर खान्थे आज गणतन्त्रमा पनि यिनैले हाटा गरेर खाइरहेका छन् । आज यस्तै मनुवाहरू हरेक अफिसका भाइरस हुन् । त्यस्ता भाइरसहरू नेपाललाई समृद्धितिर उक्लन नदिने रोग हुन् । ती आफूचैँ सप्पन्न छन् तर राष्ट्रलाई चाहिँ गरिब बनाउँछन् खोक्रो बनाउँछन् । तिनले कहिले बुझेनन् कि नेपाल धनी भयो भने म पनि धनी हुन्छु भन्ने कुरा । फेरि तिनै लम्पटहरू राष्ट्रवादका कुरा गर्छन् । आफू केही नगर्ने । अरुले गरेको काममा वितृस्णा जनाउने । आफ्नो आङमा भैंसी नदेख्ने आर्काको चैँ धोतीको जुम्रा केलाउने यिनै सिल्ली सिल्पटहरूको आधिपत्य छ हाम्रोमा अझैसम्म । अनि यो परिवेशमा मुलुकको समृद्धिको कुरा गर्नु केवल कल्पना मात्रै हुने रहेछ ।

एकातिर जागीरेको पगरी त्यसमाथि पनि अफिसर, अर्कोतिर भ्रष्टाचार गरेर कमाएको धन सेयरमा लगानी । कार्यालय आयो । हाजिर ग-यो । एक/दुई साथीलाई च्याप्यो । तिनीहरूलाई चिया खाजा ख्वायो । आफ्नो बनायो । एक/दुई छाक खाजा खाएसी ती खन्चुवाहरू पनि उसैको वरिपरि रिंगन थाल्छन् । सरकारमा भएका एक/दुई जना मन्त्री र समानुपातिकमा, आरक्षणमा त मेरा आफन्त हुन् नि भन्ने भ्रम फैलायो । तिनै आरक्षणमा परेका माननीय सांसदको नाम भजेर बेचेर कार्यलयका सोझा कर्मचारीलाई प्रयोग ग-यो । नेपालमा लोकतन्त्र आउनु पहिले पनि फटाहाहरूको हालीमुहाली थियो र अहिले पनि तिनै फतुर फटाहाहरूकै हालीमुहाली छ । परिवर्तन चाहनेले परिवर्तनको कहिले महसुस गर्न सकेका छैनन् यो देशमा । जो अघाएका छन् खानेकुरा तिनैको अगाडि गएर थुप्रिन्छ यो कस्तो विडम्बना !

परिवर्तन तिनैलाई मात्रै आएको छ जो यो देशमा परिवर्तन कहिल्यै चाहँदैनथे ! रोल्पेलीको आँगनमा खुशी छाडिएका छैन । जुम्लेलीको आँखामा उस्तै छ भोकको आँसु र निराशाको शोकगीत उही पाराले बजिरहेको छ । पाँचथर हाङपाङ हायुको व्यथा उस्तै छ । ऋण गरेर मात्र चाड मनाउन पाउँछन् तिनले । कोही नेपाली भोकले र रोगले मर्दैनन् भनेर भन्ने नारामा त ठीकै होला तर व्यवस्थापन र व्यवहार त्यस्तो छैन ।

केही कमाउन लाहुरे नै हुनुपर्ने । दरवानी नै हुनुपर्ने अवस्था आज पनि उस्तै छ । हिजो पञ्चायत कालमा इन्डियन आर्मीमा भर्ती हुन भनेर नेपाली युवाहरूलाई गल्लुवालले चक्रपथमा रगत छादुन्जेल उफ्राएको दौडाएको यही आँखाले देखेको हो र आज पनि त्यही दृश्य देखिरहन्छु । हिजो बृटिस आर्मीमा भर्ती हुन तँछाडमछाड थियो आज त झन् लाहुरेको महत्व बढेर गएको छ । हाम्रो देशमा परिवर्तन आएको भए किन लाहुरेहरूको इज्जत यति धेरै दिनदिनै बढेर जान्थ्यो होला र ? लाहुरेमा भर्ती हुने प्रथा कायम नै छ । फरक त्यति हो कि पहिला गाउँलेको परियार दाइले काँधमा कल बोकेर आफूले कमाएका विष्टहरूको घर–घरमा गएर लुगा सिउँथे आज आफ्नै घरमा टेलर खोलेका छन् । हिजो लुगा सिउने आज पनि त्यही लुगा सिउँदै छन् ।

पेसा परिवर्तन भएको छैन मात्रै काम गर्ने शैली र ढंग परिवर्तन भएको छ । साना व्यावसाय गर्नेको बरु विचार परिवर्तन भए तर ठूलो नेता भन्नेहरूको दिमाग पुरातन ढंगमै चलिरहेको छ आजसम्म पनि । लोकतन्त्रको दियो सधैँ बलिरहोस् । लोकतान्त्रिक शासन व्यावस्थाको अरु कुनै दोस्रो विकल्प छैन र नहोस् पनि । हामीले चाहेको हामीले रोजेको शासन पद्धति यही हो । तर जनता खुसी रहे मात्रै हो कुनै पनि शासन व्यावस्थाले स्थायित्व पाउने । जनताको खुसीमा नै निर्भर छ सरकारको आयु र शासन व्यवस्थाको भविष्य । जनताका लागि सरकार नै अभिवावक हो ।

