Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगदलीय गठबन्धन लोकतन्त्रको उपहास

दलीय गठबन्धन लोकतन्त्रको उपहास


काठमाडौं । विश्व लोकतान्त्रिक पद्धतिको संस्कृति भनेको निश्चितरूपमा प्रतिस्पर्धी व्यवहारको विकास नै हो । जसमा नेपाल पनि पृथक रहन सक्दैन । उक्त लोकतान्त्रिक मूल्य मान्यताअनुरूपको व्यवहारलाई आत्मसात् गर्ने क्रममा मुलुकले विभिन्न चरणका राजनीतिक उतारचढावलाई पार गर्दै आधुनिक लोकतान्त्रिक विशेषताले भरिपूर्ण रहेको गणतान्त्रिक शासकीय स्वरूपलाई अपनाउँदै आएको वर्तमान अवस्था हो । जसमा निर्वाचनजन्य क्रियाकलापलाई निकै नै महत्वका साथ हेरिएको हुन्छ । किनकि सम्प्रभू नागरिक समूहको जिम्मेवार जनप्रतिनिधिहरू चयन गर्ने उपयुक्त अवसरको रूपमा पनि यसलाई लिने गरिन्छ । विपरीत अवस्था तयार गरी लोकतान्त्रिक शासकीय अभ्यासको नाममा सिद्धान्तहीन दलीय गठबन्धनको गठजोड गराउने प्रवृत्तिको विकासले यथार्थपरक लोकतन्त्रको अनुभूतिमा समेत अवरोध खडा गरी ठोस लोकतान्त्रिक राजनीतिक उपलब्धि हासिल गर्न नसक्ने राजनीतिक विश्लेषकहरूको बुझाइमा रहेको पाइन्छ ।

जसले लोकतन्त्रप्रेमी नागरिक समाजलाई दिग्भ्रमित तुल्याउने अवस्था तयार पार्नेछ । किनभने लोकतन्त्रमा दलीय विश्वास रहेकै कारण सम्बद्ध समूहलाई नागरिक समाजले आफ्नो विवेकी मत प्रदान गर्ने संस्कृतिको विकासमा गठबन्धनको अत्यधिकताले द्विविधा उत्पन्न गराएकै कारण लोकतान्त्रिक आस्थामाथि समेत आघात पुग्न गएको भान प्रतित हुँदै आएको देखिन्छ । प्रस्तुत अवस्था तयार हुनुमा राजनीतिक समूहमा रहेको गैरलोकतान्त्रिक आचरणको विकासबाट भयभित रहँदै नागरिक समाजबाट तिरस्कृत हुनसक्ने सम्भावनाका कारण अन्य नागरिक विश्वासी समूहसँग हातेमालो गर्दै लोपउन्मुख राजनीतिक अस्तित्व रक्षाको खातिर चालिएको कूटनीतिक खेलको रूपमा यसलाई परिभाषित गर्दा त्यति फरक नपर्ला ।

जसमा केही हदसम्म राजनीतिक स्वार्थ पनि लुकेको हुनसक्ने हुँदा अन्य जनविश्वास कायमी लोकतान्त्रिक समूहले चनाखो रहनुपर्ने हुन्छ । अन्यथा जनविश्वासी रहँदारहँदै पनि राजनीतिक अस्तित्व लोपको खतरा बढ्न सक्ने अवस्था तयार नहोला भन्न सकिँदैन । जसको ऋणात्मक प्रभाव स्वरूप निर्वाचन परिणाममा समेत गतिरोध उत्पन्न हुने देखिन्छ । राजनीतिक दक्षताको मूल्यांकन जनपारितोषिकमा आधारित रहने हुँँदा यस अवस्थामा गठबन्धनको भूमिका भने न्यून रहन जाने तथ्यलाई कुनै पनि हालतमा इन्कार गर्न भने मिल्दैन ।

यथार्थमा राजनीतिक प्रतिस्पर्धाभन्दा गठबन्धनजन्य प्रवृत्तिमा विश्वास रहने वातावरणको विकास भए आगामी दिनमा निर्दलीयता हाबी हुनसक्ने हुँदा प्राप्त राजनीतिक उपलब्धिप्रति नै गम्भीर प्रश्न लाग्ने देखिन्छ । मिलोमतोमा गरीने भागबण्डाले लोकतन्त्रको आधारभूत मूल्यमान्यतालाई लत्याउँदै अन्ततः निरंकुशतालाई नै प्रोत्साहित गर्ने राजनीतिक दर्शनको मुलभूत मान्यतालाई आत्मासाक्षी राखी मन, वचन र कर्मले व्यवहारमा उतार्नु जरुरी भइसकेको छ ।

अन्यथा निरंकुशताको जन्म गराउन गठबन्धनजन्य व्यवहार नै पक्षपोषक तत्वको रूपमा रहन सक्ने देखिन्छ । किनकी मुलुकको गणताान्त्रिक संविधानले स्वतन्त्र प्रतिस्पर्धात्मक राजनीतिक व्यवहारलाई आत्मसात् गर्दै प्रतिस्पर्धाबाट निस्कने निकासले मात्रै लोकतन्त्रको प्रवद्र्धन, संवर्द्धन र विकासको मार्गचित्रलाई अगाडि बढाउनेछ भन्ने मान्यतामा विश्वास राख्दै आएको पाइन्छ । कुनै पनि स्वरूपको गठबन्धनजन्य व्यहारलाई लोकतन्त्रमा विश्वास राख्ने समूहले सहजरूपमा लिन सक्दैनन् । यद्यपि राजनीतिक आस्थाविपरीतका समूहलाई गठबन्धनका नाममा मत प्रदान गर्न सम्प्रभू नेपाली नागरिक समूहलाई बाध्यात्मक परिस्थितिको निर्माण गराउनु पक्कै सान्दर्भिक व्यवहार मान्न सकिँदैन ।

जुन लोकतन्त्रको लागि धेरैहदसम्म प्रत्योत्पादक साबित हुनसक्ने देखिन्छ । जसका कारण बाध्य भई संवैधानिक प्रावधानमा पनि गठबन्धन भन्ने शाब्दिकता उल्लेख गर्नुपर्ने त होइन भन्ने नागरिक भनाइ रहनआएको खण्डमा प्रतिस्पर्धात्मक व्यवहारमाथि चुनौती खडा हुनेछ भन्दा फरक नपर्ला । लोकतन्त्रको आन्तरिक माग तथा सैद्धान्तिक वैधानिकताको लागि समेत प्रतिस्पर्धात्मक मूल्य मान्यतालाई सम्बद्ध मुलुकका राजनीतिक समूहले मनन गर्दै सोहीअनुरूपको कार्यदिशालाई व्यवहारमा उतार्नु समयको माग हो ।

सत्तालोलुपताको लागि सिद्धान्तविहीनताहरूको संगठनात्मक कार्यको विकासले राजनीतिक आर्दशलाई बेमेलको खाडलमा पार्नेबाहेक अन्य कुनै राजनीतिक दर्शन प्राप्त हुने छ्रैन । परिणामतः दीर्घकालीन राजनीतिक यात्रामा समेत विश्वासको संकट उत्पन्न गराई पार्टीभित्र नै विभिन्न प्रकारको गुट–उपगुटको जन्म भई आन्तरिक राजनीतिक द्वन्द्वलाई प्रोत्साहित गर्दै अवसानउन्मुख राजनीतिले प्रश्रय पाउने सम्भावनालाई अन्यथा लिन मिल्दैन । यसप्रकारको व्यवहारलाई केही हद लोकतन्त्रविरोधी व्यवहारको संज्ञा दिँदा फरक नपर्ला । सिद्धान्तविहीनतालाई मान्यता प्रदान गर्दै राजनीति गर्ने तत्वको कारण लोकतन्त्र समेत संकटमा पर्नगई अधिनायकवादी तत्वहरूको ऋणात्मक मनोबल बढ्न जाने देखिन्छ । तसर्थः सम्बद्ध समूहले मुलुक एवं जनताको लागि अत्यन्त संयमताका साथ आफ्नो राजनीतिक दर्शनलाई हुबहु आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने अवस्था तयार भइसकेको छ ।

लोकतान्त्रिक शासकीय व्यवहारले प्रतिस्पर्धी प्रतिपक्षको व्यवहारलाई सहर्ष राजनीतिमा अनुबन्धन रहनसक्ने वातावरणको विकास गर्छ भने, अधिनायकवादी चारित्रिक विशेषता अँगाल्ने समूहमा वर्चस्व कायम रहने वा नरहने भन्ने भयका कारण विभिन्न प्रकारका असान्दर्भिक राजनीतिक हतकण्डालाई अपनाउने सम्भावना रहन्छ । जसमध्ये एक गठबन्धनिय संस्कृतिको विकास पनि हो भन्दा फरक नपर्ला ।

सम्बद्ध क्षेत्रमा हुनेगरेको असान्दर्भिक तथा अनावश्यक तालमेलको विकासले अन्त्यहीन राजनीतिक गन्तव्यको दिशाबोध मात्र गराउनेछ । जुन मुलुक र लोकतन्त्रमा विश्वासी नागरिक भावनाको प्रतिकूल रहन्छ । किनभने कुनै एक राजनीतिक पृष्ठभूमिप्रति आबद्ध रहेका लोकतन्त्रप्रति आस्थावान् तथा न्यायप्रेमी नाागरिक समुदायको अन्तरमनले आफ्नो सैद्धान्तिक पृष्ठभूमिविपरित अन्य कुनै राजनीतिक समूहको अभिष्ट पूरा गर्ने हेतु सहजरूपमा सिद्धान्तविहीनतालाई आत्मसात् गर्दै अमूल्य मत प्रदान गर्छन् वा गर्दैनन् भन्ने प्रश्नको निर्कोल गर्न निकै नै कठिन हुने देखिन्छ ।

जसलाई लोकतन्त्रप्रतिको नागरिक समाजको जवाफदेहिता हो भन्ने बुझ्नु जरुरी छ । गठबन्धनको नाममा निर्विरोधताको छनक दिन खोज्नु आफैँमा लज्जाको विषय हो । लोकतन्त्र भनेकै जनमतको विश्वास लिएर प्रतिस्पर्धालाई सहर्ष आत्मसात् गर्दै विजय वा पराजयको माला पहिरन गर्न तत्पर रहनु हो भन्ने तथ्यलाई हामी लोकतन्त्र प्रति समर्पित सम्पूर्णजनले हृदयदेखि नै स्वीकार गर्दै व्यवहारमा उत्तार्नु आजको आवश्यकता हो । जसको विकासको लागि सम्बद्ध समूहले मार्गदर्शन प्रदान गर्नु सच्चा अर्थमा लोकतन्त्रप्रति समर्पित रहनु हो भन्न सकिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x