Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसुस्वास्थ्यका लागि लोक स्वास्थ्य परम्परा

सुस्वास्थ्यका लागि लोक स्वास्थ्य परम्परा


काठमाडौं । नेपालको वर्तमान संविधानले स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा अङ्गीकार गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गरेको छ । तर, उक्त अधिकारको उपयुक्त परिपाटीबाट कार्यान्वयन गर्न नसक्दा यहाँको कुल जनसंख्याको ठूलो अंश अझसम्म पनि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन् ।

हाल यहाँको सरदर नेपालीहरुको स्वास्थ्यमा केही सुधार भएको छ । तसर्थ उनीहरुको सरदर आयु केही बढेको छ भने मृत्युदर केही घटेको छ । उदाहरणको लागि विसं २०४८ मा नेपालीहरुको औसत आयु ५४ वर्ष (महिलाको ५३ वर्ष र पुरुषको ५५ वर्ष) थियो भने विसं २०६८ मा उनीहरुको औसत आयु बढेर ६७ वर्ष (महिलाको ६८ वर्ष र पुरुषको ६६ वर्ष) भयो ।

वस्तुतः विश्वभरि नै महिलाहरुको औसत आयु पुरुषहरुको भन्दा कम छ । तर, यहाँ भने यसको ठीक विपरीत अर्थात् महिलाहरुको औसत आयु पुरुषहरुको भन्दा दुई वर्ष बढी छ । जसलाई अचम्म मान्न सकिन्छ । केही वर्षयता नेपालका स्वास्थ्य सूचकांकहरुमा केही सुधार देखिए पनि यो देश अन्य दक्षिण एसियाली मुलुकहरुको तुलनामा भने तल्लो स्थानमा छ । योबाहेक यहाँका स्वास्थ्य सेवामा असमानता छ ।

उदाहरणका लागि यहाँका गरिब, सीमान्तकृत समुदाय र दुर्गम क्षेत्रका जनता आधारभूत स्वास्थ्य सेवाहरुबाट वञ्चित छन् । यहाँका पाँच वर्षमुनिका ब्राह्मण तथा क्षेत्री बालबालिकाहरुको मृत्युदर (प्रतिहजार जीवित जन्ममा ३१ छ भने दलित बालबालिकाहरुको ४१) छ ।

सबैभन्दा धनी समूहका बालबालिकाहरुको मृत्युदर (प्रतिहजार जीवित जन्ममा २२ छ भने गरिब समूहका बालबालिकाहरुको यसको दोब्बर अर्थात् ४४ छ ।) यसैगरी बाग्मती प्रदेशमा पाँच वर्षमुनिका बालबालिकाहरुको मृत्युदर प्रतिहजार जीवित जन्ममा २३६ भने कर्णाली प्रदेशमा ५३ छ ।

यस्तो विभेद कम गरी प्रत्येक व्यक्तिको स्वास्थ्यमा केही सुधार ल्याउन लोक परम्परागत चिकित्सा पद्धतिले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

नेपालमा सुस्वास्थ्यको लागि खासगरी ग्रामीण क्षेत्रमा लोक स्वास्थ्य परम्पराले जरा गाडेको छ । यहाँ चिकित्सा विधामा औपचारिक शिक्षा नलिएको तर आफ्ना बाउबाजेका पालादेखि नै परम्परागत स्वास्थ्योपचारमा संलग्न लोक स्वास्थ्यकर्मीहरुको संख्या कम छैन । यिनीहरुले गाउँघरमा स्वास्थ्य स्वयंसेवकहरुको रुपमा सेवा प्रदान गर्दै आएका छन् । यिनीहरु स्वास्थ्य सेवा पुग्न नसकेको ठाउँमा विश्वासको पात्र बनेका छन् ।

वस्तुतः आजको वैज्ञानिक युगमा धेरैजसो देशमा झारफुकको कुनै उपादेयता देखिँदैन । यसलाई सहरी क्षेत्रमा अन्धविश्वास भने पनि गाउँघरमा भने आजसम्म पनि प्रचलनमा छ । केही अध्ययनहरुले कुनै पनि व्यक्तिको मनोसामाजिक स्वास्थ्यमा यस्तो उपचार विधिको महत्व हुनसक्ने देखाएका छन् ।

लोक स्वास्थ्यकर्मीहरुले उपचारको लागि खास गरी स्थानीय जडीबुटीहरु प्रयोग गर्छन् । कोरोना महामारीको समयमा यिनीहरुले विभिन्न ठाउँमा विभिन्न किसिमका जडीबुटी प्रयोग गरेका थिए ।

विगतको कोरोना महामारीको समयमा यहाँको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पनि गुर्जो, असुरो, तुलसी र बेसारजस्ता जडीबुटीहरुले रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्न मद्दत गर्ने सूचना प्रकाशित ग-यो । परन्तु, सही सूचनाको अभावमा जथाभावी जडीबुटी सेवन गर्दा फाइदाभन्दा बेफाइदा बढी देखियो । उदाहरणको लागि उक्त महामारीको अवधिमा यहाँका केही व्यक्तिहरुले गुर्जो बढी मात्रामा सेवन गर्नाले बिरामी भएको कुरा प्रकाशमा आएको थियो ।

नेपालको गौरवमय परम्पराको इतिहासमा जडीबुटीहरुको विशेष स्थान छ । त्यसैले यिनीहरुको सेवन गरेर विभिन्न रोगबाट छुट्कारा पाइने कुरामा नेपालीहरु विश्वस्त छन् ।

यथार्थतः नेपालीहरुको आफ्नै पारिवारिक स्वास्थ्य परम्परा छ । उदाहरणका लागि सुत्केरीलाई ज्वानोको झोल, बालबालिकालाई लिटो खुवाउने र वृद्धवृद्धालाई सातु खुवाउने चलन यहाँ विद्यमान छ । कस्तो अवस्थामा कुन जडीबुटी सेवन गर्ने भन्ने कुरामा उनीहरुको आफ्नै बुझाइ छ । जसले गर्दा उनीहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको छ ।

कुनै पनि परिवारको सदस्यलाई स्वास्थ्य राख्न र बिरामी भएको बेलामा घरेलु उपचार गर्न एवं अस्पतालबाट फर्केपछि बिरामीको हेरचाह र स्याहार सुसार गर्न सोही परिवारको महत्वपूर्ण भूमिका हुन्छ । केही साधारण बिमारी त घरेलु उपचारबाट निको हुन्छन् । त्यसैले प्रत्येक परिवारलाई प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी ज्ञान एवं सीप प्रदान गर्नसके समुदायको समग्र स्वास्थ्य स्थितिमा केही योगदान पु-याउन सकिन्छ ।

वर्तमान समयमा नेपालको स्वास्थ्य स्थितिमा केही प्रगति भएको छ । एकातिर यहाँको नागरिकहरुको औसत आयु केही बढेको छ भने अर्कोतिर मृत्युदर घटेको छ । यसैगरी यहाँको गरिबी केही घटेको छ भने सर्वसाधारणको जीवनस्तरमा पनि केही सुधार भएको छ । तर, विश्व परिवेशमा हेर्ने हो भने हामी स्वास्थ्य क्षेत्रमा अझै पनि निकै पछाडि छौँ ।

वस्तुतः स्वास्थ्यलाई स्वास्थ्य बीमामा सीमित गर्ने कुरा संविधानको मर्मविपरीत छ । सरकारको प्रयास संविधानले निर्दिष्ट गरेअनुसार गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्नेतर्फ लक्षित हुनुपर्छ । तर, हालसम्म यस्तो हुन सकेको छैन ।

प्रत्येक व्यक्तिको सुस्वास्थ्यको लागि एकातर्फ यहाँको स्वास्थ्य सेवाको गुणस्तरमा ध्यान दिनु आवश्यक छ भने अर्कोतर्फ पहुँचको सुनिश्चिततातर्फ गुणस्तर अभिवृद्धि गर्ने सन्दर्भमा लोक स्वास्थ्य परम्पराको सुधार गर्नुपर्छ । पहुँचको कुरा गर्दा यहाँका दलित, गरिब, पिछडिएका वर्ग, समुदाय र क्षेत्रलाई विशेष जोड दिनुपर्छ । किनभने यिनीहरु आजसम्म पनि स्वास्थ्य सेवाबाट वञ्चित छन् ।

आजको विश्वमा कुनै पनि व्यक्तिको स्वास्थ्य जीवनका लागि लोक स्वास्थ्य परम्पराको केही सम्भावना देखिन्छ । तर, यहाँ आजसम्म पनि उक्त परम्पराको राम्ररी सदुपयोग गर्न सकिएको छैन ।

कुनै पनि व्यक्तिको सुस्वास्थ्यका लागि जडीबुटीको यथोचित प्रयोगले महत्वपूर्ण भूमिका खेल्छ । यसका लागि विभिन्न किसिमका जडीबुटीहरुको प्रयोगबारे राम्रो ज्ञान हुन आवश्यक छ । तर, यहाँ जडीबुुटीको साक्षरता घट्न थालेको छ । यहाँका धेरैजसो युवालाई कुन जडीबुटी कसरी प्रयोग गर्ने भन्ने कुराको यथोचित ज्ञान छैन । यहाँ लोक स्वास्थ्यकर्मीहरुले उपचारको लागि विभिन्न किसिमका जडीबुटी प्रयोग गर्दै आएका छन् । तर, सरकारको नीतिगत कारण उनीहरु निरुत्साहित भएका छन् । भविष्यमा पनि यस्तो अवस्था रहेमा यहाँ लोक स्वास्थ्य परम्परा हटाउनेछ ।

यहाँ विद्यमान लोक स्वास्थ्य परम्परा जोगाउन सरकारले भविष्यमा नीतिगत सुधार गरी कार्यान्वयन गर्न जरुरी छ । यसो गर्नसकेमा एकातर्फ यहाँको लोक स्वास्थ्य परम्पराको जगेर्ना हुनेछ भने अर्कोतर्फ जनसाधारणको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्नेछ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #page 19

तपाईको प्रतिक्रिया