सरकार नै दुःख विसाउने स्थान हो । सरकारसँगै हो जनताले असन्तुष्टि पोख्ने पनि तर असन्तुष्टि पोख्यो भनेर उसलाई थुन्ने धम्क्याउने हतकडी लगाउने हिँड्न, डुल्न र उसको आवाज समेतलाई बन्देज लगाउने काम लोकतान्त्रिक सरकारले गरेको सुहाउँदैन । हिजो लोकतान्त्रिक पक्षधरलाई मारेको थियो निर्दयी पञ्चायत शासन व्यावस्थाले फेरि त्यही सिको आजको सरकारले पनि गरिरहेछ । राजा हुन मन लागेर हो अठार हजार नेपाली मारेर सत्तामा पुगेको कम्युनिस्ट सरकार ? यदि हो भने लोकतन्त्रको लागि लडाइँ लडेर राष्ट्रका लागि साहादात प्राप्त गर्नेहरूका अमर आत्माले अवस्य सराप्नेछ ।

सबैसँग सबैको बिचार मिल्दैन । मिल्नुपर्छ भन्ने जरुरी पनि छैन । विचार आ–आफ्नै हुन्छन् । सोच भिन्न हुनुपर्छ । भिन्न सोच र चिन्तनको उपज नै हो आजको विकसित एक्काइसौं सताब्दीको सघन यो रूप । एकै सोचको ऐजेरुमा फुल्ने फूलहरू राम्ररी फक्रँदैनन् । सोच जसले जस्तो राखे पनि देशको समृद्धिका लागि सबै नेपाली एक हुनुको विकल्प छैन अब । लोकतान्त्रिक विचारधाराभन्दा अर्को धारणा राख्नेलाई पनि सम्मान दिन सक्नु वा सम्मान गर्नु त्यो चैं सबैभन्दा विकसित लोकतन्त्रको रूप हो ।

एउटा कुरा हामीले हेक्का राख्नु जरुरी छ कि सबै समान कोही कहिले हुन्नन् । कुनै पनि युगमा अपार समानताको परिव्याख्या हुन सकेको छैन । पाँच हजार वर्षअगाडि धर्मको नास भयो भनेर अवतार लिने श्रीकृष्ण युगमा पनि सबै प्राणीमा समभाव थिएन । कृष्णले समानताको राज्य सस्थापना गर्नकै लागि महाभारत युद्ध रचना गरे । हिजो रामराज्यमा पनि समानताको कुरा छेउ लागेकै हो । लोक के चाहन्छ भन्ने कुरालाई गौण मानियो र शासकहरू आफ्नो इच्छाअनुसार चल्न थाले भने तिनले आफ्नो इतिहास बिगार्छन् ।

तिनै राम हुन् जसले आफ्नो भक्त सबरीको जुठो बयर पनि खाए अनि तिनै राम हुन् आफ्नै सीताको सतित्वमा शंका लागेर श्रीमतीलाई आगोमा होमिन पनि बाध्य बनाए । यो लोकको लाज राखिदिनाका लागि थियो । त्यसैले हामीले इतिहासदेखि नै भन्दै आयौ कि लोक सम्मतिको आधार नै प्रजातन्त्रको मुटु हो । संविधान मात्रै त केवल कोरा दस्ताबेज हो जतिबेला जनता दुःखी हुन्छन् ।

जनता सुखी र खुशी हुने संविधानका अनेक धारा र उपधाराले होइन । जनता खुसी हुने आधार त सरकारले प्रत्याभूत गरेको जनप्रिय कामले हो । जबसम्म सरकारले जनप्रिय काम गरिरहन्छ तबसम्म लोकतान्त्रीकरणको नुतन धाराहरू अवलम्बन भइरहन्छ । समाजमा सम्मानित भएर बाँच्न चाहन्छ हरेक मान्छे । त्यो सम्मान सहरमा सेयरमूल्य बढेर होइन जुम्लेली, हुम्लेलीले भरपेट भात खान पाउँदामा मिल्छ सरकारलाई पनि ।

अर्थमन्त्रीले सेयरमूल्य बढोस् भनेर भन्दा हुम्लाको गरिब टोपीको घेरा फाटेको हुम्लेलीलाई के फाइदा छ र ? सहरमा मात्र सम्पन्नताको दियो बालेर लोकतन्त्रको स्थायित्व सम्भावना छैन । भूमिहीन कृषकसम्म राज्यको आँखा पुगेको खण्डमा लोकतन्त्रको दियो सदाझैँ बलिरहनेछ । सेयर दलालको पुँजी वृद्धि र पुँजी डुबानको चिन्तामा होइन गरिब गाउँलेका घर जहान र परिवारको चिन्तामा जब राज्य पनि सँगै चिन्तत हुन्छ अनि सतीले सरापेको यो देशमा पनि सत्य युग आउँछ कि ?


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया